• असार २२ २०८१, शुक्रबार

रोल्पाका ती प्रहरीलाई भुल्नै सकिनँ !

कार्तिक २७ २०७९, आईतवार

दाङ । एकजना प्रहरीले एकजना युवालाई कठालो समातेर अठ्याएको देखेँ । उनीहरुलाई पुलुक्क हेरेँ । देख्या नदेख्यै जस्तो गरेर सुइँसुइँ साइकल चलाएँ । अलि माथि आएर फर्कि हेरेँ । प्रहरीको भ्यान आयो । उनीहरुलाई त्यसैमा चढायो र म बजारतिर लागेँ । उनीहरुबाट छलिएको थिएँ । त्यो दृष्यबाट भाग्न चाहन्थेँ ।

कहिल्यै पनि त्यस्तो ठाउँमा देखिन रहर लागेन । मलाई त्यस्तो बेला भित्रैबाट महशुस हुन्छ, आरोपितले मबाट केही अपेक्षा राख्न सक्छन् । हाम्रो उपस्थितिले प्रहरी झन् कानुन समात्न कठोर बन्नसक्छ । उनीहरु थप फन्दामा फस्छन् । त्यसैले म घोराही–१४ गिठेपानी जाने ओरालो सडक किनाराको त्यो दृष्यबाट तर्किएँ । तर, यो नलेख्दासम्म भुल्न सकिन ।

घरजम धान्ने उमेर अवस्थाका दुई युवा थिए । उनीहरुको मुहार भने चुसेर फालेको उखुको खोस्टा जस्तो लाग्थ्यो । गाला रगतै नभएको जस्तो च्याप्सो थियो । कुनै उमंग र बैंसको संकेत दिने रसको देखिन्नथ्यो । काटछाँट नगरिएका छुस्स दाह्री देखिन्थे । टालो हाल्न पर्ने जस्ता घुँडा फाटेका पाइन्ट लगाएका थिए । जोस, जाँगर र उमंगको कुनैपनि लक्षण देखिन्नथ्यो ।

तिनलाई लागेको आरोप के हो र प्रमाणित भए नभएको यो आलेख तयार पार्दासम्म थाहा छैन । आसपासमा भएका केहीलाई के भएको होर भनि सोधें, ‘के हुनु हजुर किटारी हो, देख्नु हुन्न विहानै ठिस परेको छ, यिनले त केके पो गर्दैनन् । यिनका कुरा गरी साध्यै हुँदैन’ यस्तै प्रतिकृया दिए । उनीरुलाई युवा होइन मानिसको दर्जामा समेत राख्न चाहेनन् । मेरो मन खिन्न भयो ।

त्यहाँका भद्रभलाद्मी तथा जान्ने बुझ्नेहरुको नजरमा निर्दोष सावित हुनुपर्दथ्यो । आश र भर गर्नुपर्दथ्यो । तर, प्रहरीले लगे हुन्छ, थुने हुन्छ भन्ने जस्तो भाव देखियो । कसैगरी तह लगाए हुन्थ्यो भन्ने अपेक्षा देखियो । त्यसो त तिनलाई राष्ट्र निर्माणका लागि युवा भन्न लायक रहेनन् । तिनलाई जन्माउने आमा बाबुका लागि भने सबैभन्दा ठूला मानिस होलान् ।

सबैभन्दा प्यारा सन्तान होलान् । उनीहरुलाई मर्दा पर्दा चाहिने छोरा तिनै हुन् । तर, समाजलाई घाँडो बने । प्रहरीलाई सताउने, दुःख दिने र भ्यानमा खर्च गरेर थुन्नुपर्ने भए । अनि ‘प्रहरीले कठालो किन समात्यो’ भनेर पनि सोधेको थिएँ । त्यो फुत्कियो भने प्रहरीले भेटाउनै सक्दैन । थोरै ठाउँ पाउनुपर्छ कहाँ भाग्छ कहाँ, को हो को हो, त्यसैले अँठ्याएको हो । यसरी प्रहरी कठालो समात्न बाध्य थियो । भाग्न नदिन समातेको हो । त्यो काम निकै जोखिमको थियो । नत्र भगाएको आरोप लाग्थ्यो । कार्यालयले पनि नसियत दिन सक्थ्यो । उनीहरुलाई असक्षम भन्न सक्थ्यो ।

यसकारण निकै जोखिम सहेर प्रहरीले समातेको थियो । यदि म प्रहरी भैदिएको भए तिनलाई अँठ्याउन सक्दैन्थेँ । हातमा हेलमेट थियो, त्यसैले हिर्काइदिन पनि सक्छ भन्ने डर लाग्दो हो । दुईजना मिलेर कुट्लान कि भन्ने हुँदो हो । एकजना महिला प्रहरी अलग्गै बसेको देखेँ, पुरुष प्रहरीले एक्लैले दुईटालाई थामेको पाएँ । ती प्रहरीकोे नाम र पद थाहा पाउन सकिन ।

यिनै शब्दमार्फत् राष्ट्रभक्त प्रहरीमा सम्मान प्रकट गर्दछु । अपेक्षा गर्दछु, हिम्मतका साथ गलतका विरुद्ध यसरी नै लागिरहनु होला । खराब मानिस खुला छोडेपछि धेरैलाई सताउँछन्, उनी थुनिए एक्लै दुःख पाउँछन् । अनेकले सास्ती पाउनु भन्दा एकले कष्ट भोग्नु अतिउत्तम हुन्छ । त्यसबेला ‘स्कूले कोरोना’ भनेर व्यंग्य गरिएको ओमिक्रोन चलिरहेको थियो । मानिसहरु अरु कसैको नजिक जान डराउँथे । स्कुल र होटेल बाहेक अरु क्षेत्रमा बन्देज थिएन तर, नचिनेको मानिससँग छोइन भने डराउँथे ।

कोरोना सर्छ भनेर मास्क लगाउँथे । कठालो समातिएका ती युवाको मास्क थिएन । त्यसस्तो अवस्थामा पनि शान्ति सुरक्षाका लागि प्रहरीले कठालो समाते । अर्को घटना, सब्जिमण्डी नजिक अटो र मोटरसाइकल ठोक्किए । भ्यानमा प्रहरी आयो । दुवै पक्षका कुरा सुनेपछि आ–आफ्ना सवारी मरमत गर्ने निर्णय दियो । उनीहरु दुवै आफ्ना गन्तव्यतिर लागे । यदि दुवैलाई नियन्त्रणमा लिएको भए मापसे जाँच हुन्थ्यो । सवारी चालक कागजात हेरिन्थ्यो । अनेक झमेला सहनुपर्दथ्यो ।

अटोको कमाइ हराउँथ्यो । बाइक चालकको योजनामा अवरोध पुग्थ्यो । एक पक्षको केही खोट भेटिएको भएपनि केहि समय झन्जटमा फस्थ्यो । दुवै पक्षले आफ्नो गल्ती नभएको दाबी गरे । आसपासका मानिसहरु भेला भए । उनीहरुले पनि बयान दिए । प्रहरीले दुई पक्ष र प्रत्यक्षदर्शीका कुरा सुन्यो । सवारीका कागजात खोजिन्थे । तिनमा भएका म्याद हेरिन्थे । छलफल चल्थ्यो । समय, पैसा र झन्जट सबै व्यहोर्नु पर्दथ्यो ।

‘समझ्दार प्रहरी रहेछ, ठिक गर्यो, उस्तै ठिङा पुलिस भएको भए जाक्किन्थे, आया प्रहरीले अठ्याङ गरिनन् र पो’ घटना स्थलमा भेला भएका एकजनाले भने । यसकारण प्रहरीका सही कामको समाजमा प्रशंसा पनि हुन्छ । प्रहरीसँग चाबी तानातान गरिरहेको अवस्थामा पुगिएछ । कसरी भाग्ने भन्ने फेरि अर्को फसादमा परियो । साँघुरो बाटोमा विकल्प थिएन । बातचित पनि सुन्न सकियो ।

ती व्यक्तिले ‘छोड्नुस्, छोड्नुस् है, छोड्नुस् भन्या छु’ यस्तै शब्दले प्रहरीलाई धम्काइरहेका थिए । प्रहरीेले छोड्न मानेको थिएन । न त तानेर नियन्त्रणमा लिनै सक्यो । केहीबेरसम्म रस्साकस्सी भयो । ‘म तिर्छु, दिन्छु, यो किन लग्न खोज्नु हुन्छ । मलाई चिन्नु भा‘छ ? भन्द्या छु है, यो छोड्नुस्’ फेरि पनि ती व्यक्तिको धम्किकै भाषा थियो । कठालो समातिएका युवक र चाबी तानातानमा परेका बयस्कमा सारभूतरुपमा फरक देखिन ।

कठालो समातेपनि रोक्ने हो, चाबी खोसेपनि नियन्त्रणमा लिनै खोजेको हो । तर शारीरिक बनावट र भाषाशैलीमा भने ठूलै अन्तर देखिन्थ्यो । देख्दा पढे लेखेका, भद्र, धन पैसाका धाक लगाउनेले प्रहरीसँग खोसाखोस किन गरेको त ? धेरै मानिसहरु जम्मा हुँदा पनि प्रहरीले छोडेनन् । तिनको मेहनतलाई पनि सम्मान गर्दछु । यसरी हामी कसैले धाक लगाएर कसैले प्रहरीलाई झुक्याएर असहयोग गर्छौं ।

ती व्यक्तिको बोलीमा निडरता र स्पष्ट थियो । म गरिदिन्छु भन्ने इमान्दारिता थियो । तर प्रहरीलाई चाबी दिएर सहयोग गर्नुपर्दथ्यो । ठूलै भिड जम्मा हुँदा समेत तानातान गरेको दृष्य अशोभनीय मानियोे । ‘यत्रो पुलिस हुँदा त यस्तो गर्छ, अरुले भन्दैमा झन् के देला’ केही मानिसले प्रतिकृया दिए । धनि होलान्, नेताको पहुँच होला, त्यसो भन्दैमा कर्तव्य पालन गरिरहेको बर्दी सहितको प्रहरीलाई अपमान गर्न हुँदैन्थ्यो ।

उनीहरुले उजुरी परेपछि नियन्त्रणमा लिनै पर्दथ्यो । सभ्य र संस्कारको व्यक्तिले जिम्मेवारीमा बसेको प्रहरीलाई धाक लगाउन्न । धम्कि दिँदैन । सहयोग गर्छ । कोरोना महामारीका बेला मोटरसाइकलमा साइरन बजाउँदै प्रहरी गाउँगाउँ पुग्थे । सुनेजति ठाउँका मानिस सजग हुन्थे ।

कोरोनादेखि भन्दा प्रहरीको आवाज सुनेर भाग्नेहरुको संख्या बढी थियो । लकडाउनको समयमा फिल्डमा प्रहरी मात्रै थियो । कोरोना विरुद्धका लडाकु प्रहरी भए । घोराही बजारमा प्रहरी मात्रै देखिन्थे । त्यसबेला जुुन चोकमा पुग्दा पनि उनीहरु मात्रै हुन्थे । अन्तिम हुनसक्ने भनिएको ओमिक्रोनको शुरुवातीमै प्रहरीले ‘तपाईंको मास्क ख्वै’ नामक अभियान चलाएको थियो । फेटा बाँधेका प्रहरी नै सडकमा खटेपछि धेरैलाई मास्क लगाउने वातावरण बन्यो ।

अपाच्य शब्दले प्रहरीलाई गाली गरेको भेटिन्छ । लेखेको देखिन्छ । कतिपय प्रहरीले कमजोरी पनि गरेका होलान् । सबै नागरिक सादु भइदिए प्रहरीले मात्रै फट्याईं गर्दैन । आम नागरिकका व्यवहारले प्रहरीलाई बाध्य पारेको हुनसक्छ भन्ने बुझ्न सकेका छैनौँ र कमजोर खोजेर प्रहार गछौँ । तर, जुनसुकै आपद विपदमा प्रहरी चाहिन्छ । उसका सकारात्मक कदम देख्दैनौँ । हुन त सरुवा भई आउँदा के–के नै गर्ला जस्तो गतिविधि देखाउने र अन्तमा आरोप लागेर भाग्ने गरेका प्रहरी हाकिमका धेरै उदाहरण छन् ।

सरुवा हुँदाको दिनदेखि आउँदै गरेको पुग्दाको दिनहुँदै चाकडी गर्ने चलन छ । अझ हामी पत्रकारले भेटघाटका नाउँमा बढ्ता महत्व दिन्छौँ । अन्तिममा विदाईको खादा थापेरै जाने प्रहरी प्रमुखहरु थोरै होलान् । धेरै कुम्ल्याएर गए भन्नेमै पर्छन् । गिट्टी र बालुवा, उद्योग, यातायात अन्तर्गतका निकायहरुको नाम बढी चर्चामा आउँछ । सरुवा हुँदाको दिनै रातारात भागेका प्रहरी तथा प्रशासन प्रमुख धेरैजना छन् । तर, के काम गरे बापत कति रकम उठायो र कुम्ल्यायो त्यसको प्रमाण कहीँ कतै भेटिँदैन ।

उत्ताउलो स्वागत र भड्किलो सम्मान ग्रहण समस्याका रुपमा देखिन्छन् । व्यापार व्यवसाय सम्बन्धि संस्थाले प्रहरी प्रशासनका अगुवालाई आउँदा र जाँदा गर्ने यस्ता कार्यलाई मानिसहरुले स्वार्थसँग जोडेका छन् । यद्यपी खादा र मालाले स्वागत गरेको फाइदा के कति लिन्छन् कहीँ कतैबाट खुल्दैन । त्यसैले अनुमानकै आधारमा कसैमाथि आरोप थोपर्नु अन्याए हुन्छ । तर, काम गर्ने भने फिल्डको पुलिसले हो । उसलाई निर्देशन दिने हामी उचित र अनुचितले अर्थ राख्छ ।

फिल्डको प्रहरीको जस र अपजस पनि तिनै हाकिमलाई स्वतः आउँछ । देखेका, भएका सकारात्मक कुरलाइ महत्व दिँदैनौँ । त्यसको चर्चा गर्दा चाकडी र चाप्लुसीको अर्थ लगाई हलुक्याउँछौँ । नानाथरी शंकालाई महत्व दिएर कसैप्रति अति पूर्वाग्रही हुन्छौँ । अझ आफूलाई भौतिकवादी भनेर प्रगतिशिल कित्तामा राख्नेले अरुमा बढी शंका गरेको देखिन्छ ।

तथ्यबिना कसैमाथि नानाभाँतीका आरोप लगाउनु पनि गलत आध्यात्मिक चेतना हो । भोली यसो हुनसक्छ भनेर ठोकुवा गर्ने तर अहिले भए गरेकालाई केही नदेख्ने बडा अचम्मको संस्कार छ । अब देखिनेगरी भएका सानातिना कुरालाई पनि महत्व दिनुपर्छ । ती काम गर्नेहरुलाई उर्जा दिएपछि थप बल आर्जन गर्छन् । उनीहरु ठुलठुला उपलब्धी हासिल गर्न सक्छन् ।

जति गरेपनि जस पाइने होइन भन्ने निरासाको वातावरण अन्त्य गर्नुपर्छ । त्यसैले सकारात्मक काम गरोस् त्यो कहिल्यै सानो हुँदैन । जति प्रशंसा गरेपनि कमै हुन्छ । दिल खोलेर सम्मान गर्नुपर्छ । त्यसैले ती प्रहरीले घटना स्थलका प्रमाणका आधारमा म भनुन् र भविष्यमा न डगमगाउन् । उनीहरुको नाम लेख्न असमर्थ भएकाले माफी चाहन्छु । अरु सकारात्मक काम गर्दागर्दै भेट हुने अवसरको अपेक्षा छ ।