• मंसिर १२ २०८१, बुधबार

स्पेनलाई हराउँदै जापान नकआउट चरणमा प्रवेश

मंसिर १६ २०७९, शुक्रबार

काठमाडौं । स्पेनलाई हराउँदै जापान कतारमा जारी विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । जितसँगै जापान समूह ‘ई’ को समूह विजेता बन्दै नकआउट चरण प्रवेश गरेको हो । तीन खेल खेलेको जापानले ६ अंक जोडेको छ ।

बिहीबार राति कतारको खालिफा अन्तराष्ट्रिय स्टेडियममा भएको खेलमा जापानले स्पेनलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

जापानको जितमा रित्सु डोन र एओ टानकाले एक एक गोल गरे । स्पेनका लागि अल्भारो मोराटाले एक गोल फर्काएका थिए ।सुरुवाती अग्रता लिएको स्पेनविरुद्ध जापानले खेल उल्टाएको हो। खेलको ११ औं मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा पछाडि परेको जापान दोस्रो हाफमा पुनरागमन गर्दै विजयी भएको हो ।

खेलको ४८ औं मिनेटमा रित्सुले गोल गर्दै जापानलाई १–१ को बराबरीमा फर्काएका थिए । थप एक गोल खेलको ५१ औं मिनेटमा टानकाले गरेका थिए । जापानसँग पराजित भए पनि तीन खेलमा ४ अंक जोडेको स्पेन यो समूहको उपविजेता बन्दै नकआउट चरण प्रवेश गरेको छ ।