हालै (गएको कात्तिक अंकमा) हिमाल खबर मासिकमा हालसम्म आरोहण गर्न प्रतिबन्धित ‘माछापुछ्रे हिमाल’ आरोहणका लाग खोल्ने, नखोल्ने सम्बन्धमा एक लेख प्रकाशित भएको छ । सो लेखका लेखकले आफ्नो लेखमा माछापुछ्रे् हिमाल खोल्न नहुने आशय व्यक्त गरेका छन् ।
लेखकले धार्मिक कारण, स्थानीय वासिन्दाहरूको विश्वास, मूल्यमान्यता आदिलाई आधार मानेर आफ्नो धारणा व्यक्त गरेका छन् । नेपाल सरकारले माछापुछ्रे हिमालबाहेक अरू पनि थुपै चिरपरिचित हिमालहरू पर्वतारोहणका लागि खुल्ला गरेको छैन, प्रतिबन्धित रूपमै राखेको छ ।
त्यसरी आरोहण गर्न निषेध गरिएको हिमाल ‘माछापुछ्रे हिम शिखर’ एक्लो होइन । जे होस्, माछापुछ्रे हिमशिखरको उचाइ ६ हजार ९ सय ९३ मिटर रहेको छ । माछापुच्छ्र्रे हिमशिखर हालको राजनीतिक विभाजनअनुसार गण्डकी प्रदेश कास्की जिल्लाको माछापुछ्रे् गाउँपालिकामा पर्छ ।
सो हिमशिखरलाई अंग्रेजी भाषामा ‘फिसटेल’ र जर्मन भाषामा ‘म्याटर्नहर्न’ (स्वीट्जरल्यान्डको म्याटर्नहर्नसँग मिल्दोजिुल्दो भएकोले गर्दा) भन्ने गरिन्छ । यो हिम शिखरको शिर ठ्याक्कै माछाको पुच्छर जस्तै दुईतिर गएर छुट्टिएको छ ।
त्यस्तै यो हिमाल नर्सले लगाउने ‘ह्याट/टोपी’ जस्तो पनि देखिन्छ । त्यस्तै विकिपिडियाका अनुसार स्थानीय गुरूङ आदिवासीले मातृभाषामा ‘कतासुँ क्लिको’ भन्छन् भनिएको छ ।
खासमा भन्ने हो भने, सुरूदेखि नै माछापुच्छ्र्रे हिम शिखर आरोहण गर्न नेपाल सरकारले निषेध गरेको थिएन । माछापुछ्रे हिम शिखरको आरोहण इतिहास हेर्दा सर्वप्रथम सन् १९५६ मा माछापुच्छ्र्र्रे हिम शिखर आरोहण गर्ने बाटो खोज्ने काम बेलायती पर्वतारोही टोली गरेको देखिन्छ (डा. हर्क गुरूङ, ‘विषय विविध पाना–८६’) ।
सो टोलीले बाटो खोज्दै जाने क्रममा पञ्चेनीवराह नजिकको तोमोँखर्कभन्दा माथि ‘दलित जातका मानिस, कुखुरा र सुँगुरको मासु आदि लैजान नपाउने बन्देज छ’ भन्ने थाहा भयो । त्यसैकारण सो भन्दा माथिका ठाउँलाई ‘अन्नपूर्ण सेङचुरी’ नामाकरण गरेका हुन्, बेलायती पर्वतारोही टोलीले ।
गुरूङले लेखेअनुसार सोही बेलायती पर्वतारोही टोलीले नै सन् १९५७ मा फेरि पनि माछापुछ्रे्र हिमशिखर आरोहणका लागि प्रयास गर्यो । सो वर्ष बेलायती पर्वतारोही टोली माछापुच्छ्र्रे हिमशिखरभन्दा ४५ मिटरमुनि पुग्दा हिमपात भएका कारण असफल भयो ।
सो आरोहण टोलीका नेता तथा बेलायती सेनाका कर्नेल जिमी रोबर्ट काठमाडौंस्थित बेलायती राजदूतावासमा कार्यरत कूटनीतिज्ञ हुनुका साथै पदयात्रा उद्यमका एक अगुवा पनि थिए ।
त्यसैले उनमा आपूmले चढ्न नसकेको हिम शिखरमा अरू नगए हुन्थ्यो भन्ने व्यक्तिगत भावना हुनु स्वाभाविक हो, जुन कुरो सो टोलीका सदस्य पर्वतारोही तथा कवि विल्फ्रिड नोयशको किताब ‘क्लाइम्बिङ दि फिसेज टेल (सन् १९५८)’ बाट प्रस्ट हुन्छ ।
‘आफूले माया गर्ने हिम शिखर (चुली) लाई चोखो राख्ने उनको चाहनाले त्यसवेलाको नियमलाई प्रभावित पार्यो’, गुरूङले थप लेखेका छन् । पछि गएर सन् १९८३ मा तत्कालीन श्री ५ को सरकारले गठन गरेको विदेशी नामाकरण भएका हिमचुलीहरूको नेपाली नामाकरण गर्ने समितिको संयोजक गुरूङ स्वयम् रहेका थिए ।
गुरूङले थप उल्लेख गरेका छन्, ‘सन् १९८३ मा विदेशी नाउँ भएका चुलीको नेपाली नामाकरण गर्ने समितिको संयोजकको रूपमा म मोदीखोलाका गाउँहरू घुमेँ । हिमचुलीको स्थानीय नाउँ त फेला परेन, तर अन्य सांस्कृतिक तथ्य पत्ता लागे ।’
त्यसरी माछापुछ्रे हिम शिखर आरोहण गर्न निषेध गरेको धेरैपछि सन् २००१ मा राष्ट्रिय समाचार समिति (रासस) ले ‘माछापुछ्रे विवाद’ शीर्षक राखेर पोखरावासीहरूको विचारलाई समाचार बनाएर छलफल (रेडियो नेपालमा प्रसारण) गरेको थियो ।
त्यसरी प्रसारण भएको समाचारमा अधिकांश पोखरावासीहरूले त्यो वेला माछापुछ्रे हिमशिखर सुन्दर र पवित्र भएको हुनाले खोलिनु हुन्न भनेका थिए, केहीले अध्ययन गर्नुपर्छ भनेका थिए भने केहीले चाहिँ सम्बन्धित गाविसको विचार (धारणा) बुझ्नुपर्छ भनेका थिए ।
जबकि, कुनै हिमशिखर वा स्थान अथवा स्थल पवित्र र सुन्दर हुँदैमा त्यहाँ जानै हुँदैन, टेक्नै हुँदैन भन्नु तर्क संगत र न्याय संगत, वास्तविक तथ्य र वैज्ञानिक ढंगले अध्ययन गर्दा सही ठहरिएला त ?
अझ आजभोलिको जमानामा त त्यसो गर्नु अव्यवहारिक नै पो हुन्छ कि ? हुन पनि के भन्ने गरिन्छ भने, कुनै पनि हिम शिखर आरोहणको आकर्षण भनेकै पर्वतारोहीका लागि त्यो हिमाल कति सुन्दर छ, कति आकर्षक छ, चढ्नमा कति अप्ठ्यारो छ, कति उचाइको छ, कति पर्वतारोहीले चढे ? भन्नेमा रहेको हुन्छ ।
पहिलो प्रदेश सरकार बनेपछि तत्कालीन प्रदेश सरकार र स्थानीय सरकारले माछापुछ्रे हिमशिखरलाई पर्वतारोहीमाझ आरोहण गर्नका लागि अनुमति दिनुपर्ने/खोल्नुपर्ने भनी केन्द्रीय सरकारलाई आफ्नो राय/सुझाव दिइसकेको छ ।
त्यो बेलाको नेपाली समाज र चेतनाअनुसार त्यसरी माछापुछ्रे हिमशिखर आरोहण गर्न निषेध गर्दा खुसी भए पनि, चुप लागेर त्यो बेला (लगभग ७० वर्षअघिको) को भन्दा आज धेरै फरक सोच्ने र बुझ्ने भइसकेका छन् ।
आजभोलिका कुनै पनि पोखरेलीहरूसँग फेरि पनि माछापुछ्रे हिमशिखरलाई निषेधित राखिराख्नु ठीक होला कि, आरोहणका लागि खुल्ला गर्नु ठीक होला ? भनी दोहोर्याएर प्रश्न गरेमा, बहस र छलफल चलाएमा विरलै पोखरेलीहरूले मात्रै ‘माछापुछ्रे हिम शिखरलाई अझै पनि निषेध गरेरै राखौं, किनभने, माछापुछ्रे हिम शिखर पवित्र छ, सुन्दर छ !’ भन्लान् ?
त्यसैले अब केन्द्रीय सरकारले जतिसक्दो चाँडो माछापुछ्रे हिमशिखरलाई विश्वभरिका पर्वतारोहण प्रेमीका लागि खुल्ला राम्रो हुन्छ । यसो गरेमा माछापुछ्रे हिमशिखरले गण्डकी प्रदेशको विकासको ढोका पनि खोल्छ ।
किनभने, माछापुछ्रे हिमशिखर अन्य हिमशिखर हेरी केही सुगम स्थानमा छ, नजिक छ, आकर्षक र अति सुन्दर पनि छ । उचाइ पनि न धेरै अग्लो न धेरै होचो, ठिक्कको छ ।
सबैभन्दा महत्वपूर्ण भनेको यो हिमशिखर हालसम्म कसैले नचढेको कुमारी अर्थात् ‘भर्जिन’ रहेको छ । साथै अन्नपूर्ण संरक्षण आयोजनाले विगत लामो समयदेखि जैविक विविधताको संरक्षण गर्दै आएको छ ।
त्यस्तै वन–जंगल, वातावरण, जंगली पशु–पंक्षी, स्थानीय आदिवासी र अन्य जातजातिको भाषा, भेषभुषा, संस्कार, संस्कृति, रहनसहन आदिको पनि संरक्षण र संवर्द्धन गर्दै आएको छ, नयाँ बाटोघाटो बनाएको छ ।
त्यस्तै बिग्रेको–भत्केको र पुरानो बाटोघाटोहरू पनि मर्मत–सम्भार गर्ने गरेको छ । त्यसैले माछापुछ्रे हिमशिखर आरोहणका लागि खुल्ला गर्ने बित्तिकै सबैथोक नास भई हाल्छ भन्ने चिन्ता लिनु पर्दैन ।
बरू माछापुछ्रे हिमशिखर आरोहण गर्न खुल्ला गरेमा सो कार्यले नयाँ रोजगारीको अवसर र स्थानीय वासिन्दाका लागि आयआर्जनको बाटो पनि खुल्ला हुने देखिन्छ । माछापुछ्रे हिमाल खुल्ला भएमा गण्डकी प्रदेश नेपालको आर्थिक, पर्यटकीय, मनोरञ्जन तथा विदा मनाउने हबको रूपमा विकसित हुने निश्चित छ ।
किनकि, माछापुछ्रे हिमाल नयाँ, आकर्षक, मानव वस्तीबाट वा भनौं बजार क्षेत्रबाट सबैभन्दा नजिक रहेको, हालसम्म कसैले पनि चढ्न नपाएको तथा ‘कुमारी’ हिमाल भएको भन्ने पर्यटन क्षेत्रमा संबद्ध रहेकाहरूलाई दोहोर्याएर बुझाइरहनै पर्दैन ।
अर्को भनेको नेपाल सरकारले स्वदेशी तथा विदेशी पर्वतारोहीका लागि तत्कालै माछापुछ्रे हिमाल आरोहण खुल्ला गरेमा गण्डकी प्रदेशमा विदेशी तथा स्वदेशी पर्यटकको आगमन अहिलेभन्दा दुई/तीन गुणाले बढ्ने देखिन्छ ।
पर्यटन बढेसँगै आर्थिक क्रियाकलाप, मनोरञ्जनात्मक कार्यक्रम, सभा, सम्मेलन, बैठक, विवाह उत्सव आदि गर्ने तथा विदा मनाउने उदेश्यले आउने वाह्य तथा आन्तरिक पर्यटकको एक प्रमुख गन्तव्यको रूपमा विकशित भएर विस्तारै नेपालका सात प्रदेशमध्येकै धनी प्रदेशको रूपमा उदाउने छ, गण्डकी प्रदेश ।
यो प्रदेश (गण्डकी) नेपालका सबै ठाउँबाट आउजाउ गर्न सहज (बीच भागमा) छ भने, पोखरा उपत्यका र यसका वरिपरि घुम्ने, विदा मनाउने र मनोरञ्जन गर्ने स्थलहरू प्रशस्तै रहेको छ ।
त्यस्तै हिँड्न सक्ने र घुम्नमा रमाउनेहरूले पोखरा उपत्यका नजिकैका नौडाँडा, पुम्दी–भुम्दी, सराङकोट, ह्याङ्जा, स्याक्लुङ, बेगनास ताल, नयाँपुल, वीरेठाँटी, तिखेढुंगा, धम्पुस, पोथाना, लान्द्रुक आदि क्षेत्रको एक–दुई दिने यात्रा पनि गर्न सक्छन् ।