सुरूकै अवस्थामा उत्साहजनक मत प्राप्त गरेपछि सबैको ध्यान विजयी स्वतन्त्र उम्मेदवार तथा स्वतन्त्र पार्टीतिर तानिएको छ । सबैले स्वतन्त्रले ‘केही गर्ला कि’ भन्ने अपेक्षा पनि गरिरहेको देखिन्छ ।
अर्कोतिर गठबन्धन र तालमेलका दुवै ‘हात्तीहरू’ले स्वतन्त्र केही पनि होइनन् भनिरहेका र उनीहरूको उछित्तो काढिरहेका पनि देखिन्छन् । सामाजिक सञ्जालमा इष्र्यालु अभिव्यक्तिहरूले स्थान पनि पाइरहेका छन् ।
तथापि एउटा प्रश्न भने देखापरिहेको छ । त्यो हो, स्वतन्त्र अहिलेका काम गरिखान नसकेका पार्टीहरूका विरूद्ध रिस फेर्ने ‘औजार’ वा ‘अस्त्र’ मात्र होला कि यसले अरू केही गरेर ‘दिन’ र ‘देखाउन’ पनि सक्ला !
यो अबका दिनमा स्वतन्त्रका लागि एक यक्ष प्रश्न पनि हो । यो प्रश्न पार गर्न नसकेमा स्वतन्त्रको पनि हालत उही असफल नृता र तिनका पार्टीजस्तो हुने छ । यो आफैमा दुखद त हुने नै छ, त्यसमा यसले थप निराशा पनि जन्माउने छ ।
विफल र असफलका स्थानमा सापेक्ष सफल र योग्यको खोजी जनस्तरबाट हुनु नराम्रो होइन । यो निकै राम्रो कुरा हो । अयोग्य र अज्ञानीहरूको जाँतोमुनि पिधिइरहन भन्दा सापेक्ष उन्मुक्तिको चाहना जनसाधरणको इच्छा मात्र नभएर अधिकारको कुरा पनि हो ।
हाल नेपालमा नेपाली काँग्रेसको प्रजातान्त्रिक समाजवाद, एमालेको बहुदलीय जनवाद र माओवादीको नौलो जनवाद तीनबटै विचार, नीति तथा कार्यक्रमले सफलता प्रााप्त गर्न सकेनन् । सापेक्षतामा ती विचार, नीति तथा कार्यक्रम कार्यान्वयन हुन पनि सकेनन् ।
यसको दोष ती विचार, नीति तथा कार्यक्रम बोकेर जनताका बीचमा भट्याउँदै हिँडिरहेका शीर्ष भनिने नेताहरूको थाप्लोमा जान्छ । यिनै नेताहहरूको अज्ञानता र असक्षमताका कारण नेपाल र नेपालीले अहिलेको यो हालत बेहोरिरहेका छन् ।
स्थिति त यति भयावह बनिसकेको छ कि जनताले दल, दलीय पद्धति र कार्यक्रमका विरूद्धमा स्वतन्त्र उम्मेदवार तथा पार्टीहरू छनौट गर्ने प्रक्रियालाई व्यवहारतः आत्मसात् गर्न थालिसकेका छन् । पत्रकार रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको उत्साहजनक उदयका पछाडि यही कारणले काम गरेको छ ।
नयाँ स्वतन्त्र पार्टी त उदायो, यो प्रतिशोध र विकिल्प विहीनताका कारण उदायो वा यसलाई पुराना र नाकाम पार्टीविरूद्ध जनताले ब्यालेट बक्समार्फत् आवेश अभिव्यक्त गर्दा अनपेक्षित उदाउन पुग्यो ? यो केवल अनुमानको विषय मात्र हुन नपुग्ला !
कुनै सरकार वा शासन व्यवस्थाको विकल्प भनेको त्यो भन्दा अग्रगामी, उत्तम र वैज्ञानिक सरकार र शासन व्यवस्था नै हो । व्यवस्था र सरकारको विकल्प अवश्य पनि कुनै प्रणाली विहीन सोच र कार्यक्रम हुन सक्दैन । त्यसैले पनि स्वतन्त्र पार्टीको सरकार र प्रणालीसहितको विचार, नीति तथा कार्यक्रम अबका दिनमा जनस्तरबाट हुन गइरहेको माग हुने छ ।
त्यसो होइन र स्वतन्त्रहरूले साँचो विकल्प दिन सकेनन् भने अहिलेको स्वतन्त्रको पक्षमा परेको जनमत केवल पुराना र असक्षम पार्टी तथा तिनका नेताहरू विरूद्ध आवेशमा हानिएको झटारो मात्र साबित हुन पुग्ने छन् ।
उता ‘रातभरि रूँग्यो, … त जीउँदै’ भने झैं तिनै नाकाम र असफल पार्टीहरू नै जनताका बाध्यात्मक रोजाइमा पर्ने छन् । नेपाल र नेपालीका लागि यो नै नियमित आकस्मिकताका आउने जाने गरिरहने दुखद विरासत हो ।
यसका लागि सिंगो खाकासहितको सोच स्वतन्त्रहरूबाट आउनु जरूरी छ । राजनीतिक वृत्तमा ‘स्वतन्त्र कुनै पनि प्रणालीका विकल्प हुन सक्दैनन्’ भनेर बहस पनि चलिसकेको छ । यसको अर्थ पुराना दल र तिनका नेताहरूले जनताका इच्छा र आकांक्षा पूरा गर्छन् र गर्ने सामर्थ्य राख्छन् भन्ने पनि छैन ।
अहिले पनि जबर्जस्त विकल्पको माग सडकमै अलपत्र छ । समयको माग र नेपाली समाजको विशिष्टता अनुरूप यसको पहिचान र कलात्मक कार्यान्वयन कसले गर्न सक्छ, उही नै वास्तविक विकल्प बन्ने देखिन्छ ।