काठमाडौं । विश्वकप फुटबलको अन्तिम खेल खेल्ने र उपाधि जित्ने लक्ष्यका साथ पोर्चुगलका स्टार खेलाडि क्रिस्टियानो रोनाल्डो कतार गएका थिए । तर, दुर्भाग्यवस् उनको टिम अफ्रिकी मुलुक मोरक्कोसँग पराजित भएसँगै क्वाटरफाइनलबाट बाहिरियो ।
रोनाल्डो मोरक्कोविरुद्धको खेलमा सुरुवाती ११ मै परेनन्। मध्यान्तरपछि उनी मैदानमा त उत्रिए। तर, पनि हार टार्न सकिएन । निर्धारित समयको खेल सकिएपछि रोनाल्डो भावुक बनेर मैदान छाडे । उनी ट्रेसिङ रुमसम्म पुग्दा डाँको छोडेरै रोइरहेका थिए। सो दृश्य हेरेपछि विश्वभरका उनका समर्थक र अधिकांश फुटबलका दर्शक रोनाल्डोप्रति सहानुभूति देखाइरहेका छन्।
सहानुभुति देखाउनेमा भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहली पनि छन्। कोहलीले सोमबार सामाजिक सञ्जालमार्फत रोनाल्डोले फुटबल र समग्र खेलकुदमा गरेको गोगदानलाई कुनै ट्रफी वा उपाधिसँग दाज्न नमिल्ने बताएका छन्।
‘तपाईँले यो खेल (फुटबल)लाई गरेको योगदानलाई कुनै ट्रफीले विश्वभरीका समर्थकबाट टाढा लान सक्दैन। विश्वभरका दर्शकका लागि तपाईँले खेलमा छोडेको प्रभावलाई कुनै उपाधिले व्याख्या गर्न सक्दैन,’ उनले फेसबुकमा लेखेका छन् । उनले लेखेका छन्- ‘तपाईँ भगवानको उपहार हो। हरेक पटक आफ्नो हृदयबाट खेल्ने र कडा परिश्रम गर्ने तपाईँ समर्पणको प्रतीक हुनुहुन्छ। कुनै पनि खेलाडीको लागि तपाईँ साँचो प्रेरणा हो। तपाईं मेरा लागि सर्वकालीन महान हुनुहुन्छ ।’