एजेन्सी । न्युजिल्याण्डमा चुरोट खरिदमा आजीवन प्रतिबन्ध लगाइएको छ । जनस्वास्थ्यलाई ध्यानमा राख्दै न्युजिल्याण्ड सरकारले युवा वर्गलाई लक्षित गर्दै सुर्तीजन्य धुम्रपानलाई आजीवन प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
मानिस मार्ने उत्पादन बेच्ने अनुमति दिनुपर्ने कुनै उपयुक्त कारण नभएको तथा त्यसलाई प्रयोग गर्ने आधा मानिस त्यसबाट मर्ने जोखिम उच्च रहेको स्वास्थ्य मन्त्री डा. आयशा भेरलले संसद्मा बताइन् । उनले प्रतिबन्ध लगाउने कानुन पारित भएपछि धुम्रपानको अन्त्य हुनेमा आफू विश्वस्त रहेको बताइन् ।
न्युजिल्याण्ड सरकारले पारित गरेको कानुनअनुसार अब सन् २००९ जनवरी १ वा त्यसपछि जन्मेका कसैलाई पनि सुर्ती वा चुरोट बेच्न पाइने छैन । यसको अर्थ अब चुरोट किन्न न्यूनतम उमेर बढ्दै जानेछ । सैद्धान्तिक रूपमा, अब ५० वर्ष पछि चुरोटको प्याकेट किन्न खोज्ने जो कोहीले आफू कम्तीमा ६३ वर्ष पुगेको परिचयपत्र देखाउनुपर्नेछ ।
स्वास्थ्य अधिकारीहरूले त्यो भन्दा पहिले देशबाट धुमपानको अम्मल हराउने विश्वास गरेका छन् । उनीहरुले सन् २०२५ सम्ममा न्युजिल्याण्डलाई धुमपानमुक्त बनाउने लक्ष्य लिएका छन् ।