उपनिषदलाई आत्मविद्या, मोक्षविद्या र ब्रह्मविद्या भनिन्छ । किनकि यसमा आत्मज्ञान, मोक्षज्ञान, र ब्रह्मज्ञानको प्रधानता रहेको हुन्छ । उपनिषदहरु उत्तर वैदिक युगका अन्तिम रचनाहरु मानिएका छन् । अझ यसलाई वैदिक साहित्यमा उपनिषदको आगमनलाई नयाँ चिन्तनको युगको सूत्रपात रहेको मानिन्छ । ब्राह्मण ग्रन्थ र आरण्यक ग्रन्थपछि उपनिषदहरूको निर्माण भएको हो । अझ स्पष्टरूपमा भन्ने हो भने कर्म र ज्ञानका विषयहरु वेदमा पाइन्छन् भने तिनै कर्मको व्याख्या ब्राह्मण ग्रन्थमा र ज्ञानको ब्याख्या उपनिषदमा पाइन्छ ।
यिनै कारणले ब्राह्मण ग्रन्थलाई कर्मकाण्ड ग्रन्थ पनि भनिन्छ भने त्यसको विपरित उपनिषदलाई ज्ञानकाण्ड ग्रन्थ भनिन्छ । स्पष्ट रूपमा भन्ने हो भने जन्म र मृत्युभन्दा पनि पर शाश्वत आनन्दका लागि बहुपक्षमा विवेचना गरिएको उपनिषद ग्रन्थहरूमा पाइन्छ । वास्तवमा ब्राह्मण ग्रन्थदेखि लिएर उपनिषद ग्रन्थहरूसम्म सम्पूर्ण ग्रहन्थहरु वैदिक मन्त्र संहिताकै व्याख्याका रूपमा देखा परेका ग्रन्थ हुन् ।
भनिन्छ, ब्राह्मण काल वैदिक धर्मको अवनति काल हो भने उपनिषद काल चाहिँ वैदिक धर्मको चरमोन्नति काल हो । ब्राह्मण ग्रन्थमा धर्मको संकुचित र व्यक्तिगत रूपमा व्याख्या गरियो भने उपनिषद कालमा धर्मको सूक्ष्म रूपले विवेचना गरियो । वैदिक साहित्यमा उपनिषदहरु नै अन्तिममा रचना गरिएका ग्रन्थहरू हुन् । त्यसैले उपनिषदलाई वेदान्त पनि भनिन्छ । उपनिषद श्रवण प्रधान, गीता निदिध्यासन प्रधान र ब्रह्मसूत्र मनन प्रधान ग्रन्थहरू हुन् ।
यसलाई अझ स्पष्ट रूपमा भन्नु पर्दा ब्राह्मण ग्रन्थ गृहस्थ जीवन सम्पन्न गर्नका लागि गरिने कर्मकाण्ड ग्रन्थ हुन् भने अरण्यक ग्रन्थहरू जंगलमा ब्रह्मतत्वको उपासना गर्ने ग्रन्थ र उपनिषद ग्रन्थहरू परम तत्व ‘ब्रह्म’ चिनाउने आध्यात्मिक ग्रन्थहरु हुन् । उपनिषद् शब्द उप + नि पूर्वक सद् धातुबाट ‘स्विप’ प्रत्यय लागेर बनेको हो । (उप+नि+सद्स्वि+प्) ‘उपतिषीदति सर्वानर्थकरं संसारं विनाशयति, संसारकरण– भूताम् अविद्यां च शिथिलयति च ब्रह्म च गमयति इति उपनिषद ।’
यसको तात्पर्य सम्पूर्ण अनर्थलाई पैदा गर्ने, सांसारिक क्रियाकलापलाई उपनिषदले नाश गर्छ, संसारको कारणस्वरूप अविद्यालाई शिथिल तुल्याउँछ वा समाप्त पार्दछ र ब्रह्मज्ञान प्राप्त गराउँछ । ‘उप समिपे ज्ञान प्राप्त्यर्थ निशिदति इति उपनिषद’ । शिष्यले आफ्नो गुरुको समीप अध्यात्म विद्या (ज्ञान) प्राप्त गर्नको लागि बस्नु वा सहभागी हुनु । यसरी उपनिषदलाई अध्यात्म विद्या वा ब्रह्मविद्या हो भन्ने बुझिन्छ ।
उपनिषदको संख्याका बारेमा विभिन्न ग्रन्थहरुले रुपमा फरक फरक संख्या दिएको पाइन्छ । ‘उपनिषद वाक्य महाकोश’ मा यसको संख्या २२३ वटाको नामावली दिएको छ भने मुक्तिकोपनिषदमा १०८ वटाको चर्चा गरिएको छ । मुक्तिकोपनिषदमा दिएको अनुसार ऋग्वेदसँग सम्बद्ध १०, शुक्ल यजुर्वेदका १९, कृष्ण यजुर्वेदका ३२, सामवेदका १६, र अथर्ववेदका ३१ उपनिषदहरूको वर्णन पाइन्छ । हाल चर्चामा आएका १२ वटा उपनिषद निम्न प्रकारका प्रकारका छन् ।
१) ईशावास्योपनिषद–(जो शुक्ल यजुर्वेदको उपनिषद हो) । यो मध्यदिन शाखासँग सम्बन्धित धेरै चर्चा गरिएको उपनिषद हो ।
२) केनोपनिषद–सामवेदको जैमिनी शाखासँग सम्बन्धित उपनिषद हो ।
३) कठोपनिषद–कृष्ण यजुर्वेद कठ शाखासँग सम्बन्धित उपनिषद हो ।
४) मुण्डक उपनिषद– यो अथर्ववेदको शौनक संहितासँग सम्बन्धित उपनिषद हो ।
५) प्रश्न उपनिषद–अथर्ववेदको पिप्पलाद संहितासँग सम्बन्धित उपनिषद हो ।
६) मण्डुक्योपनिषद–यो अथर्ववेदसँग सम्बन्धित उपनिषद हो ।
७) तैत्रिय उपनिषद–यो अथर्ववेदको तैत्रिय संहितासँग सम्बन्धित उपनिषद हो ।
८) ऐतरेयोउपनिषद– यो ऋग्वेदको ऐतरेय ब्राह्मणसँग सम्बन्धित उपनिषद हो ।
९) छान्दोग्य उपनिषद–सामवेद उपनिषदको कौथुम शाखासँग सम्बन्धित उपनिषेद हो ।
१०) वृहदारण्यकोपनिषद–शुक्ल यजुर्वेदको शतपथ ब्राह्मणसँग सम्बन्धित एक प्रसिद्ध उपनिषद हो ।
११) कौशीतकि उपनिषद–ऋग्वेद कौशीतकि ब्राह्मणसँग सम्बन्धित उपनिषद हो ।
१२) स्वेतस्वतरोपनिषद–यो कृष्ण यजुर्वेदको स्वेतस्वतर ब्राह्मणसँग सम्बन्धित छ ।
यी माथिका उपनिषदहरु कुनै गद्यमा कुनै पद्यमा र कुनै दुवै शैलीमा प्रस्तुत गरिएका हुन्छन् । उपनिषदको रचना काल विभिन्न विद्वानहरूले फरक फरक बताएका छन् । तर पनि धेरैजसो विद्वानहरूले गौतम बुद्धको उदय हुनुभन्दा पहिले नै कतिपय उपनिषदहरूको रचना भइसकेको मानेका छन् ।
उपनिषद ग्रन्थहरुमा मूलतः तीन प्रकारका विषयहरू देखिएका छन् । ती हुन् (क) वेदान्त दर्शन, (ख) योगविद्या र (ग) विष्णु, शिव र शक्तिहरूको उपासना । उपनिषदहरूमा जगत, जीव र ब्रह्मको उपादानभूत माया वा प्रकृतिको अनेकमुखी वर्णन गरेको पाईन्छ । यो ब्राह्मण ग्रन्थ भन्दा प्रगतिवादी देखिन्छ । उपनिषदले आत्मालाई अमर मानेको छ । यसमा शरीर नास भए पनि आत्माको मृत्यु हुँदैन भनेर किटान गरेको पाईन्छ । गहिरिएर हेर्ने हो भने जगत र ब्रह्मतत्व बारे सम्बन्ध, ब्रह्मको उपलब्धि मार्ग, आत्मा र ब्रह्मको एकताको रहस्य, आदि बारे स्पष्ट चर्चा गरेको देखिन्छ ।
हालसम्म उपनिषदहरूको विभिन्न भाषामा अनुवाद गरेको देखिन्छ । फारसी, ल्याटिन, रसियन, जर्मनी र अंग्रेजी भाषामा पनि उपनिषदहरू अनुवाद गरेको पाईन्छ । जर्मन दार्शनिक शोपेन हावरले उपनिषदलाई मानव–मस्तिष्कको सबभन्दा उँचो र पूर्ण रचना हो भनेका छन् । यस उपनिषदले उनको जीवनमा वास्तविक शान्ति प्राप्त गरेको उल्लेख गरेका छन् ।
आज हामीले बिर्सेका हाम्रा पौराणिक ग्रन्थहरू दिन प्रतिदिन हाम्रो भू–भाग भन्दा परकाले विभिन्न दृष्टिकोणबाट अध्ययन अनुसन्धान गरिरहेका छन् । तर हामी भने केही काम नलाग्ने, अनुत्पादक भनेर हेपिएर बस्नु पर्ने यथार्थ देखिन्छ । जो उपनिषद अध्ययन गर्नेहरु छन् उनीहरू पनि आ–आफ्नो स्वार्थ तथा लाभ र घाटाको व्यापारिक दृष्टिले मात्र व्याख्या विश्लेषण गरिरहेका छन् । यस बारे आजका पुस्ता चनाखो भई सही, सत्य, तथ्य जनतासामु देखाउनु आजको आवश्यकता र अपरिहार्यता हो ।
टोखा–९, गोङ्गबु काठमाडौं ।