• असार २० २०८१, बुधबार

होलान् निर्वाचनमार्फत् विकासका एजेण्डा अनुमोदन ?

मंसिर ४ २०७९, आईतवार

विकास बहुआयमिक हुन्छ । राजनीतिकरूपमा विकासलाई स्वतन्त्रतासँग विश्लेषण गरिन्छ । निर्वाचनमा नेताको छनोटदेखि आवश्यकता र रुचिअनुरूप वस्तुसेवाको छनोट गर्ने स्वतन्त्रतालाई यसमा समेटिन्छ ।

स्वतन्त्रता उपभोग गर्न व्यक्ति सक्षम हुनुपर्ने भएकै कारण व्यक्ति अर्थात् मानव संसाधनको विकास अनिवार्य मानिन्छ । सामाजिक विकासमा सामाजिक न्यायको प्रर्वद्धन र वर्गीय, क्षेत्रीय, लैंगिक तथा जातीय असमानता र सामाजिक भेदभावको अन्त्यलाई समेटिएको हुन्छ ।

सांस्कृतिक विकास मूलतः मानिसको आस्थासँग जोडिएको हुन्छ । सांस्कृतिक विकासलाई अलग्याएर गरिएको विकास दिगो र खुसीप्रद हुँदैन ।
निर्वाचन परिवर्तनको संवाहक हो । यथास्थितिबाट नवीन परिवेशमा पुग्नु हो । नागरिकले आफ्नो चाहनाबमोजिम परिवर्तनका लागि मतदान गर्नुपर्छ ।

अहिले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको चुनाव प्रचारप्रसारको दौरान जनताले उम्मेदवारसँग बाटो बनाइदिने बाचा होइन, परिणाम मागे । खेती गर्ने बेला सिँचाइको सुनिश्चितता खोजे ।

बिरामी परेको बेलामा उपचार हुने ग्यारेन्टीको माग गरे । राजनीतिक दलले जनतासामु पटक पटक तिलस्मी घोषणापत्र देखाएर छल गरिरहे पनि आफ्नो आस्था र विश्वासको धर्म निर्वाह गर्दै जनताले भोट पनि दिइरहे ।

निर्वाचन सकिने बित्तिकै जनताका आवश्यकता र चाहनालाई एउटा कुनामा फालेर आफ्नो स्वार्थका लागि राजनीतिक दाउपेचको घृणित खेल खेलिरहे । विकास बिर्सिए । जनता बिर्सिए । यथास्थितिमा रमाए ।

विकासको गतिवर्धक तत्व लगानी हो । श्रम, पुँजी र प्राकृतिक स्रोत विकासका लागि लगानीका प्रमुख स्रोतहरू हुन् । प्रकृति र मानव जीवनबीच अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ ।

आधुनिक समाजमा विकास मानव कल्याणका लागि हुनुपर्छ भन्ने माग उठ्यो । उदारवादी र नियोजित विकास मोडेलका प्रणेताहरू जनकल्याणलाई अँगाल्न पुगे ।

‘टप डाउन’ विकासको ठाउँ ‘बटम अप’ मोडलले लियो । सरकारका केन्द्रिकृत क्रियाकलापलाई जनताको घरदैलोसम्म पु¥याउन विकेन्द्रीकरणको अभ्यास हुन थाल्यो र विकेन्द्रीकरण विकासको मियो बन्न पुग्यो ।

जनता आफ्नो विकास आफैं गर्न अग्रसर भए । विकास जनताका लागि हो भन्ने अवधारणाको उजागरले जनतालाई उत्प्रेरित ग¥यो । विकास मानव केन्द्रित हुनुपर्छ भन्ने मान्यताले विकासलाई जनताको नजिक पुग्न सम्भव बनायो ।

विकासको अर्थ व्यापक बहुआयमिक बन्दै गएको छ । यसकारण वर्तमान समयमा विकास र समृद्धि राजनीतिक र आर्थिक स्वतन्त्रताको योगका रूपमा स्थापित भएको छ ।

अबको विकास आर्थिक रूपमा जनताको जीवनस्तर उकास्नुका साथसाथै जनताको सामाजिक सांस्कृतिक तथा आध्यात्मिक खुसी अभिवृद्धि गर्न समेत केन्द्रित हुनुपर्छ भन्ने मत स्थापित भएको छ ।

विकासस्तर सुशासन, कुल गार्हस्थ्य उत्पादन, प्रतिव्यक्ति आय, जीवनस्तरको साथसाथै जनताको खुसीको स्तरमा समेत नाप्न थालिएकाले ‘खुसीपूर्ण विकास समृद्धि हो’ भन्ने मान्यता विकास भएको छ ।

स्वतन्त्र र निष्पक्ष निर्वाचन आफ्नो प्रतिनिधि छान्ने नागरिकको संवैधानिक अधिकार हो भने आवधिक निर्वाचन प्रणालीले देशको राजनीतिक सत्ता परिवर्तन गर्दछ । विकासको एजेन्डा छनोट गर्छ ।

जनताले आफ्नो आवाज र विचार मुखरित गर्ने तथा आफ्नो विचार र प्राथमिकतासँग मेल खाने प्रतिनिधि छनोट गर्ने अवसर हो, निर्वाचन । जनताले सक्षम नेतृत्व चयन गर्नुपर्छ । जसले देश र जनताको हितमा काम गर्न सक्दछ ।

निर्वाचित सत्तारूढ दल वा प्रतिनिधिले जनताको अपेक्षाअनुरूप काम गर्न नसकेमा जनताले निर्वाचनमा उम्मेदवार वा राजनीतिक दललाई पुनः निर्वाचित गर्दैनन् ।

अर्को उम्मेदवार वा राजनीतिक दल विजयी हुन्छ र सत्ता परिवर्तन हुन्छ । यसकारण निर्वाचनलाई शान्तिपूर्ण सत्ता परिवर्तनको वाहक भनिएको हो । प्रजातान्त्रिक शासन प्रणालीमा स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको भूमिका महत्वपूर्ण मानिन्छ ।

स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनले मतदाताका लागि योग्य तथा विकास एजेन्डा हेरेर प्रतिनिधि छनोट गर्ने शान्तिपूर्ण वातावरण निर्माण गर्दछ ।

जनताले विकास एजेन्डा हेरर प्रतिनिधि चयन नगर्ने र अन्धभक्तिमा सधैं एउटै व्यक्ति वा राजनीतिक दललाई मतदान गरिहने हो भने हाम्रो देशमा अर्को ५० वर्षसम्म पनि विकास र समृद्धि प्राप्त हुँदैन ।

यसकारण निर्वाचनले उपलब्ध गराएको परिवर्तन गर्ने अवसरको मतदाताले भरपुर उपयोग गर्नुपर्छ । विकसित देशको निर्वाचनमा देश र जनताका आवश्यकता र ती आवश्यकताको परिपूर्तिका विषयमा राजनीतिक दलबीच प्रत्यक्ष वहस हुन्छ ।

विकास एजेन्डा हेरेर मतदान गर्न मतदाता स्वतन्त्र र सक्षम छन् । हामी कहाँ जनताका सवालमा राजनीतिक दल छलफल गर्दैनन् । उनीहरूलाई आफ्नो विरासत जोगाउने मात्र चिन्ता हुन्छ ।