• मंसिर ११ २०८१, मंगलवार

शिरोधार्य गर जनादेश

मंसिर ५ २०७९, सोमबार

केही छिटपुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न भएको छ । अबको चासो भनेको मतगणना निष्पक्ष तवरबाट गरियोस् भन्ने हो । विगतबाट सिकेर आयोगले मतगणनास्थलमा तारजाली र सिसिटिभीको व्यवस्था गरेको देखिन्छ ।

मंसिर ७ गतेसम्म प्रत्यक्षतर्फ र मंसिर १२ गतेसम्म समानुपातिकतर्फको मतपत्र गणना गरिसक्ने कार्यतालिका निर्वाचन आयोगको रहेको छ । आयोगले निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन मंसिर २२ गतेसम्म राष्ट्रपति कार्यालयमा बुुझाइसक्ने जनाएको छ ।

यति काम समयमै सम्पन्न हुन सकेमा मंसिरको अन्तिम सातासम्म प्रतिनिधि सभाको अधिवेशन बोलाइने र आगामी पुसको पहिलो साताभित्र देशले नयाँ सरकार पाउने देखिन्छ ।

देशले संघीय गणतान्त्रिक राज्य व्यवस्था अँगालेपछि हामीकहाँ दुईपटक संसदीय चुनाव सम्पन्न भएको छ । देश संघीय संरचनामा गैसकेपछि संघीयताका हिसाबले हिजोसमेत प्रदेशसभाका निम्ति दोस्रोपटक मतदान सम्पन्न भएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न यो निर्वाचनले आफैंमा विशिष्ट महत्व बोकेको छ । लोकतन्त्रको मूल आधारस्तम्भ भनेकै आवधिक निर्वाचन हो । यसमा क्रमभंगता वाञ्छनीय हुँदैन ।

आवधिक निर्वाच मार्फत् पाँचवर्षका लागि ‘शासन गर्नेहरूलाई आफैं छान्ने’ काम सकिएको छ । यो निर्वाचनले दिने परिणाम स्वीकार गरेर आगामी पाँच वर्षका लागि बहुमत प्राप्त दलले सरकार हाँक्न सक्नुपर्छ ।

प्रतिपक्षी पनि धैर्यताका साथ पाँच वर्ष कुर्नैपर्छ । निर्वाचनको सार्थकता यसैमा छ । अबको प्रतिनिधि सभाले विना विवाद पाँचवर्षे कार्यकाल व्यतित गर्न पाउनुपर्छ । जनताको अभिमत सम्मान गर्नु राजनीतिक दलको मुख्य दायित्व हो ।

राजनीतिक दलमा देखिएको विचलनका कारण उब्जेको वितृष्णाको परिणाम केही स्वतन्त्रहरू पनि देखिए । तर राजनीतिक दलको विकल्प सुधारिएको दल हुनसक्ला स्वतन्त्र उम्मेद्वार हुन सक्दैनन् ।

राजनीतिक दलप्रतिको वितृष्णाको उपज भने यी स्वतन्त्रहरू अवश्य हुन् तर दलकै पर्याय होइनन् । यसकारण अब आउने मतपरिणामको सम्मान गर्दै आगामी कार्यकालमा सुध्रिएर जानुको विकल्प कुनै पनि राजनीतिक दलसँग छैन ।

यदि आगतमा पनि दलहरूको रबैया विगतजस्तै रह्यो भने अर्को पाँचवर्षभित्र स्वतन्त्रहरूको वर्चस्व हुने गरी संसदको संरचना बदलिन पनि बेर हुने छैन । यसैले बेलैमा राजनीतिक दलहरूले हेक्का राखून् ।

यस पटक निर्वाचनको बेला मत बाँडियो । एकाघरमा बसेकाहरूको पनि रोजाइ फरक फरक चिन्हमा भयो । लोकतन्त्रको सुन्दरता आखिर यसैमा देखिन्छ ।

पार्टीभित्र मत बाँडिने क्रममा एकापासमा भनाभन मात्र भएन, आरोप प्रत्यारोपसमेत गरिए । विगतमा पनि पदबहाली भैसकेको अवस्थामा परिणाम उल्टिएका नजीरहरू स्थापित भैसकेको हुँदा अब त्यतातर्फ चिन्तन जरूरी छैन ।

अबको चासो कम्तीमा पनि मत परिणामका आधारमा मुलुकमा स्थिर सरकार बनोस भन्ने हो । जनादेशको प्रतिकुल हुने गरी आगामी पाँचवर्षसम्म कुनै पनि राजनीतिक दल र तिनका सदस्यहरूले काम नगरून भन्ने हो ।

राजनीतिक इमान र नैतिकताको न्यूनतम मूल्य कायम हुन सकेन भने लोकतन्त्र बाँच्दैन । जनमतको कदर पनि हुँदैन । विगतका वर्षमा जे देखियो, त्यसको पुनरावृत्ति आगामी दिनमा नहोस्, आममतदाताको चाहना यही हो ।