काठमाडौं । पूर्वकानुनमन्त्री अग्निप्रसाद खरेलका अमेरिकी सेनामा कार्यरत छोरा निशानको नेपाली नागरिकता र मतदाता नामावलीमा नाम अझै कायम रहेको पाइएको छ ।
निशानले अमेरिकी नागरिकता लिएको भए नेपाली नागरिकता कायम राख्नु र मतदाता नामावलीमा नाम रहनु कानुन विपरीत हुन्छ । नेपालमा दोहोरो नागरिकता लिन पाइने कानुन छैन ।
अमेरिकी सेनामा कुनै पनि विदेशी भर्ना हुन स्थायी बसोबासको अनुमति (ग्रिन कार्ड) भएको वा अमेरिकाको नागरिकता लिएको हुनुपर्छ ।
ग्रिन कार्ड पाएको केही वर्षमा सर्त पूरा गरेर अमेरिकाको नागरिकता लिन सकिन्छ । अमेरिकी सेनामा भर्ना भएपछि त्यहाँको नागरिकता पाउन योग्य हुन्छ र नागरिकता लिन झनै सजिलो हुन्छ । निशानले अमेरिकी नागरिकता लिएका भए नेपाली नागरिकता त्याग्नुपर्छ । नेपाली नागरिकता त्यागेकाको मतदाता नामावली हटाइन्छ । निशानको भने मतदाता नामावलीमा नाम कायमै छ । काठमाडौं क्षेत्र नम्बर २ को मतदाता नामावलीमा उनको नाम रहेको निर्वाचन आयोगको वेबसाइटमा उल्लेख छ ।
नागरिकता ऐन अनुसार विदेशी नागरिकता लिएको व्यक्तिले नेपाली नागरिकता त्यागको सूचना दर्ता गराएपछि मात्र नेपाली नागरिकता कायम नरहने कानुन छ ।
अग्नी खरेल र उनका छोरा निशान खरेलले अमेरिकी सेनामा भर्ती भएर त्यहाँको नागरिकता लिएका भए किन मतदाता नामावलीमा नाम कायम छ ? भनेर हामीले खरेललाई सोधेका थियौं ।
खरेलले आफ्ना छोराले अमेरिकी नागरिकता लिएको इन्कार गरेनन् तर उक्त कुरा यकिनसँग भन्न नसक्ने बताउँदै उनले नेपाली नागरिकता त्याग्ने-नत्याग्ने छोराकै कुरा भएको जवाफ दिए ।
‘मेरो छोराले कहाँ जागिर खाने भन्ने उसको छनोटको अधिकार हो । ऊ अमेरिकी सेनामा जागिर गरेको सात वर्षजति भयो । यसबीच उसले यहाँ आएर मतदान गरेको छैन । यहाँको नागरिकता त्याग्ने-नत्याग्ने उसकै कुरा हो । मैले त्यहाँको नागरिकता लिएको हो कि होइन भनेर सोधेको छैन,’ खरेलले भने ।
झापा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाको उम्मेदवार बनेका खरेल कानुनमन्त्री र महान्यायाधिवक्ता रहिसकेका छन् । सेतोपाटीबाट ।