काठमाडौं । कङ्गोको पूर्वी क्षेत्रमा नागरिकको कथित नरसंहारपछि शनिबारदेखि तीन दिने राष्ट्रिय शोक सुरु भएको छ । गोमा शहरबाट करिब ७० किलोमिटर उत्तरमा रहेको किशीशे गाउँमा एम २३ लडाकू समूहले ५० जनाको हत्या गरेको आरोप गत बिहीबार सरकारले लगाएको थियो ।
एम २३ ले जवाफी हमला गर्दै आरोपहरू ‘आधारहीन’ भएको र आफ्नो आक्रमण नागरिकहरूप्रति लक्षित गरेको कुरालाई अस्वीकार गरेको छ । सरकारका प्रवक्ता प्याट्रिक मुयायाका अनुसार शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकमा डीआरसीका अध्यक्ष फेलिक्स शिसेकेदीले किशिशेमा १०० भन्दा बढी नागरिकको नरसंहार भएको भन्दै घटनाको कडा शब्दमा निन्दा गरेका छन् ।
शिसेकेदीले तीन दिनको राष्ट्रिय शोक घोषणा गर्न सरकारलाई निर्देशन दिएको र देशभर झण्डा आधा झुकाइने उनले जानकारी दिए । मुयायाले भने, ‘शोकको अवधि सोमबार टेलिभिजनमा पीडितहरूको सहयोगका लागि आयोजित चन्दा सङ्कलन कार्यक्रमबाट अन्त्य हुनेछ । उक्त नरसंहारको खबर सार्वजनिक भएदेखि नै स्वतन्त्र छानबिनको माग उठ्न थालेको छ ।
राष्ट्रपतिले न्यायमन्त्रीलाई अविलम्ब आन्तरिक अनुसन्धान सुरु गर्न र यस युद्ध अपराधबारे प्रकाश पार्न अन्तर्राष्ट्रिय अनुसन्धानका लागि काम गर्न आग्रह गरेको मुयायाले बताए । वर्षौंदेखि सुषुप्त अवस्थामा रहँदै आएको एम २३ कङ्गोली तुत्सी विद्रोही समूह हो ।
उसले गत वर्ष नोभेम्बरमा फेरि हतियार उठाएको थियो र जुनमा युगान्डासँगको सीमामा रहेको बुनागाना शहर कब्जा गरेको थियो । उक्त समूह केही समयको शान्तिपछि अक्टोबरमा फेरि आक्रमणमा उत्रियो र आफ्नो नियन्त्रणमा रहेको क्षेत्रलाई व्यापक रूपमा विस्तार गर्दै गोमातर्फ अघि बढेको छ ।
किन्सासाले आफ्नो सानो छिमेकी रुवान्डाले एम २३ लाई सहयोग गरेको आरोप लगाउँदै आएको छ । यो संयुक्त राष्ट्रसङ्घका विज्ञ र अमेरिकी अधिकारीहरूले पनि हालैका महिनाहरूमा औंल्याएका छन् । किगालीले उक्त आरोप अस्वीकार गर्दै आएको छ ।
उता इरानको राष्ट्रिय सुरक्षा परिषद्ले इरानमा हालै भएको ‘दङ्गा’मा परी २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको शनिबार जानकारी दिइएको छ ।
“सरकारी अनुसन्धानले उक्त दङ्गाका कारण २०० भन्दा बढी व्यक्तिको ज्यान गएको देखाएको छ,” परिषद्ले आधिकारिक समाचार संस्था आइआरएनएद्वारा जारी विज्ञप्तिमा भनिएको छ । हताहत हुनेमा सुरक्षा अधिकारी, सर्वसाधारण, प्रदर्शनकारी र विद्रोही समूहका सत्ताविरोधी सशस्त्र व्यक्ति रहेका छन् ।
परिषद्ले २२ वर्षीया महसा अमिनीको मृत्युपछि भड्किएको ‘दङ्गा’, नागरिक विरोध नभई ‘विनाश र हिंसा’ भएको उल्लेख गरेको छ ।विज्ञप्तिमा भनिएको छ, ‘सार्वजनिक व्यवस्थामा खलल पुर्याउने र कुनै पनि तह र स्थानमा हुने गैरकानुनी जमघटलाई निर्णायक र सहनशीलताबिना सम्बोधन गरिनेछ ।’
गत सेप्टेम्बरमा तेहरानको एक प्रहरी चौकीमा विरामी भएको केही दिनपछि अमिनीको तेहरानको एक अस्पतालमा मृत्यु भएको थियो । सुरुमा उनको गृह प्रान्त कुर्दिस्तानमा सुरु भएको विरोध प्रदर्शन पछि राजधानी तेहरानलगायत अन्य इरानी शहरहरूमा फैलिएको थियो ।