घोराही, १९ मंसिर । घोराहीमा रहेको हिन्दु विद्यापिठ विद्यालयमा अन्तरिक्ष वैज्ञानिक अमेरिकी नागरिक डा.एस्ले डिन्सले वेद, पुराण र उपनिषदमा लेखिएका सबै कुरा वैज्ञानिक भएको बताउनु भयो ।
उहाँले तिनको गहिरो अध्ययन गर्ने काम ठूलठूला वैज्ञानिकले अघि बढाएको बताउनु भयो । अन्तरिक्ष वैज्ञानिक अमेरिकी नागरिक डा. एस्ले डिन्सले आइतबार घोराहीमा भावातित ध्यानको चर्चा गर्नुभएको छ । हिन्दु विद्यापिठ विद्यालयमा भएको कार्यक्रममा जनज्योति विद्यामन्दिर, शान्ति निकेतन स्कुल सहित तिन विद्यालय सहभागि थिए ।
देवत्व के हो ? ऋषिमुनी को हुन् र प्रकृति पुजा किन गर्छौं भन्ने बारेमा अध्ययन भइरहेको उहाँको भनाई थियो । उहाँका अनुसार ज्ञान प्राप्तिको उद्देश्य व्यक्तिका ऊर्जालाई सकारात्मक सोंचमा बदल्नु हो । सबै मानिस सकारात्मक भावमा पुगेपछि चोरी, डकैती, काटमार र हत्या बलात्कार जस्ता कुरा हुँदैनन् । कलियुगलाई सति युगमा बदल्न सक्छौँ । अहिले मानिसले हिंसाको समाचार सुन्न मन पराउँछ ।
भावातित ध्यानपछि आध्यात्मिक चेतना ल्याउँछ र सकारात्मकतामा बदल्छ । नकारात्मक कुराको चासो हुँदैन चर्चापनि गरिंदैन । मानिस भौतिक सम्पतीले मात्रै खुशी हुन सक्दैन । सन्तोष हुँदैनन् । त्यो कुरा विश्वका विकसित औद्योगिक मुलुकका मानसिक समस्याले पुष्टि गरिसकेका छन् । अमेरिका लगायत विश्वका धनि मुलकहरु सुविधा सम्पन्न छन् तर सन्तुष्ट छैनन् ।
पश्चिमा मुलुकका धेरै स्थानहरुबाट नेपालमा पर्यटकका रुपमा आएर नेपालमा रहेको पूर्वीय ज्ञानको भण्डारबाट ज्ञान सिकेर पश्चिममा लगेर आफूले लागू गर्ने गरेको आरोप उनीहरुलाई लाग्दै आएको छ । यता नेपाली शासकहरुलाई पनि पर्यटकका नाममा विदेशीहरु नेपालमा आउँदा उनीहरुको अनुगमन नगर्ने बरु सत्कार गरेर राख्ने र उनीहरुले नेपालबाट के फाइदा लिएर नेपाललाई के घाटा भएको छ भन्ने बारेमा कुनै वास्ता नगर्ने आरोप लागेको छ । अहिले विज्ञानका चमत्कारको कारण थाहा पाउन भावावित ध्यानको जरुरी रहेको डा.डिन्सले बताउनु भयो ।
उहाँका अनुसार भ्रष्टाचार, दुराचार, लुटपात, चोरी, हत्या हिंसा जे भइरहेका छन् त्यो पनि आध्यात्मिक चेतनाकै कमिले हो । ‘नेपालमा पाँच सय ५० जनाले मात्रै भावातित ध्यान गर्नुभयो भने धेरै परिवर्तन हुन्छ’ उहाँले भन्नुभयो, ‘त्यसले नेपालमा आर्थिक उन्नती हुन्छ, भ्रष्टाचार घट्छ र मानिस ज्ञानी बन्छन् ।’
यस अघि गत असार १७ गते अमेरिकी नागरिक राजा किंग्सले घोराहीमा आउनु भएको थियो । उहाँ १७ देशका राजा किग्सलेले वेदका रिचामा भावातित ध्यान भएको बताउनु भयो । उहाँले सम्पूर्ण ज्ञानको घर त्यसैमा भएको चर्चा गर्नुभएको थियो । ‘नेपाललाई गरीब देश कहिल्यै पनि भन्न सकिंदैन’, उहाँले भन्नुभएको थियो, ‘वैदिक ज्ञानले सम्पन्न देश हो । यसले मात्रै शान्ति र समृद्धि ल्याउन सक्छ ।’
विश्वको नेतृत्वका लागि नेपाल भनेर खुबै प्रशंसा गर्नुभएको थियो । यसले मानव कल्याण गर्न र मात्रै विश्व रुपान्ततरण गर्न सक्छ । नेपालका नेता जिम्मेवार बनेपछि सक्छन् । वैदिक ज्ञान जीवन्त गरे रामराज्यको रुपमा विश्व परीचित हुन्छ । यसको पाँच महिना पछि अर्का अमेरीकी आएर वेद पुराणकै चर्चा गर्नुभएको छ ।
भावातित ध्यान गरेको व्यक्ति दुई चार महिना पछि नै बदलिने महर्षी वैदिक फाउन्डेसन नेपालका निर्देशक प्रशिक मिनराज अधिकारीको भनाई थियो । उहाँका अनुसार पढाई मात्रै सिकायो भने टाङ्गा जसतै एकहोरो हुन्छ । पढाईसँगै विद्यार्थीलाई ध्यान पनि गरायो भने भित्र बाहिर चौतर्फी ज्ञान प्राप्त गर्छ । उहाँ भने नेपाली हुनुहुन्छ ।
महर्षि वैदिक फाउन्डेशनको चेतनामा आधारित शिक्षाको प्रवद्धनका लागि आयोजित विशिष्ट सभाको अध्यक्षता हिन्दु विद्यापिठ विद्यालय घोराहीका प्रिन्सीपल डा. भोलानाथ योगीले गर्नुभएको थियो । उहाँ आध्यात्मिक क्षेत्रका ज्ञाता मानिनु हुन्छ । विद्यालयलाई आध्यामिक चेतना सहित अगाडि बढाउनु भएको छ ।
खासगरी नेपाली पन र हिन्दु संस्कृति त्यहाँ लागु भएको मानिन्छ । त्यस कार्यक्रममा सहभागी विद्यार्थीले अनुशासित भई र उत्साहका साथ सुनेका थिए । गोरखनाथ वैदिक गुरुकुल चौघेराका विद्यार्थीले स्वस्ती वाचन गरेका थिए । उक्त कार्यक्रम सहजीकरण हिन्दु विद्यापीठका शिक्षक पिताम्बर रिजालले गर्नुभएको थियो ।