काठमाडौं । पोर्चुगलका फरवार्ड खेलाडी क्रिस्टियानो रोनाल्डोले घानाविरुद्ध जुन तरिकाबाट पेनाल्टीको अवसर सिर्जना गरे, सो क्षमतालाई फुटबलको सर्वोच्च निकाय फिफाले ‘टोटल जिनियस’ भनेको छ ।
पेनाल्टीमा गोल गरेपछि रोनाल्डो पाँच फरक फिफा विश्वकपमा गोल गर्ने पहिलो व्यक्ति बने । उक्त खेलमा पोर्चुगल ३–२ ले विजयी भएको थियो । पेनाल्टी अवसर दिएकामा घानाका प्रशिक्षक ओटो एडो रेफ्री स्माइल इल्फातसँग आक्रोशित बनेका थिए । उनले त्यो ‘पेनाल्टी नभएको’ जिकिर गरेका छन् ।
दोहामा आयोजित एक ‘ब्रिफिङ’मा फिफा प्राविधिक अध्ययन समूहका सदस्य सनडे ओलिसेले स्ट्राइकरहरू ‘चतुर हुँदै गएको’ बताए । पूर्वआर्सनल प्रबन्धक आर्सेन वेंगरको नेतृत्वमा रहेको टीएसजीले प्रत्येक खेल हेर्छ र खेलाडीले गरेको प्रदर्शनको तथ्यांक र प्रवृत्तिसहित विश्लेषण गर्छ । प्रतियोगितामा २४ खेल सकिँदा १० पेनाल्टी प्रहार भएको छ । योपटक गत संस्करणको कीर्तिमान तोडिने संकेत देखिएको छ । रुसमा सम्पन्न विश्वकपको समूह चरणमा २४ पेनाल्टी प्रहार भएको थियो ।
कतारमा पोल्यान्डका रोबर्ट लेवानडोवस्की, क्यानडाका अल्फान्सो ड्याभिस र साउदी अरबका सलिम अल–दसरीले पेनाल्टीमा गोल गर्न सकेनन् । बाँकी सात प्रहार गोलमा परिणत भए ।
त्यसमध्ये रोनाल्डाको गोल केही विवादित बनेको छ । घानाका रक्षक मोमम्मद सालिसुले रोनाल्डोलाई फाउल गरेको भन्दै पेनाल्टी दिइएको हो । तर, इंग्ल्यान्डका पूर्वरक्षक म्याट उप्सनले बीबीसी रेडियो–५ मा रोनाल्डोले ‘डाइभ’ गरेको भनेका छन् । घानाका प्रशिक्षक एडोले खेलपछिको पत्रकार सम्मेलनमा रेफ्रीप्रति आक्रोश पोखे ।
उनले भने, “रेफ्रीले दिएको पेनाल्टी पेनाल्टी थिएन, सबैले त्यो देखेका छन् । किन ? किनकि, त्यहाँ रोनाल्डो भएर वा अरू कुनै कारण ? रेफ्री हाम्रो पक्षमा भएन ।”
‘सायद स्ट्राइकरहरू चलाख हुँदै छन्’ ओलिसेले भने, “रोनाल्डोको हकमा त्यो अन्तिम सेकेन्डसम्म कुर्नु, बललाई हान्ने खुट्टालाई जारी राख्नु र त्यसपछि विपक्षी खेलाडीले फाउल गर्नु । त्यो रोनाल्डोको चलाखी हो । टोटल जिनियस हो । स्ट्राइकरहरू स्मार्ट बनेकामा प्रशंसा गरौँ । भीएआर पनि धेरै पेनाल्टी दिइनुको प्रमुख कारण हो । रेफ्रीहरूले यसलाई तीन वा चारपटकसम्म हेर्न सक्छन् ।”