• भाद्र २६ २०८१, बुधबार

विवेक प्रयोग गरौं !

मंसिर ४ २०७९, आईतवार

आज मंसिर ४ गते, आइतबार ! देशभरका एक करोड ८९ लाख ८८ हजार ५७० जनाले बिहान ७.० बजेदेखि मतदान गरिरहेका छन् । यो आवधिक निर्वाचन भए पनि यसको प्रकृति आमनिर्वाचनको रहेको छ ।

संघीय प्रतिनिधिसभा र प्रदेशसभाका जनप्रतिनिधिहरू यही मतदानबाट निर्वाचित हुँदै छन् । आजको दिनमा मतदानद्वारा जनताले गर्दै गरेको दूरगामी निर्णयले आगामी पाँच वर्षसम्म नेपाल र नेपालीको भविष्य निर्धारण गर्नेछ ।

त्यसैले यो पर्व र गर्वको दिन पनि हो । तर विचार पुर्‍याउन नसके यो चुनौती निम्त्याउने दिन पनि हो । किनकि, अधिकारको अख्तियारी संविधानतः सुम्पने भनेको चानचुने कुरा होइन ।

त्यो भन्दा पनि खुसीको कुरा त के हो भने आजको दिन सार्वभौमसत्ता सम्पन्न जनताले आफ्ना सच्चा प्रतिनिधि चयन गर्ने दिन हो । साथै, यो दिन जनताले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्ने दिन पनि हो ।

प्रजातान्त्रिक मूल्यमान्यताका हिसाबले यो दिन भनेको जनतामा निहित सार्वभौमसत्ताको सर्वोच्च व्यवहारिक प्रयोग गर्ने दिन पनि हो । यस अर्थमा यो आवधिक रणनीतिक महत्वको दिन हो ।

यसका लागि विभिन्न राजनीतिक दलका उम्मेदवारहरू मैदानमा खडा छन् । उनीहरू प्रतिस्पर्धामा छन् । यही प्रतिस्पर्धा मतदाताका लागि सार्वभौम अधिकार प्रयोगको सर्वोच्च अवसर बनेर आएको छ ।

जनताको सार्वभौम मत उम्मेदवारको प्रतिस्पर्धाका साथै पार्टीको समानुपातिक मतद्वारा अभिव्यक्त हुँदै छ । यस अर्थमा यो सामान्य निर्वाचन होइन ।

जनताको सार्वभौम मत पार्टी विचार र उम्मेदवारको प्रतिस्पर्धामा अभिव्यक्त हुँदैछ । यसमा विवेकको खाँचो छ । त्यसैले पनि वालिग मताधिकारको वास्तविक अर्थ यसैमा निहित छ ।

विचार फरक फरक छन् । चेतनास्तर फरक फरक छन् । तदनुसार बुझाइ पनि फरक फरक छ । कतै यो सगरमाथाभन्दा पनि गह्रुङ्गो देखा परिरहेको छ भने कतै चराको प्वाँखभन्दा पनि हलुङ्गो !

तर आम मतदाताको सुझबुझलाई कम वा बढी आँक्ने अधिकार कसैलाई पनि छैन । जनप्रतिनिधि समकालिन समाजको प्रतिविम्ब हुन् । जस्तो समाज छ, उस्तै प्रतिनिधि चयन हुने छन् ।

त्यसमा पनि अझ जुनखाले चेतनाको समाजमा हालीमुहाली छ, त्यही प्रकृतिका जनप्रतिनिधि निर्वाचित हुने छन् । मतदाताको मतद्वारा हुने अभिव्यक्तिलाई यसरी नै बुझ्नुपर्छ ।

मात्र यति भन्न सकिन्छ कि तुलनात्मक रूपमा असल उम्मेदवार छान्दा देश र जनताले कम दुःख पाउने छौं । यसको अर्थ हो, बढी राम्रा र उपयोगी कामहरू हुने छन् ।

मतदाता विचारले बाँधिएका छन्, पार्टीमा आवद्ध छन्, समाजमा बसेका छन् । साम, दाम दण्ड र भेदले पनि उनीहरूलाई प्रभावित पारिरहेको छ । पारिवारिक निर्णय पनि कम बोझिलो छैन !

तर पनि मतदाताहरू स्वतन्त्र छन् भन्ने मान्नु पर्छ । उनीहरूका लागि गोप्य मतदानको व्यवस्था गरिएको छ । तर उनीहरू स्वतन्त्र रूपमा सोच्न सक्छन् भनी ठोकुवा गर्न भने गाह्रो छ ।

तर पनि मतदातामाथि आउने गरेको झटारो के हो भने ‘जस्ता जनता, उस्तै प्रतिनिधि !’ यो झटारो मिथ्या हो भनी साबित गर्नका लागि दबाब र प्रभावरहित विवेक प्रयोग गरौं ! तुलनात्मक रूपमा असल उम्मेदवार छानौ !

भविष्य कस्तो बनाउने भन्ने जनप्रतिनिधि होइन, मतदाताको हातमा छ । निधार खुम्च्याएर सोचेर विवेक प्रयोग गरौं !