काठमाडौं । न्युयोर्क टाइम्सले अमेरिकाको मध्यकालीन निर्वाचनमा रिपब्लिकनको पक्षमा अपेक्षित लहर नआएको जनाएको छ । प्रारम्भिक सर्वेक्षणहरूले डेमोक्र्याटले हार्ने र रिपब्लिकनले संसदमा बलियो पकड जमाउने दाबी गरेपनि सार्वजनिक परिणामहरूले त्यस्तो स्थिति देखाएको छैन ।
माथिल्लो सदन सिनेटमा बहुमत पुर्याउनका निम्ति रिपब्लिकनले डेमोक्र्याटबाट २ सिट खोस्नुपर्ने हुन्छ । डेमोक्र्याटले रिपब्लिकनबाट पेन्सिलभेनियाको सिट खोसेकाले यस्तो स्थिति आएको हो ।
यता, तल्लो सदनमा बहुमतका लागि रिपब्लिकनले डेमोक्र्याटबाट २१ सिट आफ्नो पक्षमा ल्याउनुपर्ने हुन्छ । तल्लो सदनमा भने रिपब्लिकनले बहुमत ल्याउने संभावना छ ।
सार्वजनिक परिणाम अनुसार सय सिटमा प्रतिस्पर्धा भइरहेको सिनेटमा दुबै पार्टीले ४७ सिटमा जीत निकालेका छन् । तल्लो सदनमा ४ सय ३५ सिटका भएको निर्वाचनमा डेमोक्र्याटले १ सय ६८ र रिपब्लिकनले १ सय ९२ सिट जितेका छन् ।
सन् २०२० को मध्यकालीन निर्वाचनमा तल्लो सदनमा डेमोक्र्याटले २ सय २० र रिपब्लिकनले २ सय १२ सिट जितेका थिए । त्यसबेला सदनको तीन सिट रिक्त थिए ।