• मंसिर ११ २०८१, मंगलवार

परिवारवाद त्याग, देशलाई अङ्गाल !

मंसिर ७ २०७९, बुधबार

नेताको स्वार्थ केन्द्रित राजनीतिले राष्ट्रको गरिमा खस्काइरहेको छ । वास्तवमा सत्ता परिवर्तन सँगसँगै राजनीतिक नियुक्ति गर्ने परिपाटी सामान्य हो । सत्ता सञ्चालक एवम् सरकारलाई नै आवश्यक सहयोग पुर्‍याउन सक्ने योग्य, सक्षम र दक्ष व्यक्तिलाई राजनीतिक नियुक्ति गरिए राम्रो हुने थियो ।

त्यस्ता व्यक्तिले केही हदसम्म राज्य प्रशासन र राजनीतिक पदाधिकारीकै कामकार्यमा सकारात्मक सहयोग पुर्‍याउँछन् भन्ने अपेक्षा गरिएको हुन्छ । राष्ट्रको विविध क्षेत्रमा प्रसिद्धि कमाएका विषयविज्ञहरूले पनि आफ्नो प्रतिष्ठा बन्धकमा राखी व्यक्ति रिझाउने संकुचित कार्य गर्दैनन् भन्ने विश्वास गरिएको हुन्छ ।

यसैले यसरी गरिने राजनीतिक नियुक्ति केबल आफन्तलाई रोजगारी दिलाउनकै लागि मात्र होइन, आवश्यकतामा आधारित क्षमतावान् व्यक्तिलाई गरिनुपर्दछ । तर वर्तमान सरकारको विगतको राजनीतिक नियुक्ति यो स्तरको छैन ।

रोजगारीकै लागि आफन्त छान्ने उद्देश्यमै मात्र सीमित रहेको, छनोट भएका अधिकांश शक्तिको असक्षमताले बताउँछ । क्षमताहीन व्यक्तिबाट राज्यले के अपेक्षा गर्ने ? आफ्नै पदीय गरिमासम्म नबुझ्नेले राज्यको सेवासुविधा उपयोग गरी नियुक्तिदाताकै चाकडीलाई सर्वोपरि ठान्दछन् ।

नेताहरूका यस्तै परिवारवादी फितला कामकार्यले अन्तर्राष्ट्रिय जगतमै राष्ट्रको गरिमा घटाउँदै लगिरहेको छ । राजनीतिक नियुक्तिमा पर्ने सत्तरी प्रतिशतभन्दा माथिका व्यक्तिहरूले आफन्तमार्फत् रोजगारीकै लागि नियुक्ति पाएका छन् ।

यो नेताबाट भएको सत्ताशक्तिको दुरुपयोग हो । हाम्रो मुलुकको सन्दर्भमा दलीय परिधिभन्दा माथि उठी दीर्घकालीन स्थिर राष्ट्रिय नीति तय गर्न नेता नै चाहँदैनन् । यसो गरिए आफ्नो स्वार्थमा कुठाराघात हुन्छ भन्ने नेताको संकुचित दृष्टिकोण छ ।

राष्ट्रिय राजनीतिका निर्णायक तहमै रहेका प्रभावशाली दलकै शीर्षस्थ नेताहरू यही कारणले स्थिर राष्ट्रिय नीतिको विपक्षमा देखिन्छन् । स्थिर दीर्घकालीन राष्ट्रिय नीति राज्य सञ्चालनको आधारस्तम्भ मानिन्छ ।

यसले दल हेरफेर भए पनि सत्ता भने स्थिर दीर्घकालीन नीतिले देखाएकै बाटोमा हिँड्न बाध्य हुनुपर्दछ । यो अवस्था आए राज्यमा शीर्षस्थ नेताको स्वेच्छाचारिता हावी हुन पाउँदैन । राज्य पनि विधिवतै सञ्चालन हुन्छ ।

दीर्घकालीन स्थिर राष्ट्रिय नीति सर्वदलीय सहमतिबाटै निर्माण गरिने भएकाले सत्ता फेरबदल हुँदा राज्यको स्थिर नीति छोडेर हेरफेर नहुने भएकाले नेताहरूले यसैलाई पछ्याउन बाध्य हुनै पर्दछ ।

तथापि हाम्रा नेताको राज्य सुधार्ने होइन, परिवार र नाता सम्बन्धकै व्यक्तिकै जीवनस्तर उकास्ने राजनीतिक उद्देश्य भएकाले आफ्नै उद्देश्यको बाधक स्थिर नीति तय नहोस् भन्ने उनीहरूको चाहना देखिन्छ ।

त्यस्तो अवस्थामा आफ्नै महत्व घट्ने उनीहरू ठान्छन् । दीर्घकालीन स्थिर नीति नभएपछि नेताहरू लगाम बेगरको घोडा जस्तै बहकिन पाउँछन् । यत्रतत्र सर्वत्र स्वेच्छाचारिता हाबी गराउन मार्ग प्रशस्त भएको ठान्छन् । कानुन हातमा लिएर स्वेच्छाचारी कार्य गर्न स्वतन्त्र भएको महसुस गर्दछन् ।

पछिल्लो समयमा हाबी हुँदै आएको स्वार्थको प्रतिस्पर्धाले राष्ट्रिय राजनीतिलाई सीमित परिधिभित्रै संकुचित गराएको छ । संकुचित राजनीति अन्तर्राष्ट्रिय मापदण्डभित्र नपर्ने भएकाले आन्तरिक कलह र खिचातानीमै सीमित हुन्छ ।

यस्तो राजनीतिक गतिविधिले राष्ट्रिय राजनीतिमै खलल ल्याउने भएकाले त्यसको नकारात्मक असर सोझै अन्तर्राष्ट्रिय जगतमा पर्दछ । यसले अप्रत्यक्ष रूपमा राष्ट्रिय प्रतिष्ठा खस्काउँछ । दूषित दलीय स्वार्थ कहिल्यै पनि अन्तर्राष्ट्रिय मापदण्डभित्र पुग्न सक्दैन ।

यो अवस्थामा अन्तर्राष्ट्रिय जगत नै आन्तरिक राजनीतिक प्रतिस्पर्धामै ध्रुवीकृत हुन सक्छन् । राष्ट्रिय राजनीति संगठित नहुँदा, शीर्षस्थ नेताहरू नै विदेशी शक्तिको शरणमा पुग्छन् ।

विदेशी शक्ति आफ्नो पक्षमा पार्ने उद्देश्यको लविङले मुलुक कमजोर हुने मात्र होइन, विदेशीकै इशारामा चल्नुपर्ने अवस्था आइलाग्छ । यो अवस्था बढ्दै गए अन्ततः नेताहरू नै आफ्नो राज्य विदेशीकै चाहनाअनुसार चलाउन बाध्य बन्ने अवस्था सिर्जना हुने भएकाले स्वतन्त्र राज्यको अस्तित्व नै संकटमा पर्न सक्छ ।

घर बलियो हुन परिवारका सदस्यहरूबीच एकता हुनु आवश्यक छ । राष्ट्र बलियो हुन राष्ट्रिय राजनीतिक शक्तिहरूबीच एकता अपरिहार्य हुन्छ । आन्तरिक रूपमा राजनैतिक प्रतिस्पर्धा हुनु स्वाभाविक हो ।

तर राष्ट्रिय मुद्दाको सवालमा, विदेश नीतिका सन्दर्भमा, राष्ट्रिय सुरक्षाको सवालमा, अन्तर्राष्ट्रिय सन्धि सम्झौताको सवालमा र सीमा रक्षाको सवालमा राज्यका सम्पूर्ण राजनीतिक शक्तिहरू एक हुनुपर्दछ । यो अवस्थामा हुने हरेक कामकार्य राष्ट्रहित अनुकुल हुन्छ । दलीय स्वार्थ गौण हुने भएकाले राष्ट्रिय स्वार्थ सबैको प्रतिष्ठाको विषय बन्छ ।

तर प्रभावशाली दलकै शीर्षस्थ नेताले सत्ता जोगाउन र वैचारिक स्वार्थ सिद्ध गर्नकै लागि पनि विदेशी शक्तिको शरणमा पुग्ने, प्रतिस्पर्धी र विरोधीलाई विदेशीमार्फत् नै तह लगाउने कार्यशैली अपनाउँदा राष्ट्रिय राजनीतिको कमजोर अवस्था आफैँ अन्तर्राष्ट्रिय जगतसामु उदाङ्ग हुन्छ ।

यो अवस्थामा देखापर्नु भनेको नेतृत्व कमजोर मात्र होइन, राष्ट्र कमजोर भएको संकेत हो । पछिल्लो समयमा राष्ट्रको गरिमा ह्रास हुनुको प्रमुख कारण यही हो ।