काठमाडौं । नेपालमा उत्पादन गरिएको क्यान्सरविरुद्धको औषधि भारतले पनि प्रयोग गर्न थालेको छ । देशमै पहिलोपटक क्यान्सरको औषधि स्वदेश तथा विदेशमा समेत प्रयोग हुन थालेको टिजिग फर्मा प्रालिले जनाएको छ ।
नेपालमा उत्पादित क्यान्सरविरुद्धको औषधि भारतको टाटा मेमोरियल अस्पतालमा उपचार गराईरहेका तीन जनाले नियमित सेवन गर्दै आएका छन् । उनीहरुको नियमित सेवन पश्चात् पुनः माग गरेसँगै अन्य पाँच जनालाई पनि औषधि पठाइएको टिजिगका कार्यकारी निर्देशक शैलेश वैद्यले बताए ।
आज (बिहीबार) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै वैद्यले नेपाली क्यान्सरका रोगीहरुको उपचारका लागि नेपालमा नै औषधि उत्पादन गर्ने पहिलो संस्था स्थापना भएको बताए । उनले देशमै पहिलो सञ्चालनमा आएको र सो औषधी उत्पादन गर्ने टिजिग फर्मा पहिलो भएको समेत बताए ।
निर्देशक वैद्यलाई हालै वल्र्ड बुक अफ रिकर्ड लण्डनको नेपाल च्याप्टरबाट सर्टिफिकेट अफ एक्सिलेन्टसहितले सम्मान गरेको वैद्यले जानकारी गराए । यस सम्मानले आफूमाथि थप जिम्मेवारी र हौसला बढेको बताए ।
वैद्यले क्यान्सरविरुद्धको औषधि उत्पादन नेपालमै गर्नुपर्छ भन्ने मान्यतका साथ अघि बढ्नुको प्रमुख श्रेय र प्रेरणा आफ्नी आमाबाट मिलेको बताए । उनले आफ्नी आमाले समयमा क्यान्सरको उपचार तथा औषधि नपाएका कारण २०५० सालमा मृत्युवरण गरेको बताए ।
घरपरिवारका दिदी, भिनाजु, काका, मामालगायत थुपै्र जनामा क्यान्सरको समस्या देखिएको र क्यान्सरको औषधिको महँगी र उपचार सहज नभएको अवस्थामा नेपालीको स्वास्थ्य सेवा पाउने नैसर्गिक अधिकारको रक्षा गर्ने उद्देश्यका साथ औषधि उत्पादन गर्ने अठोट लिएको बताए । उनले आफ्नो परिवारमा मृत्यु भएका ७५ प्रतिशत सदस्यलाई क्यान्सर भएको पीडासँगै औषधि उत्पादनमा नेपाल किन अघि नबढ्ने भनी आफु अघि बढेको बताए ।
उनले नेपालमा पछिल्लो समय क्यान्सर रोगको बृद्धि डरलाग्दो अवस्थामा रहेको बताउँदै सन् २०२१ मा टिजिजले औषधि उत्पादन शुरु गरि हालसम्म ३५ प्रकारका औषधि उत्पादन शुरु गरेको बताएका छन् ।
नेपालमै खुल्ला बिक्री वितरणका लागि २८ वटा लाईसेन्सको खाँचो रहेकोले प्रक्रियामा गईरहेको समेत जानकारी गराए । यो कम्पनीले हाल ७ वटा मलिकुल ल्याउन सक्ने अवस्था रहेको र भविष्यमा ९ वटा मलिकुलको लागि पहल भईरहेको पनि जानकारी दिए ।
हाल नेपालमा उत्पादन भएको औषधि अन्य मुलुकबाट खरिद गर्नेभन्दा ४० प्रतिशत सहुलियतमा नेपालमा पाईने र गुणस्तरको कुनै कमी नहुनेसम्म वैद्यले प्रष्ट्याए । मल्टीनेशनल कम्पनीको ओषधि भारतमा पनि महँगो रहेको जानकारी गराउँदै वैद्यले नेपालमा औषधि उत्पादन र सप्लाईका लागि प्रक्रिया पूरा गर्ने समय लाग्ने हुनाले एकैपटक उत्पादन गर्न सम्भव नभएको बताए । नेपालमा उत्पादित औषधिले ७५ प्रतिशत माग पूरा गर्न सक्ने उनको आकलन छ । तर, कच्चा पदार्थ सहज र सरल ढंगले नेपालमा पुग्न निकै गाह्रो हुन्छ ।
औषधिको गुणस्तरियताका विषयमा औषधि व्यवस्था विभागको मापदण्डअनुसार गर्छौ र मापन गर्ने आधार त्यसमै निर्धारण गरिएको हुन्छ । एकव्याच औषधि उत्पादन र प्रयोगपछि परिणाम देखाईन्छ । हामीले उत्पादन गरेको औषधि स्वदेशमा मात्र नभै भारतको टाटा मेमोरिलको प्रिप्सकेसनको आधारमा भारतममा समेत औषधि सप्लाई गरेका छौँ, वैद्यले भने । क्यान्सरको एक ट्याब्लेट औषधिको ४ हजार ५ सयसम्म पर्छ । यति महगो औषधिको कच्चा पदार्थका लागि भारत र चीनमा मात्र उत्पादन हुन्छ ।
नेपालमा औषधिको गुणस्तरियता मापनका लागि राष्ट्रिय औषधि प्रयोगशालाबाट परिक्षणपछि औषधि व्यवस्था विभागको मूल्यांकन समितिले स्वीकृत गरेपछि मात्र बजार पाठाईन्छ । हाम्रो कम्पनीले पनि सोही अनुरुप २०५८ साल फागुन ३ गतेबाट स्वीकृति प्राप्त गरि औषधि बजार पठाउन थालेको हो ।
नेपालमा उत्पादित औषधिले रोयल्टी तिर्नु नपर्ने भएका कारण विदेशबाट आउँनेभन्दा आधा सस्तो पर्नेहो । हामीलाई भारतीय औषधि कम्पनीले सहयोग गरेकै कारण कच्चा पदार्थ ल्याउँन सजिलो भएकै कारण थप सहुलियत दरमा बजारमा पुर्याउन नसकेको वैद्यले बताए ।
टिजिगले कति प्रकारका औषधि उत्पादन गर्दछ ?
टिजिग फर्माबाट अहिले फोक्सो, रगत, स्तन, पाठेघरको मुखको, मस्तिष्क, ठुलो आन्द्रामा हुने क्यान्सर रोग विरुद्धका औषधिहरु उत्पादन भई रहेका छन् ।
कम्पनीका प्राविधिक प्रमुख सरोज पौडेल भन्छन्, ‘हाल नेपाली बजारमा क्यान्सरका मुखबाट खाने ३४ प्रकारका मोलिक्युलबाट उत्पादन हुन सक्ने ५३ किसिमको औषधिको उत्पादन गर्नको लागि औषधि ब्यबस्था विभागबाट अनुमति पाई सकेका छौँ ।
यी मध्ये १४ प्रकारका मोलिक्युलबाट उत्पादिन २३ किसिमका औषधिहरु विक्री बितरण गर्न औषधि व्यवस्था विभागले अनुमति दिईसकेको अवस्था छ । तर अहिले टिजिगले नेपाली बजारका लागि ५ प्रकार मोलिक्युलबाट ७ किसिमका औषधिहरु बिक्री वितरण गर्दै आईरहेको छ ।’उनले अरु ९ प्रकारका मोलिक्युलबाट १६ किसिमका औषधि विदेशमा विक्री वितरण हुँदै आएको बताए ।
विदेशमा मात्रै विक्री वितरण गर्नका लागि अनुमति पाएको १६ किसिमका औषधिहरु यतिवेला नेपाली चिकित्सक, अस्पताल र विरामी पक्षबाट निकै नै माग भएका छन् । टिजिगले मुख्य सरोकारवालाहरुको मागलाई ध्यान दिएर अहिले औषधि व्यवस्था विभागमा यी औषधिहरु नेपालमा पनि उपलव्ध गराउन पाउँ भनेर निवेदन दिएको छ ।
विभागले पनि यो विषयमा आफू सकारात्मक रहेको जनाएको कार्यकारी निर्देशक वैद्यले बताए । कम्पनीले भविष्यमा अन्य धेरै प्रकारका क्यान्सर विरुद्धका औषधिहरु बजारमा ल्याउने तयारीमा रहेको पनि उनले जानकारी दिए ।
औषधि प्रयोगमा आउन थाल्यो ?
टिजिगले करीव ९ महिना अघि देखि उत्पादन सुरु गरी बजार पठाउन थालेको औषधिहरु बिरामीले प्रयोग गर्न थालेका छन् । वैद्य भन्छन्, क्यान्सर रोगको उपचारमा नेपालमै रहेका बिरामीका लागि चिकित्सकले प्रेस्काईव गर्न थालेका छन् । भारतमा रहेका विरामीहरुले पनि टिजिगबाट उत्पादित एन्टी क्यान्सरको औषधि उपभोग गर्न थाल्नु भएको छ ।
उनले भारतको दिल्लीस्थित राजिवगान्धी क्यान्सर अस्पताल, मुम्बईको टाटा मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराईरहेका बिरामीहरुले पनि आधिकारिक रुपमा त्यहाँको औषधि नियमक निकायको स्वीकृतिमा टिजिगबाट उत्पादित क्यान्सर विरुद्धको औषधि उपभोग गरिरहेको सुनाए । उनले टिजिगबाट उत्पादित औषधि निकट भविस्यमा अफ्रिकी देशहरुमा निर्यात गर्न लागेको समेत जानकारी दिए ।
प्रेस विज्ञप्ति
‘क्यान्सर सम्वन्धी संसारभरका देशहरुको विवरण प्रस्तुत गर्ने संस्था ग्लोबोक्यान (जसलाई विश्व स्वास्थ्य संगठनले नै इन्डोर्स गरेको छ) ले सन् २०२० मा सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा प्रतिवर्ष २० हजार ५०८ जना क्यान्सरका नयाँ बिरामी थपिने गरेको उल्लेख छ ।
सोही प्रतिवेदनले प्रत्येक वर्ष १३ हजार ६२९ जना नेपालीले क्यान्सरका कारण ज्यान गुमाउने गरेको बताएको छ । नेपालका क्यान्सर विज्ञहरुलाई सोध्ने हो भने ग्लोबोक्यानले प्रस्तुत गरेको यो तथ्यांङ्क बास्तविकता भन्दा निकै कम भएको बताउने गर्दछन् ।’
‘नेपालमा क्यान्सरको उपचार गर्ने संस्था (अस्पताल)हरुकै कुरा गर्दा पछिल्लो दश वर्षमा निकै धेरै स्थापना भई सञ्चालनमा आएका छन् । उदाहरणकै रुपमा भन्नु पर्दा पहिले देखि नै चिनिएको भरतपुर, भक्तपुरबाहेक सरकारी तवरबाट नेपालगञ्जमा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खुलेको छ । काठमाडौँमा त्रिवि शिक्षण अस्पताल परिसरमा सुरेश वाग्ले मेमोरियल क्यान्सर सेन्टर सञ्चालनमा आएको छ ।
यस्तै निजी क्षेत्रबाट हरिसिद्धीमा नेपाल क्यान्सर अस्पताल, भक्तपुरमा काठमाडौँ क्यान्सर सेन्टर, जावलाखेलमा नेशनल क्यान्सर सेन्टर, झापामा पूर्वाञ्चल क्यान्सर सेन्टर र चितवनमा सीएमसी क्यान्सर सेन्टर सञ्चालनमा आएका छन् । यी बाहेक पाटन, वीर, प्रसूती, ओम, ग्राण्डी, वीएण्डबी, ह्याम्स, मेडिसिटी लगायतका नयाँ तथा पुराना ठूला सरकारी तथा निजी अस्पतालमा पनि क्यान्सरको उपचार हुँदै आएको छ ।’