• मंसिर ११ २०८१, मंगलवार

टालाटुली बटुलेर पुतली बनाउने काम छोडलान् दलहरूले ?

मंसिर ५ २०७९, सोमबार

सबैको सामान्य आँकलन हो, अबको मत परिणाम अनुसार आगामी सरकार बन्ने छ । तर मत परिणाम कस्तो आउला ? यो कुरा मतगणनापूर्व अनुमानमा सिमित रहने छ ।

तथापि मतपरिणाम मिश्रत हुनेमा भने आशंका छैन । चर्चा स्वतन्त्रहरूको भए पनि मत परिणाम राजनीतिक दलहरूकै पोल्टामा पर्ने छ । उनीहरूको देशभर ‘बाध्यात्मक पकड’ छ । स्वतन्त्र देशभर छैनन् ।

मिश्रित परिणाम आउने र फेरि पनि राजनीतिक दलहरूकै पल्ला भारी हुने भएमा यी दलहरू पुनः पुतली खेलाउने काम त गर्दैनन् ? यो प्रश्न गम्भीर बनेर ‘ज्युँका त्युँ’ रहेको छ ।

जनतामा विश्वास छैन कि राजनीतिक दलका नेताहरू सुध्रने छन् । उनीहरूले राम्रो काम गर्ने छन् । किनकि उनीहरूमा सुध्रनै नसक्ने गरी विचलन आइसकेको छ ।

सत्ताको मात र ढुकुटीमा हात रहिरहेको छ । आचरण र व्यवहार लाजमर्दो छ । त्यसैले पनि सबैभन्दा बढी मत लिने पार्टी वा पक्षलाई एक्ल्याएर ‘टालाटुली बटुली, कति राम्री पुतली’ बनाउने खेलमा त लाग्दैनन् !

यसो गरेर जनमतको उपेक्षा गर्न दुस्साहस गरेमा नेपालमा फेरि दुर्घटना निम्तने कुरा कसैले पनि रोक्न सक्दैन । दलका फोहरी खेल प्रजातान्त्रिक प्रक्रियाका लागि पनि कुनै पनि मूल्यमा राम्रो मानिदैन ।

यसो गर्दा वर्तमान राजनीतिक प्रणालीकै विरूद्ध जनमत सिर्जना हुन पुग्ने देखिन्छ । यस पालाको जनमत ‘आँधी आउनुपूर्वको सन्नाटा’ जस्तै हो । हरेक १०–१५ वर्षका बीचमा हुने उथलपुथलको समय पनि नेपालमा आइसकेको छ ।

यदि मिश्रित मतपरिणाम आउने र सत्ता समीकरणका लागि पुनः विगतकै खेल सुरू हुने हो भने आम मतदाता ‘ब्यालेट बिद्रोह’मा उत्रने देखिन्छ । यसले ‘बुलेट विद्रोह’ भन्दा खतरनाक र भयानक मोड लिने देखिन्छ ।

स्थानीय निर्वाचनमा जनताद्वारा गरिएको ‘भद्र विद्रोह’ को संकेतको सम्मान राजनीतिक दलहरूले गर्न सकेका छैनन् । अहिले पनि यो कुरामा नजरअन्दाज गयिो भने यो जनभावनाको प्रतिकूल ठहरिनेछ ।

उसो त जनताले अहिले पनि रमाएर मत खसालिरहेका छैनन् । निर्वाचन जनताका लागि पर्व वा उत्सव हुन सकिरहेको छैन । यस्तो बेलामा जनमतको जे जसरी धज्जी उडाए पनि हुन्छ भन्ने राजनीतिक दलहरूलाई नपरोस् ।

राजनीतिक दलको विकल्प स्वतन्त्र हुन सक्दैनन् । तर व्यवस्था विरूद्ध विदेह त हुन सक्छ । यसलाई ख्याल गर्नु दल र तिनका शीर्ष नेताहरूको विवेकको कुरा हो । ‘अ लिटल नलेज इज अ डेन्जरस थिङ’ नबनोस् !