• कार्तिक ३ २०८१, शनिबार

गिद्धलाई एक गाउँबाट अर्को ठाउँमा स्थानान्तरण

कार्तिक २२ २०७९, मंगलवार

चितवन । गिद्ध प्रजनन केन्द्र कसरामा हुर्काइएका १० गिद्ध जटायु रेष्टुरेन्ट पिठौलीमा स्थानान्तरण गरिएको छ । चितवनको कसरामा संरक्षण गरी कोरलिएका सेतो रम्पेड जातको ती गिद्धलाई प्रकृतिमा घुलमिल गराउनका लागि जटायु रेस्टुरेन्ट पिठौलीको सफ्ट रिलिज एभियरीमा ल्याइएको हो ।

प्रजनन केन्द्रमा हुर्काइएका गिद्ध नवलपरासी पूर्वको पिठौलीमा रहेको गिद्ध घरमा केही दिन राखेर जङ्गलमा अन्य गिद्धसँग घुलमिल हुन सिकाएर जङ्गलमै छाड्नका लागि स्थानान्तरण गरिएको हो ।

संरक्षण विज्ञ डिबी चौधरीका अनुसार कसरामा सन् २००८ देखि हुर्काइएका माउ एवं चल्ला गिद्ध कावासोतीस्थित नमूना मध्यवर्ती सामुदायिक वनमा खोलिएको जटायु रेष्टुरेन्ट नजिकबाट प्रकृतिमा (जङ्गलमा) छाड्नका लागि तयारी गरिएको छ ।

कसराको गिद्ध प्रजनन केन्द्रमा हुर्काइएका ५९ गिद्धलाई अहिलेसम्म जङ्गलमा छाडिसकिएको छ । जङ्गलमा छाडिएका गिद्धको गणना गर्न ढाड र खुटामा सेटलाइट ट्याग लगाएर छाडने गरिएको संरक्षणविज्ञ चौधरीले बताए ।