• फाल्गुन २७ २०८२, बुधबार

बैठक स्थल नजिकै उत्तर कोरियन क्षेप्यास्त्र खसेपछि एपेक बैठकमा सहभागी नेताहरु भगाभाग

मंसिर २ २०७९, शुक्रबार

काठमाडौं । उत्तर कोरियाले एक महादेशबाट अर्को महादेशमा मार हान्न सक्ने शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेपछि एशिया प्यासिफिक आर्थिक साझेदारी (एपेक) शिखर सम्मेलन बिथोलिएको छ ।

उत्तर कोरियाले परीक्षण गरेको क्षेप्यास्त्र जापान नजिकै खसेसँगै त्यस सम्मेलन भत्र्सनामामै केन्द्रित रहेको रोयटर्सले जनाएको छ । क्षेप्यास्त्र जापानको सीमा नजिकै खसेसँगै सम्मेलनमा सहभागी हुन बैंकक पुगेका नेताहरूको आकस्मिक बैठक बसेको थियो ।

त्यस बैठकमा अमेरिका, अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, क्यानडा र न्युजिल्याण्डका प्रतिनिधिहरू सहभागी थिए । सो बैठकमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले क्षेप्यास्त्र परीक्षण गरेर उत्तर कोरियाले राष्ट्रसंघको सुरक्षा परिषद्को कतिपय संकल्पको उल्लंघन गरेको टिप्पणी गरेकी छन् ।

‘उत्तर कोरियाको परीक्षण सुरक्षा परिषद्को कतिपय संकल्प विपरीत छ । उसले एशिया प्रशान्त क्षेत्रमा अनावश्यक द्वन्द्व निम्त्याएर शान्ति सुव्यवस्थामा खलल पुर्याउन खोजेको देखिन्छ,’ कमलाले भनेकी छन् ।

सम्मेलनमा सहभागी हुन पुगेका जापानी प्रधानमन्त्री फुमियो कुसिदाले उत्तर कोरियाले एशिया–प्यासिफिक क्षेत्रमा अप्रत्यासित तबरले द्वन्द्व निमत्याउन खोजेको बताएका छन् ।

‘उत्तर कोरियाले बारम्बार यस क्षेत्रमा उत्तेजक कार्य गरिरहेको छ,’ उनले भनेका छन् । विश्वको कुल जनसंख्याको ३८ प्रतिशत र कुल ग्राहस्थ उत्पादनको ६८ प्रतिशत प्रतिनिधित्व गर्ने २१ मुलुक एपेकमा छन् । सदस्य राष्ट्रहरूबीच आर्थिक सहकार्यलाई बढावा दिँदै अर्थतन्त्र उकास्ने उद्देश्यले एपेकको निर्माण भएको हो ।

एपेकबाट बढ्दो महँगी, खाद्य संकट, मानव अधिकारका विषयमा केही अर्थपूर्ण नीति तथा कार्यक्रम अघि सार्ने अपेक्षा गरिएको छ । यद्यपी, बैठक भने कोरियाली प्रायद्वीपमा बढ्दो तनाव र रूस युक्रेन द्वन्द्वको छलफलमै केन्द्रित रहेको रोयटर्सले उल्लेख गरेको छ ।