राजनीतिक दलहरूका अगाडि भर्खरै सम्पन्न निर्वाचनले पाँच वर्षका लागि निकै पेचिलो जनादेश दिएको छ । सिध्याउनेलाई ‘बोक’ र बोक्नु पर्नेलाई ‘रोक’ भन्ने अन्तरविरोधी परिवेशको सिर्जना गरिदिएको छ यसले । यो एक अजीव जनादेश र अकाट्य मतादेश बनेको छ ।
जनताले केही नयाँ गरौं पनि भन्न पनि चाहेको देखिएन । नेताहरू सुध्रिएर आएको पनि देखिएन । जनादेश पनि यसैको अभिव्यक्ति बनेर आयो । फालेर पनि आउने को र आएकाले पनि गर्ने के भन्ने प्रश्नले नेपाली मतदाता अलमलमा परे ।
यही अलमलपूर्ण जनादेशले अहिलेको सरकार गठन पनि अलमलमा पारेको छ । विफल राजनीतिक दलहरूले सरकार गठनको असफल प्रयत्न गरिरहेका छन् ।
पुराना अन्तरविरोध, देखेस् र पखेस्को पूर्वाग्रह, विदेशी शक्तिको चाहना, थोरै तर निर्णायक स्थान लिनेहरूको चर्को मोलमोलाइ, बढी स्थान लिनेहरूको सानालाई हपसदपस गरी साइजमा राख्ने सोच आदिले कुनै कुरा पनि मिल्न दिएको छैन ।
जनादेश मिलिजुली सरकार निर्माणको छ । तर दलीय आकांक्षा ५ वर्षसम्म एकलौटी हालीमुहाली जमाएर दाइँ लगाउन खोज्ने देखिन्छ । बार्गेनिङ गर्ने र माग्नेको ताँती छ । ठूला भन्नेको ‘आफै त महादेव उत्तानो पर, कसलाई दिने वर’ भन्ने अवस्था छ ।
विदेशी शक्तिकेन्द्रको चलखेल जनादेश पाखा लगाउने तहसम्म पुगिसकेको छ । नेता निरीह छन् । जनता मौन र चूपचाप दर्शक बनेका छन् । जनादेश जे दिइयो, त्यो पर्खेर हेर्नुको वकल्प रहेन ।
नेपाली काँग्रेसका लागि गठबन्धन साथै लान सकिने अवस्थामा रहेन । सर्तैसर्त अघि आएपछि त्यो पनि नागवेली खेलमा व्यस्त छ । कम छैनन् स्वदेशी सर्त र विदेशी सर्त !
गठबन्धन अघिल्तिर जाने संभावना कमै छ । ब्रेकले काम गरेन भने पछिल्तिर गुड्नुको विकल्प पनि यथावत् छ । दुविधामा छ, काँग्रेस !
एमाले बोकौं, जनमत त्यसो छैन । माओवादी रोकौं, आफैले काखी च्यापेर ल्याएको ! घरवार एउटासँग माया प्रीति अर्कोसँग, त्यो पनि दीर्घकाल नहोला !
माओवादी पनि उही हालतमा छ । काँग्रेसले गठबन्धन अनुकूल निर्णय गरिदिँदैन । तीन वर्ष काँग्रेस, २ वर्ष माओवादी र एक वर्ष एकीकृत समाजवादीको प्रधानमन्त्री बाँडफाँट काँग्रेसका लागि स्वीकार्य छैन ।
अर्कोतिर, एमाले पनि अलमलको अवस्थामा छ । जनादेश प्रतिपक्षका लागि छ । तर सरकार गठनको बाटो पनि खुल्ला छ । कसको साथ लिने वा कसलाई साथ दिने, अवस्था कठिन छ ।
यस पटक काँग्रेसलाई रोक्न र भत्काउन सकिएन भने अर्को पटक खुइलिने पालो एमालेको हो । त्यसैले सकेसम्म काँग्रेसलाई सरकार बनाउनबाट रोक्नुपर्छ । यसका लागि एमालेले माओवादीलाई बोक्नु पर्छ ।
यस अतिरिक्त उपाय देखिदैन । यता माओवादीले पाँच वर्ष सरकार चलाउन तयार रहेको कुरा सार्वजनिक गरेको छ । परिस्थिति झनै सकस बन्दै गएको छ ।
यस अघि हुने गरेका ‘फ्लोर क्रस’ अबका दिनमा ‘ब्रेक’ र ‘स्प्लिट’ सम्म सहजै जाने अवस्था सिर्जना हुँदै जाने बाटो फराक बन्दै गएको छ । नेपालको राजनीति आस्थाको रङमा नियाल्ने हो भने ‘प्रजातान्त्रिक’ र ‘वामपन्थी’ गरी दुई खेमामा देखिन्छ ।
तर यी दुई खेमाबिच हुनुपर्ने वैचारिक अन्तर नै नभएकाले संसदवादी भन्नेहरू माओवादीसम्म भतेर खान आउने र माओवादी भन्नेहरू संसदवादीहरूसँग सती जाने परम्परा नै बसिसकेको छ ।
यो बेलामा वामपन्थीहरूको झुण्ड लिएर मिलिजुली सरकार निर्माण गरूँ कि त भन्ने एमालेलाई ‘काँग्रेस रोकौं’ कि ‘माओवादी बोकौं’ भन्ने दुविधाले निद हराम गरिदिएको छ ।