मार्ग शुक्लपञ्चमीमा मनाइने राम जानकी बिबाह महोत्सव साताव्यापी रुपमा मनाउने क्रममा जनकपुरमा शुरु भइसकेको छ । बस्ती वृद्धिका कारण हिजोआज अयोध्या क्षेत्र, सरयु लगायत धेरै स्थान र हाम्रै जनकपुर मिथिला क्षेत्रमा पनि सरसफाइको समस्या देखा परेको छ । पूर्वीय शास्त्रले प्रदूषणलाई पाप भनेको छ । धार्मिक, आध्यात्मिक दृष्टिले प्राचीन समयदेखि नै महत्व पाएको नेपालमा जति घरहरु छन् त्यति नै मन्दिरहरु पनि । जनकपुर क्षेत्रमध्ये जनकपुरधाम, धनुषाधाम, जलेश्वरशिव, सिन्धुलीको कुशेश्वरशिव, दोलखाको भीमेश्वरशिव लगायत कालिञ्चोकदेवी जस्ता प्रसिद्ध शक्तिपीठहरू मुख्य हुन् । सन्दर्भ श्रीराम सीताको बिबाह महोत्सव रहेकाले यसै सेरोफेरोमा चर्चा गर्ने यो लेखको उद्देश्य रहेको छ ।
मिथिलेति त्रिवर्णीयं श्रुतितोऽपि गरीयसी । मकारो विश्कर्ता च थकार : स्थितिपालकः ।।
लकारो लयकर्ता वै त्रिमात्रा शक्तयोेऽभवन् । प्रणवेन समं सिद्धि : सर्वाघौघंनिवारणम् ।।
पौर्णमासीं विना चन्द्रो यथा पूर्णो नजायते । तथा तीर्थादिकं कृत्वा पूर्णो न मिथिलां विना ।।
मिथिलायां कृतं पुण्यमिहलोके परत्र च । अक्षयं स्यात्तु तत्सर्वं राम–सायुज्यकारकम् ।। –विष्णुपुराण
मिथिलाक्षेत्र आफै महान छ । ३ अक्षर मिथिलाको मि माने विश्वको सृष्टि हो, थि ले रक्षा, संसारको पालन बुझिन्छ र ला ले लय, प्रलय भन्ने संकेत गर्छ । चन्द्रमा बिना पूर्णिमा अधुरो भएझैं मिथिलाबिनाको तीर्थ अधुरो रहन्छ । मिथिलामा गरिएका कुनै पनि सुकार्यले इह र पर लोक दुबै सुध्रन्छ । राम सीताकै कारण त्यो क्षेत्र सायुज्य मुक्तिक्षेत्र नै हो । यस्तौ सौभाग्य बोकेको योक्षेत्र हाम्रा लागि अहोभाग्यको विषय हो ।
विष्णुपुराण, स्कन्दपुराण आदि पूर्वीय शास्त्रहरूले जनकपुरधामका बारेमा विशद् वर्णन गरेका छन् । जनकपुर क्षेत्रलाई मिथिला क्षेत्र भनिन्छ । दार्शनिक तपस्वी राजा जनकको राज्यक्षेत्र भएकाले यसक्षेत्रको नाम जनकपुर रहेको हो । मिथिला क्षेत्र निकै व्यापक छ । दक्षिणमा भागीरथी, पूर्वमा हिमालय क्षेत्र कौशिकी नदी र पश्चिममा गण्डकी नदीको बीच भाग मिथिला क्षेत्र हो । सृष्टिकर्ता ब्रह्मा, पालनकर्ता विष्णु र संहारकर्ता महेश्वर अर्थात् ३ वटाको समष्टि ॐ को केन्द्र मिथिला हो । सृष्टि, स्थिति र संहारकी प्रतीक महामाया, महालक्ष्मी र महाकाली स्वरूप सीताको उद्गमस्थल जनकपुर क्षेत्र हो । पापनाशक मिथिलाक्षेत्र विश्वकै लागि उत्कृष्टक्षेत्र हो ।
महिनाभरमा पूर्णिमा जसरी पूर्ण छ, त्यसैगरी ब्रत, तीर्थ, पुण्यको पूर्णताको लागि मिथिलापुरीको दर्शन आवश्यक छ । मिथिलामा गरिएको पुण्य अन्यक्षेत्रमा तुलना हुन सक्दैन । अक्षय फल प्राप्त गर्न चाहने साधकहरूले जनकनन्दिनी सीताको क्षेत्र जनकपुरको भ्रमण गर्नै पर्ने हुन्छ । मिथिलाका १५ नामहरू शास्त्रहरूले बताएका छन् । १) मिथिला २) वैदेही ३) यज्ञक्षेत्र ४) जानकी जन्मभूमि ५) विश्वमङ्गला ६) क्रियापीठ ७) विकल्मषा ८) निरपेक्षा ९) नैमिकानन १०) रामानन्दकरी ११) स्वर्णलाङ्घन पद्धति १२) तैरमुक्ति १३) तपोवन १४) शाम्भवी १५) स्वर्णकानन ।
ब्रह्मज्ञानी जनकबाट व्यासपुत्र शुकदेव स्वामीले भागवतको अध्ययन गरेका थिए । ९ वालयोगीश्वरहरू–कवि, हरि, अन्तरिक्ष, प्रबुद्ध, पिप्लायन, आविर्हाेत्र, दुर्मिल, चमस, करभाजनले राजा जनकलाई ब्रह्मज्ञान सिकाएका थिए । महाज्ञानी महर्षि याज्ञवल्क्य राजा जनकका गुरु थिए । संसारका ज्ञानी, महात्मा, पुण्यात्माहरू जनकसँग वेदान्तको ज्ञान सिक्न आउँथे । अध्यात्म ज्ञानका शिखरपुरुष राजा जनकलाई विदेह महाराज भनिन्थ्यो । देह भएर पनि देहबाट मुक्त, संसारमा रहेर पनि सांसारिक विषयबाट मुक्त राजा जनकको दरवारमा योग शिक्षा सिकाइन्थ्यो । अध्यात्मक्षेत्रका स्रोत व्यक्तिहरूको सभा, सम्मेलन भइरहन्थ्यो । भनिन्छ, जनकपुरक्षेत्रका पशुपंक्षी, वृक्ष, वनस्पति सबैले वेदको भाषामा कुराकानी गर्थे । सम्पूर्ण वायुमण्डल वेदमय बनेको थियो । सर्वत्र पूजित व्यक्तित्वहरूको संगमक्षेत्र मिथिला विश्वको सर्वोत्कृष्ट ज्ञान र विज्ञानको स्रोत रहेको थियो ।
मैथिली भाषाका कवि श्रीविद्यापति कोकिलको शालिकसमेत भएको यो क्षेत्रमा मिथिला साहित्यको भरपूर विकास भएको छ । पावन नदीहरूले सेचन गरेको मिथिला भूमिमा भगवती आद्या शक्ति स्वरुपिणी महामायाले धर्तीमा अवतरित हुने निधो गर्नु भयो । एकदिन सुनको हलोले यज्ञभूमि जोतिरहेको बेला वसन्त ऋतु, वैशाख शुक्ल नवमीको पुण्यतिथिमा पृथ्वीको गर्भबाट जगतजननी जानकीको उदय भयो । अति राम्री कन्या प्राप्त गरेका राजा जनकले महारानी सुनैनालाई छोरीको रूपमा लालनपालन गर्न आज्ञा दिनुभयो । सीताको उदय दिन भने वैशाख शुक्ल नवमी हो ।
अघि सृष्टिकर्ता ब्रह्माजीको अंगबाट उत्पत्ति भएका स्वायंभू मनु र रानी शतरूपाले सर्वेश्वर श्रीहरिको तपस्या गर्दा श्रीहरि प्रसन्न भई वरदान माग्न भन्नुभयो । स्वायंभू मनु र शतरूपा महारानीले एकै स्वरमा “तपाईं जस्तै पुत्र प्राप्त गर्न सकौं” भनेर वरदान मागेकाले भगवान्ले “तथास्तु” भन्नु भएको थियोे ।
एक पटकमात्र होइन तीन पटकसम्म युग युगपिच्छे आफू पुत्र भएर धर्तीमा अवतरण हुने भगवानको वचन थियो । त्रेता युगमा पृथ्वीका दुष्ट शासकहरूका विरुद्ध भू–भार हरण गरी लोकहित र लोककल्याण गर्न श्रीहरिले राम अवतार लिने निधो गर्नु भयो । मनुष्यको रूपमा अवतरित हुने क्रममा अघि वरदान प्राप्त स्वायंभू र शतरूपा अयोध्या नगरीमा राजा दशरथ र रानी कौशल्याको गर्भमा आफू रहने बिचार गर्नुभयो । भारतको अयोध्या नगरीमा राजा दशरथ पुत्र श्रीहरि श्रीरामका रूपमा अवतरित हुनु र श्रीलक्ष्मीले जनक नन्दिनी सीताको रूपमा अवतरित हुनु केवल संयोग मात्र नभएर पूर्व योजना नै थियो ।
राम र सीताको बिबाहमा स्वयं ब्रह्माजी समेत आउँदा जनकपुरको वैभव देखेर आफ्नो रचनामा आश्चर्य मान्नु भएको थियो । त्यसबेला जनकपुरमा देखिएको स्वर्ण मण्डप, अलौकिक कला कौशलता, भव्य महलहरू हेर्दा सृजनाकी स्रोत महामाया देवीको कृपा प्रसाद भनेर सहजै भन्न सकिन्थ्यो । जनकपुरको मध्य बजारक्षेत्रमा जानकी मन्दिर रहेको छ । भारतकी टीकमगढकी महारानी वृषभानु कुँवरले सम्बत् १९६८ मा नौलाख रूपैयाँ खर्च गरी बनाएको यो मन्दिरलाई नौलखा दरवार पनि भनिन्छ । मुगल शैलीमा बनेको यो मन्दिरलाई शीशमहल भन्ने गरिन्छ ।
मन्दिरको गर्भ गृहमा राम र सीताका भव्य मूर्तिहरू छन् । सदैव राम र सीताको दर्शन गर्न भीड लाग्ने यो मन्दिरको चारैतर्फ दुई र चार तला गरी महलका बुर्जाहरू बनाइएका छन् । जनकपुरको राम जानकी मन्दिर परिसरको पश्चिमपट्टि सुनयना–जनक मन्दिर छ, जहाँ अंगरागसरबाट झिकाइएका राम, सीता, लक्ष्मण एवं जनक राजा परिवार सहितकै मूर्तिहरू स्थापित छन् । मन्दिरको पश्चिमपट्टि राम–जानकी बिबाह मण्डप छ । नेपाली मण्डप शैलीमा बनेको यो मण्डपमा राम–सीताको बिबाहमा आएको ऐतिहासिक झाँकी र देवदेवी एवं महर्षि गणहरूको सुन्दर मूर्तिहरू स्थापित गरिएको छ । मण्डप परिसरमा भव्य पुष्प उद्यान रहेको छ ।
जानकी मन्दिर पूर्वतर्फ श्रीराम मन्दिर छ । लक्ष्मी–नारायण ईश्वरका दशै अवतारका मूर्तिहरू, हनुमान मन्दिर, देवी मन्दिर, लक्ष्मण मन्दिर, जनक मन्दिर, दशरथ मन्दिर, संकट मोचन, रत्न सागरक्षेत्र र जनकपुरको पवित्र तलाउ हेर्न लायक छन् । राम मन्दिरदेखि पूर्वपट्टि राम्रा दुई तलाउहरू छन् । यिनलाई धनुष सागर र गंगा सागर भनिन्छ । अघि महर्षि वशिष्ठबाट श्राप प्राप्त गरेका राजा निमिका सन्तान थिएनन् ।
सन्तति नभएका राजाको शरीर मन्थन गर्दा मिथि नामक एक बालक पैदा भए । मिथि नामक बालकको नामबाट त्यो क्षेत्र मिथिला रहने भयो । याज्ञबल्क्य आदि अन्य गुरुहरूले मन्थन गरेको र मृत शरीर मन्थन गर्दाको प्रायश्चितबाट उनीहरू शुद्ध हुनु पर्ने थियो । महर्षि, मुनिहरूलाई ब्रह्माण्डमा रहेका सम्पूर्ण तीर्थक्षेत्रहरूलाई त्यहाँ आवाह्न गरियो । गङ्गा आदि पुण्य नदीहरू, सम्पूर्ण समुद्रहरू, सारा तीर्थक्षेत्रहरूको अंश स्वरूप गङ्गासागरको रूपमा यसक्षेत्रमा आएर रहने भए । यहीँ स्नान गरेर ऋषि मुनिहरू आफू शुद्ध भए ।
अहिलेसम्म पनि आफ्नो पापको प्रायश्चित गर्न चाहनेहरू त्यहाँ स्नान गर्न जान्छन् । तलाउको वरिपरि घाटहरू छन् । राम जानकी क्षेत्र जनकपुरमा सदैव मेला लाग्ने गर्छ । तर पनि चैत्र शुक्लनवमीमा विशेष मेला लाग्छ । ‘श्रीरामजन्मोत्सव’ को रूपमा मनाइने रामनवमी पर्वमा यहाँ देश परदेशबाट दर्शनार्थीहरू भगवान्को दर्शन गर्न आउँछन् । त्यस्तै वैशाख शुक्ल नवमीका दिन जानकीको उदय भएको यस दिन भक्त जनहरूले विशेष उत्सवको रूपमा मनाउँछन् । भजन, कीर्तन, कथा वाचन, गीत नृत्य गरी विशेषरूपमा मनाइन्छ यो पर्व । यस्तो क्षेत्र हाम्रो भूमिमा हुनु, हाम्रो देशको गौरव हो, त्यसैले त यो देश मुक्तिक्षेत्र हो । आफैले आफ्नो महत्व नबुझ्नु हाम्रै कमजोरी हो ।