• फाल्गुन २७ २०८२, बुधबार

पाकिस्तानी प्रधानमन्त्रीले गरे इमरान खानमाथीको आक्रमणको निन्दा, चिनबाट फर्केलगत्तै गर्ने भनिएको पत्रकार सम्मेलन नै स्थगित

कार्तिक १७ २०७९, बिहीबार

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले पूर्व प्रधानमन्त्री इमरान खानमाथि भएको गोली प्रहारको निन्दा गरेका छन् । उनले गृहमन्त्री राणा सनाउल्लाहलाई आईजी पुलिस र पञ्जाबका मुख्य सचिवसँग तुरुन्त घटनाको थप रिपोर्ट लिन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री सरिफले गोली प्रहारको घटना सार्वजनिक भएपछि चीन भ्रमणबारे जानकारी दिन पूर्व निर्धारित पत्रकार सम्मेलन स्थगित गरेका छन् । शाहबाज सरिफ दुई दिने चीन भ्रमण सकेर आजै स्वदेश फर्किएका हुन् ।

इमरान खान सबार कन्टेनरमा भएको आक्रमणकै कारण उक्त पत्रकार सम्मेलन स्थगित गरिएको सूचना मन्त्री मरियम औरङ्गजेबले बताएकी छन् । ‘गोलीबारीको घटनापछि उत्पन्न संवेदनशितलाई मध्यनजर गर्दै प्रधानमन्त्री शाहबाज सरिफको चीन भ्रमणपछि गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरिएको छ,’ मन्त्री मरियमले भनिन् ।

इमरान खानले तत्काल चुनावको माग गर्दै आह्वान गरेको लंग मार्चको सातौं दिनमा गुजरान्बालाको अल्लाहवाला चौकमा यो घटना भएको हो । गोलीबाट चोट लागेका खानको स्थिति भने सामान्य रहेको बताइएको छ ।