मंसिर ४ गते निर्वाचनका लागि डोर खसिसकेको छ । अर्थात्, मतदानस्थलमा सुरक्षाकर्मी र कर्मचारी पुगिसकेका छन् ।
मंसिर १ गते बिहीवारबाट मतदान स्थलमा सबै व्यवस्थापनका लागि काम सुरू भइसकेको छ । निर्वाचन आयोगले निर्वाचन आचार संहितामा कडाइ गरेको संकेत गरिसकेको छ ।
सबैभन्दा महत्वपूर्ण मौन अबधि पनि बिहीवार रातको १२.० बजेबाट सुरू भइसकेको छ । यसलाई आयोगले ‘स्थिर समय’का रूपमा परिभाषित गरेको छ ।
४८ घण्टाको यो ‘स्थिर समय’ मा निर्वाचनका कुनै पनि गतिविधि गर्न पाइँदैन । यसलाई संवेदनशील समय मानिन्छ । तर यही समयमा राजनीतिक दल र तिनका उम्मेदवारहरूले मत खसाल्नका लागि ‘धाइआमा’का रूपमा पैसा वितरण गरिरहेका हुन्छन् ।
यस्तो कामलाई निर्वाचन आचार संहिताले पनि दण्डनीय बताएको छ । तर यसको कार्यान्वयनमा कुनै पनि गुञ्जायस छैन । प्रहरी र कर्मचारी निर्वाचन स्थल सुरक्षा र मत खसाल्ने तयारीमा लाग्छन् ।
यसै बेलामा गाउँघर र सहरमा नगद वितरण सुरू हुन्छ । यसको नियमन र कारवाही गर्ने कोही पनि हुँदैन । अनुगमन यस्तो बेलामा भएको देखिदैन । शायद लेनादेना सबैमा चल्छ ।
गाउँघर र सहर बजारमा अवस्था ‘चूपचाप चारआना, बोलेपछि बाह्रआना’ को हुन्छ । काम चूपचाप भइरहेको हुन्छ । बोलेपछि घाटा हुन्छ । खानपिन पनि निकै चलिरहेको हुन्छ ।
यो बेलामा मतदानका लागि फलिफाप भइरहेको हुन्छ । तर यो समय भनेको राजनीतिक दलहरूका प्रतिबद्धता र उम्मेदवारहरूको वाचा सुनिसके पछि मतदाताले मत दिनका लागि सही सोच बनाउने समय हो ।
घर परिवारमा छलफल, आआफ्नो ठम्याइ तथा उचित उम्मेदवारलाई मतदान गर्न विवेक पुर्याउने समय हो यो । मतदान गलत ठाउँमा र गलत उम्मेदवारका लागि नहोस् भनेर निर्क्योल गर्ने समय हो यो ।
वास्तवमा स्वविवेक पुर्याउने समय पनि हो यो । यति बेला भाषण, भीषण, नारा, जुलुस, सभा, आरोप र प्रत्यारोपको समय सकिएको हुन्छ । आवेगात्मक र प्रतिशोधको समय पनि कम भइसकेको हुन्छ ।
यो समय परिपक्वताका लागि हो । निर्णय लिनका लागि हो । तर पनि यही शुन्य समय भोट किनबेच गर्न बढी प्रयोग गरिन्छ । जुन आगामी ५ वर्षका लागि अभिषाप सिद्ध हुन जान्छ ।
पैसा बाँडेर जितेको उम्मेदवारले आफ्नो खर्च गरिएको महिने ठेकी साँवा ब्याज यति बेला नै असुलउपर गर्नथाल्छ । जनताका सपना र आशा यति बेला नै तुसारपात हुन जान्छन् ।
नेपालको निर्वाचन कसुर तथा सजाय ऐनले व्यवस्था गरे अनुसार पनि मतदान हुनु पूर्व ४८ घण्टाअघिदेखि मतदानको अवधिभर कुनै पनि प्रचार तथा पैसा वितरणका काम गर्नु हुँदैन । यसलाई दण्डनीय मानिएको छ ।
तर ऐनमा व्यवस्था भएअनुसार अनुगमन व्यवस्थित हुन सकिरहेको छैन । स्थिर वा शुन्य समयमा मतदातालाई दबाव दिने, पैसा बाँड्ने, भोजभतेर गर्ने, घरघरमा भोटको मूल्य अनुसार किनबेच हुने गरेको पाइन्छ ।
यसैले गर्दा पनि आँकलन गरिएको मत परिणाम फरक मात्र होइन, निकै उल्टापाल्टा आउने गरेको पाइन्छ । निर्वाचन आचार संहिता यति बेला किताबमा सिमित भएको देखिन्छ ।
त्यसैले अनुगमन टिमको क्रियाशीलतालाई मध्यनजर गरी यस्ता कार्यमा निगरानी र नियन्त्रण गरिनु जरूरी छ । होइन भने ‘चूपचाप चार आना, बोलेपछि बाह्र आना’को अवस्था दोहरिने देखिन्छ ।