• मंसिर १२ २०८१, बुधबार

स्पेनका कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

पुष १ २०७९, शुक्रबार

काठमाडौं । स्पेनका कप्तान सर्जियो बुस्केटले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । ३४ वर्षीय बुस्केटको कप्तानीमा कतार विश्वकप खेलेको स्पेन प्रिक्वार्टर फाइनलबाट बाहिरिएको थियो । स्पेन अन्तिम १६ को खेलमा मोरक्कोसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो । जहाँ बुस्केटको पनि पेनाल्टीमा गोल गर्न चुकेका थिए ।

बुस्केटले सन् २००९ मा स्पेनको टिमबाट डेब्यू गरेका थिए । १३ वर्ष स्पेनको टिमबाट खेलेका बुस्केटले १४३ क्याप जितेका छन् । उनी स्पेनबाट इकर क्यासियास र सर्जियो रामोसपछि सबैभन्दा धेरै खेल खेल्ने खेलाडी हुन् । बार्सिलोनाका मिडफिल्डर बुस्केटले दुई अन्तर्राष्ट्रिय गोल गरेका छन् । स्पेनले २०१० को विश्वकप र युरो २०१२ को उपाधि जित्दा बुस्केट टिमका महत्त्वपूणर् खेलाडी थिए ।

“मेरो यो यात्रामा सारथी बन्ने म सबैप्रति धन्यवाद व्यक्त गर्न चाहन्छु,” बुस्केटले इन्स्टाग्राममा लेखेका छन्, “मेरो देशलाई प्रतिनिधित्व गर्न पाउनु र शीर्षस्तरमा पुर्‍याउन पाउनु सम्मानको कुरा हो ।”