काठमाडौं । अभिनेत्री उपासना सिंह ठकुरी विवादमा तानिएकी छन् । चलचित्र ‘डिसेम्बर फल्स’ को हालै सार्वजनिक भएको गीत ‘चार घण्टा कुराएर’ मा लगाएको पहिरनका कारण उनी विवादमा तानिएकी हुन् ।
उनले लगाएको पहिरनमा बौद्ध स्तुपा, स्वयम्भू मन्दिरको चित्र रहेको छ । उक्त पहिरनले भगवानको अपमान भएको भन्दै सामाजिक संजालमा उनको आलोचना भइरहेको छ ।
केही दिन अगाडि भक्तपुरको दरबार स्क्वायरमा छायांकन गरिएको गीतमा उनले यो पहिरनमा अभिनेता आर्यन सिग्देलसँग नृत्य गरेकी छन् । गीत छायांकनका क्रममा एक भिडियो टुक्रा समेत उनले सामाजिक संजाल टिकटमा हालेकी थिइन् । सोही भिडियोका कारण उनको आलोचना भएको हो ।
पौषको १५ गतेबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्म प्रेमकथामा निर्माण भएको हो । फिल्ममा आर्यन र उपासनाकै मूख्य भूमिका छ ।