• मंसिर १५ २०८१, शनिबार

४१ वर्ष यताकै सबभन्दा बढि महँगीको मारमा पर्दैछ बेलायत

मंसिर १ २०७९, बिहीबार

नेपालमा ८ दशमलव ५ प्रतिशतमा मुद्रास्फीति पुग्दा बेलायतमा भने यस्तो मुद्रास्फीति ९ दशमलव ६ प्रतिशतमा पुगेको छ । यो बेलायती इतिहासमा पछिल्लो ४१ वर्ष यताकै उच्च मूल्यवृद्धि हो । महँगीको मारमा परिरहेको बेलायत मुद्रास्फीति दरलाई घटाउन प्रयासरत रहे पनि नियन्त्रणमा भने ल्याउन नसेको हो ।

अफिस फर नेशनल स्टाटिस्टिकले गत अक्टोबर महिनामा मुद्रास्फीति ९.६ प्रतिशतले बढेको जनाएको छ । अघिल्लो महिनाको तुलनामा अक्टोबरमा यस्तो वृद्धिदर ०.८ प्रतिशतले बढेको हो ।

विशेषगरी खाद्यान्नमा भएको अत्यधिक मूल्य वृद्धिकै कारण बेलायतको अर्थतन्त्रमा मुद्रास्फीति दर चार दशक यताकै धेरै हुन पुगेको हो । खाद्यान्न र पेय पदार्थको मूल्य गत वर्षको तुलनामा १६.४ प्रतिशतले बढ्दा पनि समग्र मूल्यवृद्धिमा प्रभाव पारेको देखिन्छ ।

पछिल्लो समय युक्रेन र रुसबीचको युद्धले पनि विश्वबजारमा खाद्यान्नको अभाव देखिँदा त्यसको असर बेलायतमा पनि परेको देखिन्छ । यो सँगै बेलायती नागरिकहरूले आवास, घरायसी सेवा र ऊर्जामा पनि महँगो मूल्य तिरिरहेका छन् ।

अफिस अफ नेशनल स्टाटिस्टिकका अनुसार अक्टोबर महिनामा मात्रै बेलायती घरपरिवारहरूले आफ्नो बिजुली, ग्यास र अन्य इन्धनहरूका लागि गत वर्षको सोही अवधिभन्दा औसतमा ८८.९ प्रतिशतले बढी मूल्य तिरिरहेका छन् ।

मूल्यवृद्धिसँगै बेलायतमा बेरोजगारीको समस्या उस्तै देखिएको छ । यो महिनामा मात्रै ३।६ प्रतिशत नागरिक बेरोजगार रहेको तथ्यांकमा उल्लेख गरिएको छ भने बाँकी ७५.५ प्रतिशत नागरिक रोजगारमा संलग्न छन् ।