ग्रहको नजिकै भएर वा ठोक्किएर आउने वा जाने ससाना पिण्डलाई क्षुद्र ग्रह भनिन्छ । कहिलेकाहिँ यस्ता ग्रहको ओइरो लाग्छ ।
आजभन्दा साढे ४ अर्ब वर्ष पहिले मंगल ग्रहमा पनि यस्तै भएको थियो । पानीले भरिएको मंगलमा हिउँले भरिएका ससाना क्षुद्र ग्रहहरूको बाढी नै चल्यो ।
पानीले भरिएको हरियो मंगल ग्रह क्रमशः रातो ग्रहमा परिणत भयो । तर पृथ्वीमा रहेका मानिसका लागि यो कुरा गहिरो खोजको विषय बनिरह्यो ।
पृथ्वीसँग मिल्दोजुल्दो ग्रह हो, मंगल ! त्यसैले मंगल ग्रहमा पानी र जीवावशेषको खोजी निकै भइरहेको छ ।
यो खोज निराशाजनक रूपमा होइन । बरू निकै आशावादिताका साथ अघि बढिरहेको छ । तर पनि खोजले सार्थकता पाउन बाँकी छ ।
तथापि वैज्ञानिकहरूले खोजी कार्यमा निकै चमत्कार हुने आशा गरिरहेका छन् । यसै बीच युनिभर्सिटी अफ कोपनहेगनले केही दिन अघि प्रकाशित गरेको अध्ययनमा मंगलमा कुनै समयमा निकै गहिरा सागर रहेको कुरा उजागर गरेको छ ।
यस्तो संकेत पाइनु पृथ्वीमा रहेका मानिसका लागि निकै खुशीको कुरा हो । पानी सुकेर रातो देखिन थालेको ‘रातो ग्रह’ मंगल अहिले पृथ्वीजस्तो हरियो नदेखिए पनि खोजीमा ‘ग्रिन सिग्नल’ भने दिइरहेको छ ।
अध्ययनअनुसार साढे ४ अर्ब वर्ष पहिले मंगल ग्रहमा १ हजार फिट गहिरो सागर थियो । यो ग्रहमा सागरसँगै त्यहाँ हिम टापुहरू पनि थिए ।
यसै समयमा त्यस ग्रहमा बरफले भरिएका क्षुद्रग्रहको बाढी आएको थियो । मंगल ग्रहको विकासको पहिलो १० करोड वर्षमा यस्तो हुन गएको थियो ।
त्यति बेला अर्को रोचक पक्ष के छ भने हिम क्षुद्रग्रहहरूले जैविक अणुहरू पनि बोकेका हुन्छन् । यस्ता जैविक अणुहरू जीवनका लागि जैविक रूपमा महत्वपूर्ण हुन्छन् ।
खोजीका क्रममा सेन्टर फर स्टार एण्ड प्लानेट फर्मेसनको एक विज्ञप्तिमा प्राध्यापक मार्टिन बिजारोले बताएअनुसार यस्ता बरफयुक्त क्षुद्रग्रहहरूले मंगल ग्रहमा पानी ओसारेर सके ।
यी क्षुद्र ग्रहहरूले पानीका अतिरिक्त जैविक रूपमा आवश्यक हुने एमिनो एसिडजस्ता जैविक यौगिकहरू पनि ओसारेर सिध्याए । यस्ता यौगिकहरू ग्रहबाट सिद्धिएपछि त्यहाँ जीव विकासमा अवरोध हुन गयो ।
अहिले त्यहाँ पानी पनि भेटिएको छैन भने जीवांश पनि पाइएको छैन । त्यहाँ अहिले औसत माइनस ८० डिग्री फरेनहाइट तापक्रम रहेको छ ।