• मंसिर ७ २०८१, शुक्रबार

२० वर्ष पुगेपछि विहे गर्ने दलित युवतीलाई १० हजार सहित सम्मान गरिने

मंसिर २१ २०७९, बुधबार

मान्म । कालिकोटको खाँडाचक्र नगरपालिका वडा नं १ ले २० वर्ष पुगेपछि विवाह गर्ने दलित युवतीहरुलाई सम्मान स्वरुप १० हजार रुपैयाँ प्रदान गर्ने भएको छ ।

बालविवाह विरूद्धको साझा अभियान कालिकोटका संयोजक खडानन्द अधिकारीले बालविवाह न्यूनीकरणका लागि वडा कार्यालयले यस्तो निर्णय गरेको बताए । उनले यो निर्णयले बालविवाह न्यूनीकरणमा केही हदसम्म सहयोग पुग्ने बताए ।

उनले भने, ‘उमेर नपुगी विवाह गर्ने चलन अन्त्य गर्नका लागि यो अभियानलाई जिल्लाभर लैजान जरूरी रहेको छ ।’ वडा अध्यक्ष धर्मराज टमट्टाले वडाले बालविवाह न्यूनीकरण गर्न यस्तो निर्णय गरेको बताए । ‘हामीले उमेर पुगेर विवाह गर्ने किशोरीलाई पुरस्कार दिने निर्णय गरेका छौं’, उनले भने, ‘यसले बालविवाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास लिएका छौं ।’

विशेषगरी विद्यालयस्तरमा र बालविवाह बारे चेतना जगाउने खालका कार्यक्रमलाई विशेष रूपमा नगरपालिकाले अगाडि बढाएको नगरपालिका उपप्रमुख गणेशबहादुर शाहीले बताए । यसमा नगरपालिकाले कार्यविधि नै बनाइसकेको वडा नम्बर १ का वडाध्यक्ष धर्मराज ताम्राकारले बताए ।

यसमा प्लान नेपाल, फ्याडो नेपाल जस्ता संस्थाहरुको सहयोग रहेको छ । ‘अहिले उमेर पुगेपछि विवाह गर्ने किशोरीलाई एउटा वडामा मात्रै पुरस्कार दिने निर्णय गरेका छौं’, उनले भने, ‘आगामी दिनमा नगरपालिकाका सबै वडामा यो कार्यक्रम लागू गर्ने योजना रहेको छ ।