नेपालले लोकतान्त्रिक मुल्य तथा मान्यतालाई जनमानसले अन्योन्याश्रित आवश्यकताका रूपमा अंगीकार गरिआएको सन्दर्भमा लोकतान्त्रिक पद्धतिलाई संस्थागत विकासका दिशामा विभिन्न चुनौतीहरू हाम्रा सामु छन् ।
लोकतन्त्रका आधारभूत मूल्य तथा मान्यतालाई जनताको चासो र चिन्तनको विषयवस्तु बनाउने सवालमा हाम्रा राजनीतिक दल तथा राज्य सञ्चालनका अंगहरूले कुुन तथा के कति मानेमा महत्व दिइआएका छन् ? यी सवालहरूले अहम् महत्व राख्दछन् ।
आगामी मंसिर ४ गते मुलुकमा जनप्रतिनिधिमुलक संस्था संघीय संसद्को प्रतिनिधिसभा तथा प्रदेश सभाका लागि एकै चरणमा निर्वाचन सम्पन्न हुन गइरहेको छ । मुलुक एक पटक फेरि निर्वाचनमय भएको छ ।
आफ्ना जनप्रतिनिधिहरू निर्वाचित गर्न आम विवेकशील मतदाता आतुर छन् । लोकतन्त्रको सार र लोकतन्त्रको जीवन्तताका लागि आगामी आमनिर्वाचनले खास मानेमा अहम् महत्व राख्दछ ।
जनअपेक्षाका बहुआयामिक पाटालाई सम्बोधन गर्ने र जनजीविकाका सवालमा जनतासंग नितान्त नजिक रहेर काम गरेका र गर्ने वाचा गरेका स्वच्छ, निर्भिक तथा योग्य उम्मेदवारलाई छान्ने अवसरका रूपमा आम मतदाताले आवधिक निर्वाचनलाई अवसर र माध्यमका रूपमा लिएका छन् ।
साथै, चुनावमा होमिएका दल तथा तिनका उम्मेद्वार पनि आफ्नो क्षमता, जनअभिमत तथा स्वच्छतालाई पुनः एकपटक जनता र मतदाता समक्ष प्रत्यक्षरूपमा चुुनावी अभियान, वाचा, प्रतिवद्धतापत्र, संकल्पपत्र या भनौं घोषणापत्र मार्फत् आएका छन् ।
यो निर्वाचन फगत आवधिक निर्वाचनमात्र होइन, दल तथा दलका विगत र आगामी राजनीतिक अभियान, दिशाबोध, जनपरिचालन, विकास, समृद्धि र मुलुकको समग्र विकास तथा लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासको मियोका रूपमा विश्लेषण गर्न सकिन्छ ।
आगामी निर्वाचनले लोकतन्त्र र राजनीतिक स्थिरता, गठबन्धन संस्कृतिको विकास र राजनीतिक गतिविधिको परिचालन र जनअनुमोदनका दिशामा थप आयाम थप्नेछ । गठबन्धनको संस्कृतिको विकास नयाँ होइन ।
विगतका राजनीतिक तथा आन्दोलनका ऐतिहासिक पृष्ठभूमिमा लोकतान्त्रिक शक्ति र वाम शक्तिका विचमा भएका सहकार्य, कार्यगत एकता र संयुक्त आन्दोलनका सफल अभ्यासले मुलुकमा लोकतान्त्रिक पद्धति र लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्ने, त्यसलाई दरिलो बनाउने, विकास र सम्मृद्धिलाई विकट तथा दुर्गम गाउँवस्तीसम्म पुर्याउन कोसेढुंगा साबित हुनसक्यो ।
अबको निर्वाचनको अभियानमा वामलोकतान्त्रिक गठवन्धनले फेरि पनि विगतका असल र सफल अभ्यासका मूल्य, मान्यता तथा आयामलाई निरन्तरता दिने प्रयास गरेकोछ ।
निर्वाचनमा होमिएका सबै दलको उपस्थितिलाई विश्ेलषण गर्दा समग्रमा गठबन्धनको चुनावी अभ्यासलाई अझ घनिभूतरूपमा चुनावी अभियानका माध्यमबाट प्रष्टीकरण र जनअभिमतको कसीलाई रूपान्तरण गर्ने असल र सफल अभ्यासका रूपमा ग्रहण गर्ने दिशामा सकारात्मक सन्देश दिएको छ ।
लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको कुनै पनि निर्वाचनमा दुरदराजको छाप्रो र झुप्रोमा बस्ने सामान्य जनता र राज्यको नीति निर्माणतहको महत्वपूर्ण ओहदामा बस्ने सर्वाधिकार सम्पन्न अधिकारीको पनि समान अधिकार र हैसियत रहने कुरामा सर्वमान्य सिद्धान्तको परीक्षण र पुनर्परीक्षणको आयाम हो ।
तसर्थ, जनताको अभिमतको सम्मान गर्न सक्ने राजनीतिक पद्धतिको संस्थागत विकास र दिगो तथा स्थिर शासन पद्धतिका पक्षमा आमजनताको परोक्ष÷प्रत्येक्ष सहभागिताको पक्षमा जनता रहेकाछन् र रहने पनि छन् भन्ने तथ्य र यसको यथार्थपरक अभिव्यक्ति मतदाताले आवधिक निर्वाचन मार्फत प्रकटीकरण गर्नेछन् ।
लोकतन्त्र र निर्वाचनमा गठबन्धनको संस्कृति नेपाल लगायत विश्वका विभिन्न मुलुकमा अभ्यासमा रहिआएका छन् । दक्षिण एशियाका भारत, पाकिस्तान लगायतका मुलुकमा चुनावी अभियान होस् या चुनावपछि बनेका संसद्बाट सरकार निमार्ण र सञ्चालनमा गठबन्धनको असल अभ्यास भएको पाइन्छ ।
तसर्थ, नेपालमा २०७२ को संविधान कार्यान्वयनमा आएपश्चात् निर्वाचन र निर्वाचन पश्चात्को संसदको गणितीय बनोटका आधारमा संघीय तथा प्रदेश सरकार निर्माण र सञ्चालनमा यसै संस्कारको प्रयोग भइआएको पाइन्छ । अहिलेको सन्दर्भमा यो निरन्तरताका अर्को पहल हो ।
यस मानेमा हाम्रा राजनीतिक दल तथा दलगत राजनीतिक संस्कार र व्यवहारलाई जनताको अभिमतको कसिमा राखेर विश्लेषण गरिएको खण्डमा हामी फेरि पनि जनतालाई लोककल्याणकारी राज्यको अवधारणा अनुसार वितरण गर्नु पर्ने सेवा, सुविधाको न्यायोचित, व्यवस्थित तथा उत्तरदायी वितरणको मान्यता अनुसार जनताले अनुभूत गर्ने आभाष सधैँ पाउनु पर्दछ ।
विगतको तीन दशकभन्दा बढी समयान्तरको खुल्ला तथा स्वतन्त्र राजनीतिक वातावरणका बिचमा बहुदलीय शासन व्यवस्थाका आधारभूत मल्य र मान्यताको कुनै न कुनै रूपमा प्रयोग र निरन्तरको अभ्यास भइआएको छ ।
सन्दर्भमा विगतका अनुभव र मूल्यको राजनीतिलाई आत्मसात् गर्दै राजनीतिक संस्कार र संस्कृतिको परम्परालाई अझ मुखरित र परिपक्व बनाउने दिशामा हाम्रा कार्यकलाप र व्यवहार चल्नुपर्दछ ।
आमनिर्वाचनका यावत गतिविधिमा राजनीतिक संस्कार र संस्कृतिले अझ माझिएको, झाँगिएको र परिपक्वताको उदाहरण दिन सकिएमा हाम्रो साझा लोकतान्त्रिक मूल्य, संस्कार र राजनीतिक परिचालनको स्वच्छ वातावरणको विकासमा थप टेवा र भरथेग पुग्ने थियो ।
राजनीतिक स्थिरता, सामाजिक रूपान्तरण तथा जनतालाई कानुनी शासनको अनुभूति दिने दिशामा राजनीतिक दल तथा राज्य सञ्चालक निकायहरूको महत्वपूर्ण भूमिका रहन्छ ।
कुनै पनि राजनीतिक दलले जनताका भावना र चाहनालाई प्रतिविम्बित गर्न सकेनन् भने त्यस्ता दल तथा दलका सांगठनिक संरचनाले दीर्घकालमा राष्ट्रिय राजनीतिको मियोलाई आत्मसात् गरी अघि बढ्न सक्दैनन् ।
राजनीतिक दलका सन्दर्भमा कुरा गर्दा प्रसिद्ध राजनीतिक विश्लेषक जे. लापालोम्बरा र एम. वेनरका विचार आजको सन्दर्भमा उद्धृत गर्नु सान्दर्भिक नै रहला । ‘जब हामी राजनीतिक दलको कुरा गर्छौं, हामी त्यो संगठनलाई औंल्याइरहेका हुन्छौं, जुन कि स्थानीय स्तरसम्म प्रभावकारी हुन्छ, जो सामान्य जनतासंग अन्तरक्रियाशील रहन्छ एवं तिनबाट चुनावी समर्थनका लागि प्रयत्नशील रहन्छ, जसले राजनीतिक भर्तीमा प्रत्यक्ष र उल्लेखनीय भूमिका खेल्छ र जो एक्लै वा अरूसंग संलग्न भई राज्यशक्ति आजर्न गर्न वा शक्तिमा कायम रहिरहन वचनबद्ध हुन्छ ।’
यहाँ स्वच्छ तथा स्वस्थ चुनावी प्रतिस्पर्धा, जनमतको प्रकटीकरणको आधार आवधिक निर्वाचन, गठवन्धन संस्कृति र राजनीतिक क्रियाकलाप अघि बढाउँदा त्यसका निम्नतम मान्यता र आयामका बारेमा जोड दिइआएको पाइन्छ ।
जसले नितान्त चुनावी गतिविधि, मतदाताको मनसाय, दल र उम्मेदवारका वाचा र प्रतिबद्धतालाई रूपान्तरण गर्नखोज्ने र गर्नसक्ने राजनीतिक स्वस्थ परिचालनको मान्यतालाई आधारका रूपमा ग्रहण गरेकैछ ।
चुनावी अभियानका सन्दर्भमा अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरले आफ्नो चुनावी अभियानलाई अघि बढाउँदा सबै समर्थक र दर्शक सानो होस् वा विशाल, उनीहरूमाझ आफुले बाचा गरे कि ‘कहिल्यै झुठो नबोलौं अथवा गलत सन्देश प्रवाह गर्ने विचार नराखौं’ (ह्वाइट हाउस डायरी, जिम्मी कार्टर—२०१०) ।
यसै मान्यता र व्यवहारको आडमा उनी जर्जिया राज्यको गर्भनर र पछि सन् १९७६ मा डेमोक्र्याटिक पार्टीबाट अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन सफल भएका थिए ।
लोकतान्त्रिक व्यवस्था तथा उदार समाज र राज्यशक्तिको स्पष्ट दिशाबोध भएको समावेशी तथा समाजवादी आर्थिक विकासका मान्यतालाई अनभूति दिएर भावी नेपालको संम्बृद्ध र सवल नेपाल बनाउने दिशामा आउँदो आमनिर्वाचनले स्पष्ट सन्देश दिएको छ ।
लोकतन्त्रको मुटु नै स्वतन्त्रता, मानवाधिकार तथा सबै किसिमका विचारको सम्मान हुने वातावरणको सिर्जना भएको तथ्यलाई मनन गर्दै हामीले हाम्रा महत्वपूर्ण निर्णय शक्तिको सान्दर्भिक प्रयोग गर्न सक्नु पर्दछ ।
कुनै पनि आवधिक निर्वाचन त्यसको कसी हो, लोकतान्त्रिक व्यवस्थालाई पद्धति र मूल्यको राजनीतिमा रूपान्तरण गर्ने दिशामा चुनावलाई उपयोग र असल अभ्यास गरिनु पर्दछ ।
आउँदो निर्वाचनले त्यसको सन्देश दिने नै छ । मुलुकको दीर्घकालिक स्थायित्व, विकासका आयामहरूको उन्नयनमा समान सहभागिताका अवसर अझ मुखरित हुनसक्नेमा आशावादी छौं ।
(लेखक मानवशास्त्री तथा अधिवक्ता हुन् ।)