कालिकोट । कालिकोटको रास्कोट नगरपालिकाले गरेको सूचना प्रविधिको माध्यमबाट सुशासन कायम अठोट अनुसार अर्को चमत्कारपूर्ण काम कार्यान्वयनमा ल्याएको छ । यसरी सो नगरपालिकाले कर्णाली प्रदेशकै पहिलो उदाहरणीय काम गर्दै आएको छ ।
कर्णालीमा पहिलो पटक स्थानीय तहको तर्फबाट आफ्नै डिजिटल सफ्टवेयरबाट नागरिकलाई सूचना दिने गरी एसएमएस सफ्टवेयर निर्माण गरेको हो ।
हाललाई गर्भवती तथा बालबालिकालाई सेवा दिने गरि यो सेवा सुचारू गरिएको नगरपालिका प्रमुख धर्मराज शाहीले बताए । सबै सेवा ग्राहकलाई एकै पटक प्रवाह गर्न SMS Alert software उद्घाटन गर्दै नगर प्रमुख शाहीले सूचना प्रविधिसँग जोडिएको विकास अब रास्कोटले पालना गर्ने बताए ।
यसले सेवा प्रवाह र सुशासनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । एसएमएस मार्फत् पहिलो चरणमा गर्भवती महिला र बालबालिकाका लागि सूचना पठाउन यो सफ्टवेर उपयोगी हुनेछ ।
पहिलो चरण गर्भवती महिलाले गर्भ चेकजाँच गर्ने दिन र उनीहरूले प्रयोग गर्ने आइरन चक्की लगाएतका औषधी प्रयोग गर्ने, टिटी खोप लगाउने समय र मितिको सूचना ती गर्भवती आमाको वा घरमुलीको मोबाइलमा सन्देश जानेछ । बालबालिकाले भिटामिन ए जुकाको औषधी खाने र हरेक प्रकारका खोप अभियानबारे अभिभावकको मोबाइलमा सन्देश जानेछ ।
पछि यसको प्रभावकारीता बढेमा नगरका सबै घरधुरीका परिवारको कुनै एकजना मुलीको मोबाइल नम्बर राखेर नगरका सेवा सुविधाको जानकारी पनि यसै सफ्टवेयर मार्फत् दिने नगरको योजना रहेको नगर प्रमुख शाहीले बताउनु भयो ।
नगरको सभाहलमा नगरका प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बम सबै वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य राखेर एक विशेष कार्यक्रम गरि सेवाको सुचारू गरिएको हो । अहिले प्रविधिको नयाँ नयाँ प्रयोगसँगै विकासमा जिल्लाका ९ वटै पालिकामध्ये रास्कोट अगाडि रहेको छ ।