काठमाडौं । एक हजार दरका ४३ करोड थान बैंक नोट छाप्ने जिम्मा नेपाल राष्ट्र बैंकले भारतीय सरकारी कम्पनीलाई दिएको छ ।
भारत सरकारको स्वामित्व रहेको भारत प्रतिभूति मुद्रण तथा मुद्रा निर्माण निगम लिमिटेडलाई नोट छपाइका लागि ठेक्का दिन लागिएको हो । राष्ट्र बैंकले बुधबार उक्त ठेक्का सम्झौता गर्नेसम्बन्धी आशयपत्र जारी गरेको छ ।
एक हजार दरका ४३ करोड थान नोटको डिजाइन, छपाइ र ढुवानीको काम भारतीय कम्पनीले नै गर्नेछ । यसका लागि उसले एक करोड ११ लाख ३४ हजार पाँच सय छ अमेरिकी डलर (बुधबारको विदेशी विनिमय दर अनुसार रु एक अर्ब ४५ करोड ८६ लाख २० हजार) बराबर कबोलेको थियो ।
नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले गत सेप्टेम्बरमा अन्तर्राष्ट्रिय बोलकबोल प्रतिस्पर्धाबाट कम्पनी छनोटका लागि ठेक्का प्रस्ताव आह्वान गरेको थियो । त्यसमा ब्राजिल, चीन र फ्रान्सका कम्पनीले पनि प्रस्ताव हालेका थिए तर आर्थिक र प्राविधिकरूपमा उपयुक्त रहेको भन्दै भारतीय कम्पनी छनोटमा परेको हो ।