• मंसिर २० २०८१, बिहीबार

हातपातमा नऊत्र

मंसिर २१ २०७९, बुधबार

मकवानपुरमा चुनावी समीक्षाको विषयलाई लिएर पत्रकारमाथि हातपात गरिए पछि यसले सबैलाई सोच्ने बाध्य बनाएको छ। यसको अर्थ हो, नेपालमा वाक स्वतन्त्रता छ कि छैन भन्ने बनाएको छ ।

भएका र गरिएका कामहरू पनि यस्ता भएका छन् वा हुन् भनेर सार्वजनिक रूपमा भन्न गाह्रो पर्ने अवस्था सिर्जना हुन थालेको सिंगो पत्रकारिता जगतले महसुस गर्न थालेको छ ।

समाजमा घटेका घटना र परिघटना पत्रकारले प्रायः समीक्षा गर्छन् र धारणा पनि अभिव्यक्त गर्छन्, विश्लेषण र समीक्षा मार्फत् । यो प्रजातन्त्रले दिएको अधिकारको कुरा हो । वाक स्वतन्त्रताको कुरा हो ।

तर मकवानपुरमा सकिन थालिसकेको आवधिक निर्वाचनको विषयलाई लिएर गरिएको समीक्षामाथि सन्तुष्ट हुन नसक्दा सत्ता गठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस निकट स्थानीय नेता तथा कार्यकर्ताले दुईजना स्थानीय पत्रकारमाथि हातपात गरेपछि विषय गम्भीर बन्न पुगेको छ ।

गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको मत परिणाम कम हुनु र उम्मेदवारहरूले पराजय बेहोर्नुको मुख्य कारण उनीहरूको आन्तरिक अन्तरविरोध हो भनी पत्रकारहरूले समाचार विश्लेषण गरेको कुराले स्थानीय कांग्रेसी नेता तथा कार्यकिर्तामा असन्तुष्टि पैदा गरेको बझिएको छ ।

यो समस्याको समाधान छलफल गरेर त्यसो नभएको र त्यस्तो कुराले अन्योलता सिर्जना गरेको हुनाले विश्वास नगर्न भनी खण्डन पनि गर्न सकिने थियो । तर स्थानीय कांग्रेसी नेता तथा कार्यकर्ता उल्टै ती पत्रकारहरूमाथि हातपातमा उत्रिए ।

यसले स्थिति अझ गम्भीर बनाएर लग्यो । छलफल र बहस तथा सुझबुझबाट निष्कर्ष नआउने भएपछि पीडित पत्रकारहरू ज्याज सुरक्षाका लागि स्थानीय सुरक्षा निकायमा पुगे ।

उनीहरूले आफूहरूमाथि कुटपिट भएको भन्दै सुरक्षाका लागि पीडकहरूको नाममा किटानी जाहेरी दिए पनि । तर त्यति नै बेला स्थानीय मानिसको भीड लिएर नेपाली काँग्रेसका स्थानीय नेता तथा कार्यकर्ता पुगेपछि प्रहरीले उक्त जाहेरी स्वीकार पनि गरेन ।

यो नेपालको सुरक्षा मामलामा आश्चर्यको कुरा त होइन, तर विडम्बनाको कुरा भने हो । स्थानीय कार्यकतार्दले प्रहरी चौकी घेर्ने र संघीय सरकारले उजुरी नबुझ्न स्थानीय सुरक्षाकर्मीलाई दबाव दिएपछि सुरक्षाका लागि दिइएको किटानी उजुरी कागजमै रहन गएको छ ।

उता पत्रकारहरू असुरक्षित छन् भने पार्टीका कार्यकर्ता सडकमा सुरक्षाकर्मीसँगै हिँडिरहेका छन् । आखिर सुरक्षा कसका लागि ? पीडितका लागि वा पीडकका लागि ? यो विषयले सञ्चार जगतमा सनसनी ल्याएको छ ।

त्यो भन्दा बढी त पत्रकारमाथि हातपात दिनदहाडै भएको त छ नै त्यसमा पनि प्रहरीको सुरक्षा घेराभित्र हुन पुग्नुले जनसाधरण माझ त्रास सिर्जना गरेको छ । नेपालको संविधानले वाक स्वतन्त्रतालाई सर्वोपरि स्थान दिएको छ । प्रजातन्त्रको सुन्दर पक्ष पनि यसैलाई मानिने गरिएको छ ।

नेपालमा प्रजातन्त्रको रक्षाका लागि खोलिएको र हालसम्म प्रजातन्त्र बचाउनका लागि लागि परिरहेको बताउने दलकै नेता तथा कार्यकिर्ताले बोलेको वा लेखेको विषयलाई लिएर बल प्रयोगमा उत्रँदा स्थानीय सुरक्षाकर्मीलाई पीडितको तर्फबाट दिइएको किटानी जाहेरी समेत् नबुझ्न निर्देशन दिनुले नेपालमा प्रजातन्त्रको हालत कस्तो हुँदै गइरहेको छ होला सहजै अनुमान गर्न सकिन्छ ।

त्यसैले जनसाधरणले पनि भनिरहेका छन्, बोल्न र लेख्न देऊ, बल प्रयोगमा नऊत्र !