• असार २२ २०८१, शुक्रबार

बटुवालाई सरसफाई सन्देश पढाउँदै दाङको खानेपानी कार्यालय

कार्तिक १९ २०७९, शनिबार

घोराही, १९ कार्तिक ।
दाङको घोराहीको तुलसीपुरचोक हुँदै दक्षिणतर्फको जिप्रका रोडमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय छ । त्यो कार्यालय अगाडि सडकको पूर्वी किनारामा हिँड्नेहरु पर्खालतिर नजर लगाउँछन् । पढ्न जानेकाले अक्षर बोलाउँछन् । नजानेकाले चित्र हेर्छन् । बाहिरी पर्खाल चित्र र अक्षरले सजिएको छ । हरेक वाक्य र चित्रले सरसफाइको गतिलो सन्देश दिएका छन् ।

त्यहाँ लेखिएका अक्षर र बनाइएका चित्र अनुसार मात्रै जीवन चलाउने हो भने धेरै परिवर्तन हुने देखिन्छ । स्वस्थ जीवन बिताउन गज्जबको आधार छ । त्यसका लागि अक्षर र चित्रले दिएका सन्देशको अक्षरसः पालना गर्नुपर्छ । अलि तल पुगेका दुई युवा केही बिर्सेजस्तो गरी फर्केर कार्यालय गेटमा आए । तिनले मुख धोए र पानी खाए । चिसा हातले कपाल सेप्दै जिल्ला प्रहरी कार्यालय घोराही तर्फ अघि बढे । उनीहरुको मुहारमा चमक थियो । सित्तैमा मुख धुन पाउँदाको खुशी हुनुपर्छ ।

घोराहीमा एक बोतल पानीलाई ३० रुपैयाँसम्म पर्छ । त्यसै धाराको दायाँ र बाँया भित्ताभरी सरसफाई सम्बन्धि सचित्र सन्देशहरु लेखिएका छन् । कार्यालयको बाहिरी पर्खाल सबैले बुझ्ने भाषा र चित्रका सरसफाई सन्देशले भरिएको छ । डिभिजन कार्यालय प्रमुख भोलाप्रसाद थापाको आगमन सँगै कार्यालय परिसरको रुप बदलिएको सहयोगी रामु चौधरीले बताउनुभयो । सेतो पोतिएको भित्ता टलक्कै टल्किन्छ । धेरैका भित्ताहरु वर्षातको सियाँली र झारपातले घिनलाग्दा देखिन्छन् । असोज अन्तसम्मै वर्षात लागेकाले सरसफाई गर्न भ्याएका छैनन् । डिभिजन कार्यालय भने सरसफाइको सन्देश बाँड्ने गतिलो उदाहरण बनेको छ ।

सरकारी कार्यालय भएर घर भन्दा सफा छ भनेर नजिकका होटल व्यवसायीले जानकारी दिए । तिनले भनेजस्तै कार्यालयको गेट बाहिर पनि फोहोर छैन । त्यो भित्तामा ‘सफा राखौँ घर आगन, शुद्ध पिउँ पानी निरोगी र स्वस्थ हुन्छ हाम्रो जिन्दगानी ।’ लेखिएको भेटिन्छ ।
ठूला अक्षरमा लेखिएको यो भनाई सडकको बिचबाटै पढ्न सकिन्छ । फुटपाथमा पैदल यात्रीले हिँड्दै पढ्दै गर्न लायक अक्षरमा लेखिएको छ ।

फुटपाथका पैदलयात्रुहरु पढ्दै र हिँड्दै गरेको आफूहरुले देखेको स्थानीयले बताए । यसैगरी साबुन पानीले हात धुनै पर्ने अवस्था भनेर सिकाइएको छ । जसमा ‘खाना बनाउनु, खानु र खुवाउनु अघि । चर्पीको प्रयोग गरेपछि । बिरामी तथा बच्चाको स्याहार गरेपछि । कुनै फोहोर वा विषादी छोएपछि र खेतबारीमा काम गरेपछि । हात धुनुपर्छ’ भनेर लेखिएको छ ।

हात नधुनेहरुका लागि यति नै लेखाइले बदल्न सक्ने जानकारी छ । यसैगरी झाडा पखालाबाट बच्ने उपाएहरु पनि लेखिएका छन् । जसमा साबुन पानीले हात धुँदा ४५ प्रतिशत, शुद्ध पानी पिउने गर्दा ३९ प्रतिशत, व्यवस्थित चर्पीको प्रयोग गर्दा ३२ प्रतिशत र खानेपानीको सञ्चय गर्दा २० प्रतिशतले झाडापखालाबाट बच्ने उपाए लेखिएको छ । अति महत्वपूर्ण सन्देश फोटो खिचेरै लैजान सकिन्छ ।

यसैगरी ‘स्वास्थ्य सभ्यता र विकासका लागि सरसफाई । स्वच्छ गाउँ, सफा शहर पूर्ण सरसफाई हाम्रो रहर ।’ भनेर पूर्ण सरसफाईका उद्देश्यको बारेमा जानकारी गराइएको छ । ‘बेला बेलामा फिल्टर सफा गर्नुपर्छ’ भनेर लेखिएको छ । त्यसकै मुनि फिल्टरको तस्विर बनाइएको छ । त्यसले फिल्टर नदेखेकालाई पनि सजिलो बनाएको छ । ‘पूर्ण सरसफाईमा प्रतिबद्धता, हामी सबैको एक्यवद्धता’ भनेर लेखिएको छ ।

यसले सरसफाईमा अघि बढ्न प्रेरणा दिन्छ । ‘चर्पी सँधै सफा राख्ने गरौँ’ लेखिएको छ त्यसको मुनि महिलाले सरसफाई गर्दै गरेको शौचालय छ । त्यो सरसफाई गरिरहेकी महिला र शौचालय निकै सफा छ । हावा पस्ने खुला शौचालयको तस्विर छ । धेरैका घरमा सास थुनिने जस्ता, प्वालै नराखेर बनाएका शौचालयहरु छन् । तिनका लागि निकै उपयोगी छ ।

गन्हाउने शौचालय राख्नु हुन्न भनेर सन्देश प्रवाह गरेको छ । यसैगरी चर्पीको आवश्वयकता हुनुको कारण पनि त्यसै भित्तामा लेखिएको सन्देशले खुलाएको छ । जसमा ‘घर गाउँ टोल सफा राखी सभ्य नागरिकको परिचय दिन । जथाभावी दिसापिसाब गर्नाले फैलिने रोगबाट बच्न । बालबालिका बृद्धबृद्धा बिरामी र अशक्तहरुका लागि जनसुकै समयमा प्रयोग गर्न, लाज डरबाट बची निर्धक्कसँग दिसापिसाब गर्न, सर्प, बाघ र भालु जस्ता जीवजन्तुबाट बच्न । हुरी बतास र झरीबाट बच्न ।’

शौचालयको आवश्यकता छ भनेर भित्तामा सरसफाई सन्देश लेखिएको छ । पानी शुद्धिकरणका लागि पनि उपाए सिकाइएको छ । ‘क्लोरिनको झोल हालेको आधाघण्टा पछि प्रयोग गर्ने’ भनिएको छ । त्यसको मुनि पनि पानीको भाँडामा क्लोरिनको थोपा खस्दै गरेको तस्विर छ । यसले क्लोरिन हाल्ने तरिका पनि सिकाएको छ । यसैगरी पानी शुद्धिकरण गर्ने तरिकाहरु पानी उमाल्ने, क्लोरिनेशन गर्ने, फिल्टर गर्ने र घाममा सुकाउने (सोडिस गर्ने ।’ पनि तिनै भित्तामा पढ्न सकिन्छ ।

‘आर्सेनिक परिक्षण गरी सुरक्षित पानी पिऔँ र स्वस्थ बनौँ । रोग लागेर उपचार गर्नुभन्दा राग नै लाग्न नदिनु उत्तम हो ।’ भनेर नाराको रुपमा सरसफाई सन्देश छ । ‘पानी कम्तीमा एक भुल्को उमाल्नै पर्छ’ भनेर दाउरा हालेर चुलोमा पानी बसालेको देखिन्छ । पानी बफाउँदै गरेको दृश्य छ । साँच्चै उम्लिरहेको जस्तो पनि लाग्छ । यसैगरी ‘कुुहिने र नकुहिने फोहोर व्यवस्थापन’ लेखिएको छ त्यसको मुनी रातो भाँडोमा नकहिने र हरियो भाँडो मा कुहिने फोहार हालिएको देखाईएको छ । दुवै भाँडा फोहरले टमक्कै भरिएका देखाइएको छ ।

टाढै बाट मानिसले फोहोर संकलन गर्ने तरिका बुझन सक्छन् । त्यसै गरी आफनो घर तथा कार्यालयमा फोहोर फाल्ने भाँडा राख्न सक्छ । जोखिमपूर्ण अवस्थामा साबुन पानीले हात धोऔँ भनेर लेखिएको छ । त्यसको मुनि पनि टुटीबाट पानी झर्दैै गरेको र साबुनले हात मल्दै गरेको तस्विर छ । हात धुने तरिका देखाएको छ । यसैगरी साबुन पानीले हात धुँदा के फाइदा हुन्छ ? भनेर त्यसको जवाफ छ ।

जसमा ‘झाडापखाला टाइफाइड जस्ता रोगबाट बच्न सकिन्छ । स्वासप्रश्वास सम्बन्धि रोगबाट बच्न सकिन्छ । बाल तथा शिशु मृत्युदरका बिरामीहरुलाई न्यूनिकरण गर्न सकिन्छ । कुपोषणको समस्या कम गर्न सकिन्छ । औषधि उपचारको पैसा बचत गर्न सकिन्छ ।’ यो सन्देशले स्वस्थ जीवनका लागि महत्व राख्छ ।

यसैगरी ‘हाम्रो घरमा चर्पी छ हामीलाई यसमा गर्व छ । फलफूल ताजा हेरेर खानुपर्छ । तरकारी काँचै खानु हुँदैन । बाटोेमा राखिएको खाना र पेय पदार्थ खानु हुँदैन । खोला, धारा वा मुलको पानी सिधै पिउनु हुँदैन ।’ भनेर भित्तामा लेखिएको छ । हरेक सन्देशका लाइनहरु रातो र हरियो रंगका भएर अकर्षक र पढुँ पढुँ जस्तो बनाइएको छ । सिपालु चित्रकार र दक्ष लेखकले कार्यालयको भित्तालाई आकर्षक बनाएका छन् । ‘तरकारी फलफूल धोएर खाने गर्ने ।’ भनेर लेखिएको छ त्यसको मुनि एक जना महिलाले तरकारी धुँदैछिन् । पढ्न नजान्नेले पनि त्यो चित्र हेरेर तरकारी धुने तरिका थाहा पाउन सकिने बनाइएको छ ।

‘सफा र सुद्ध पानी पिउने गरौ’ भनिएको छ । त्यसमा पनि महिलाले पानी पिउँदै गरेको तस्विर छ । ‘स्वास्थ्य र सरसफाई स्वस्थ नागरि राष्ट्रलाई ।’ सन्देश लेखिएको छ । यसले आफ्नो स्वास्थ्य सुधारको प्रेरणा दिन्छ । साबुन पानीले हात धुने गरौँ लेखिएको छ त्यसका मुनि एकजना पाका मानिसले बच्चाको हात धोइदिँदै छन् । नजिकै साबुन छ । मिचिमिचि हात धोइरहेको दृश्य अकर्षक छ । त्यसले फिँज निकालेर मज्जाले हात धुनुपर्छ भनेर बटुवाहरुलाई सिकाई रहेको छ ।

‘पहिलाका हाकिमले फुल रोप त भन्नुहुन्नथ्यो, किन्ने पैसा दिनुहुन्नथ्यो’ एक कर्मचारीले भन्नुभयो, ‘अहिले सर आएपछि गमला किनेको हो ।’ उहाँले भनिरहँदा मुख्य ढोका बाहिर दुईतर्फ हजारी फुलेका छन् ।

गमलालाई पनि सिँढीसिँढी जस्तै बनाएर सुन्दर ढंगले राखिएको छ । कार्यालय भित्र प्रवेश गर्ने हरकोहीले प्रशंसा गर्न लायक छ । त्यो देखेर आफ्नो घर एवम् कार्यालयमा अनुकरण गरि लैजान उपयुक्त मानिन्छ । चाइनिज दुबो र हजारी लगायत अनेक थरिका फूल कार्यालय परिसर भित्र रहेका छन् । बाहिर भित्तामा सरसफाईको नारा थप्ने र भित्र अझै सुन्दर बनाउने योजना रहेको कार्यालयका प्राविधिक गजेन्द्र बहकरीले जानकारी दिनुभयो ।

खुला दिसा मुक्तका अभियान्ता बहकरीका अनुसार सरसफाईको कार्यालय भनेपछि देख्दा पनि हुनुपर्छ । अहिले सरसफाईको कार्यालय भनेर सुहाउने गरि कार्यालयले संरचना बनाएको छ । खुला दिसा मुक्त अभियानका जिल्ला सरसफाई फोकल पर्सन एवम् अहिले खानेपानी तथा खानेपानी तथा सरसफाई कार्यालय बाँकेका डिभिजन प्रमुख तिलक न्यौपानेले फूल हेर्न जाउँ भन्नुभयोे ।

उहाँले भनेजस्तै भित्र फूलैफूल देखेपछि खुशी व्यक्त गर्नुभयो । दाङका प्रमुख थापासँगै फूलको नजिकमा फोटो सेशन चलेको थियो । सरसफाई सुन्दरता र सजावटमा कार्यालयले ध्यान दिएको प्रष्ट हुन्थ्यो । कार्यालय बाहिरको पर्खालदेखि गेटभित्रको सरसफाईले साँच्चै सरसफाई सन्देश बाडेको भन्न मिल्थ्यो ।