काठमाडौं । युक्रेनमा खासगरी रुस र अमेरिका लडिरहेका छन् । यसैबीच रुसले युक्रेनी भौतिक पूर्वाधारमा भीषण हवाई हमला गरेको छ ।
हवाई आक्रमणबाट युक्रेनी ऊर्जा संरचना, आवासीय भवन र औद्योगिक केन्द्रमा व्यापक क्षति भएको छ । युक्रेनी अधिकारीहरूका अनुसार मानवरहित विमान र क्षेप्यास्त्र आक्रमणमा परी चार जनाको मृत्यु भएको छ भने १२ जनाभन्दा बढी घाइते भएका छन् ।
युक्रेनलाई रुससित लडाएर हतियार बेच्ने र आफू धनि हुने ध्याउन्नमा रहेको अमेरिकाले युक्रेनलाई रुससित लड्न साथ दिन्छौं भनेपनि आज अमेरिका रुससित लड्ने होइन कि भाग्ने तयारी गरिरहेको छ । फलस्वरुप युक्रेनलाई रुससित वार्ता गर्न लगाइरहेको छ ।
यसैबीच संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले ब्ल्याक सीबाट अन्न, खाद्य सामग्री र मलखादको सुरक्षित निर्यातका निम्ति भएको चार महिनाअघि भएको सहमतिको म्याद समाप्त हुनु केही दिनअघि त्यसलाई थपिएको घोषणा गरेका छन् । इस्तानबुलमा टर्कीसहित रूस र युक्रेनबीच भएको खाद्यान्न निर्यातको सम्झौतालाई कार्यान्वयन गराउन राष्ट्रसंघ पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।
महासचिव गुटरेसले अनाज निर्यातका निम्ति समयावधि थपिएको सम्बन्धमा गरिएको घोषणा तथा पुरानो सम्झौताको निरन्तरताबारे रुसले तत्काल केही जानकारी दिएको छैन । युक्रेन युद्ध नवौँ महिनामा प्रवेश गर्न लागेको बेला मस्कोले अत्याधुनिक क्षेप्यास्त्र आक्रमण गरेर युक्रेनभर युद्ध विभीषिका चर्काएको छ ।
किएभको सैनिक प्रशासनले दुईवटा रुसी क्षेप्यास्त्र तथा इरानमा बनेका पाँचवटा मानवरहित विमान खसालेको बताएको छ । स्थल युद्धमा रुसी सैनिक पराजित भएपछि क्रेमलिनले युक्रेनमाथि हवाई आक्रमणलाई व्यापक बनाउँदै उसका ऊर्जा पूर्वाधार, गैरसैनिक बस्तीमा कारबाहीलाई तीव्र गतिमा अघि बढाएको छ ।