• मंसिर १५ २०८१, शनिबार

जनताको आर्थिक अवस्था कमजोर भएका बेला कर्मचारीको तलब बढाउनु हुँदैन : तिमिल्सना

मंसिर २७ २०७९, मंगलवार

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद सचिवालयका कर्मचारीहरुको सेवा सुविधा बढाउने अवस्था नरहेको स्पष्ट पारेका छन् ।

संसद सचिवालयका कर्मचारीहरुले आफ्नो सेवा सुविधा वृद्धि गर्न माग गरिरहेका बेला अध्यक्ष तिमिल्सिनाको यस्तो भनाइ बाहिर आएको हो । संसद सेवा दिवसको अवसर पारेर मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकको आर्थिक अवस्थामा सुधार नआई संसद सचिवालयको लागि बजेट बढाउन नमिल्ने स्पष्ट पारे ।

अध्यक्ष तिमिल्सिनाले जनताको आर्थिक अवस्था कमजोर भएको बेला कर्मचारीहरुले आफ्नो सुविधा थप गर्न माग गर्न नहुनेतर्फ पनि सचेत गराए । देशको आर्थिक अवस्थामा सुधार आएपछि ती विषयहरुलाई सम्बोधन गर्न जोड दिने उनले आश्वासन दिए ।

तिमिल्सिनाले सांसदहरुको सुविधा बढाउनुपर्ने विषय पनि उठान हुने गरेको उल्लेख गर्दै अहिले त्यस विषयमा ध्यान दिन नसकिने बताए ।

उनले भने, ‘संसद सचिवालयका कर्मचारीहरुको सेवा, सुविधा बढाउने अहिले पनि कहीँ पनि ठाउँ छैन । अतिरिक्त काम गरेकोमा भत्ता दिऊँ, अलिकति बढाऔं भन्यो भने जनता के भएका छन् भन्ने आइराखेको अवस्था छ । देशको आर्थिक अवस्था सुधार हुँदै जाँदा ती अपेक्षाहरु पनि पूरा हुने हुन् । अन्यथा संसदमा गर्नुपर्ने धेरै खर्च व्यवस्थापन गर्नका लागि, यसले राम्रो काम गर्नका लागि धेरै चिज छ । समितिको तर्फबाट बाहिर फिल्डमा जाँदा सांसदहरुलाई सुविधा बढाउनुपर्ने अवस्था छ । यस्तो स्थितिमा हामी अहिले छौं । त्यसकारण देशको आर्थिक विकास र समृद्धितिर जाँदा मात्रै यी कुारहरुलाई पनि जोड दिन सक्छौं ।’