काठमाडौं । फिफा विश्वकप २०२२ का लागि सहभागी टोलीहरु कतार पुग्नेक्रम जारी छ।
प्राय सबै देशका खेलाडीहरु विश्वकपका लागि कतार पुगिसकेका छन् । यो विश्वकपमा धेरै नयाँ खेलाडी डेब्यु गर्दैछन् भने केही चर्चित खेलाडी यो पटकको विश्वकपबाट विदा हुँदैछन् ।
क्लब स्तरका सबैजसो उपाधि उचालिसकेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी लियोनल मेस्सी विश्वकपको ट्रफी उचाल्न चाहन्छन्। यस पटकको विश्वकपले पनि यी दुई खेलाडीमा को उत्कृष्ट हो भन्ने टुङगो लगाउनेछ। रोनाल्डो र मेस्सीसँगै यी १० खेलाडीका लागि भने कतार विश्वकप अन्तिम हुनेछ।
क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)
क्लब फुटबलमा सबैखाले मुख्य उपाधि उचालेका त्रिस्टियानो रोनाल्डोको लागि यस पटकको विश्वकप अन्तिम हुनेछ। कतार विश्वकपमा उपाधि उचाल्दै पोर्चुगललाई नयाँ शक्तिको रुपमा स्थापित गर्न चाहन्छन्। ३७ वर्षीय रोनाल्डोले ७ सय क्लब गोल र ३० भन्दा धेरै उपाधि उचाल्दा ५ पटक बालोन डे’ओर पनि जितिसकेका छन्।
खेल जीवनको उत्तरार्धमा रहे पनि विश्वकप खेल्न लागेका रोनाल्डोले अझै केही समय फुटबलमा सक्रिय रहने संकेत भने गरिसकेका छन्। अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान पनि उनकै नाममा छ। उनले ११७ गोल गर्दा सन् २०१८ को विश्वकपमा स्पेनविरुद्ध उत्कृष्ट ह्याट्रिक गरेका थिए।
लियोनेल मेस्सी (अर्जेन्टिना)
अन्तर्राष्ट्रिय फुटबल र समर्थकबीच सधैं चर्चामा आउने खेलाडी हुन् मेस्सी । ३५ वर्षीय मेस्सी यो पटक अन्तिम विश्वकप खेल्दैछन् । अन्तिम खेलसम्म उनले आफ्नो खेललाई रोमाञ्चक बनाउने लक्ष्य राखेका छन् । आफ्नो समयका महान खेलाडी मेस्सीले बार्सिलोना र पेरिस सेन्ट जर्मनका लागि ६९५ गोल गरिसकेका छन्। सात पटकको बालोन डे’ओर विजेता मेस्सीले पछिल्लो समय कोपा अमेरिकाको उपाधि उचालेका थिए।
रोबर्टो लेवान्डोस्की (पोल्याण्ड)
दोस्रो पटक विश्वकप खेल्न लागेका पोल्याण्डका रोबर्टो लेवान्डोस्कीका लागि कतार विश्वकप अन्तिम हुन सक्नेछ।
यही सिजन बार्यन म्युनिख छाडेर बार्सामा पुगेका ३४ वर्षीय लेवान्डोस्कीले १९ खेलमा १८ गोल गरिसकेका छन्। यसअघि ला लिगका १३ खेलमा १३ गोल च्याम्पिनयसिपमा ५ खेलमा ५ गोल गरेका छन्।
नेयमार (ब्राजिल)
पीएसजीका ३० वर्षीय नेयमार पनि सम्भवतः अन्तिम विश्वकप खेल्दै छन्। उनले यसअघि नै कतार विश्वकप आफ्नो लागि अन्तिम खेल हुने बताइसकेका थिए। अघिल्लो वर्षको एक अन्तर्वातामा नेयमारले भनेका थिए, ‘सम्भवतः यो मेरो अन्तिम विश्वकप हुन सक्छ।’ तर, पछि उनले नै आफ्नो भनाइलाई गलत व्याख्या गरिएको बताए।
लुइस स्वारेज (उरुग्वे)
बार्सिलोनाका पूर्व सहकर्मी मेस्सी, नेयमार स्वारेज तीनै खेलाडीका लागि कतार विश्वकप अन्तिम हुनेछ। ३५ वर्षीय स्वारेज विश्वकपमा अब्बल प्रदर्शन गर्दै छाप छाड्न चाहन्छन्।
लुका मोड्रिच (क्रोएशिया)
रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिचका लागि पनि २०२२ को विश्वकप अन्तिम हुनेछ। क्रोएशियालाई ८ महत्वपूर्ण उपाधि दिलाएका मोड्रिच विश्वकप फुटबलपछि सन्यास लिने तयारीमा छन्। यसअघि सन् २०१८ मा भएको विश्वकपमा पनि उनले महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए। त्यही समयमा उनले बालोन डे’ओर पनि जितेका थिए।
करिम बेन्जेमा (फ्रान्स)
रियल मड्रिडका स्टाइकर बेन्जेमा अन्तिम विश्वकप खेल्ने तयारीमा छन्। २०२२ को बालोन डे’ओर विजेता बेन्जेमाले क्लबमा लागि ४६ खेलमा ४४ गोल गरेका छन्।
दोस्रोपटक विश्वकप खेल्न लागेका बेन्जेमा कतार विश्वकपलाई नै अन्तिम बनाउने तयारीमा छन्। उनले यो अघि सन् २०१४ मा विश्वकप खेलेका थिए।
ग्रेथ बेल (वेल्स)
वेल्सका लिजेन्ड खेलाडी ग्रेथ बेलका लागि कतार विश्वकप पहिलो र अन्तिम हुन सक्नेछ। ३३ वर्षीय बेलका लागि विश्वकप अन्तिम भए पनि फुटबलमा भने सक्रिय रहने बताएका छन्।
म्यानुअल नुएर (जर्मनी)
बार्यन म्युनिख र जर्मनीका पहिलो रोजाइका गोल किपर म्यानुअल आफ्नो समयका उत्कृष्ट गोलरक्षक हुन्। उनले सन् २०१४ मा विश्वकपको उपाधि उचालेका थिए। म्यानुअल २०२६ हुने विश्वकपमा ४० वर्ष पुग्नेछन् त्यसैले पनि उनको लागि यो विश्वकप अन्तिम हुनेछ।
सर्जियो बुस्केट्स (स्पेन)
पछिल्लो २० वर्षलाई हेर्ने हो भने बुस्केट्स आफ्नो समयका उत्कृष्ट मिडफिल्डर हुन्। सन् २०१० को विश्वविजेता स्पेनका लागि उनी विश्वकपमा अन्तिम पटक खेल्दै छन्।