• मंसिर १५ २०८१, शनिबार

बैंकहरुले ३ दिनमै लिए एक खर्ब, ७३ अर्ब सापटी

कार्तिक १६ २०७९, बुधबार

काठमाडौं । वाणिज्य बैंकहरूमा तरलताको दबाब बढ्दै गएको छ । दुई सातामा वाणिज्य बैंकबाट २३ अर्ब निक्षेप घटेको छ । गत असोज ३१ मा ४५ खर्ब ४७ अर्ब रूपैयाँ निक्षेप रहेको बैंकहरूमा कात्तिक ११ गतेसम्म आइपुग्दा निक्षेप घटेर ४५ खर्ब २५ अर्बमा सीमित भएको छ । यो अवधिमा कर्जा लगानी भने पाँच अर्बले बढेर ४२ खर्ब २५ अर्ब रूपैयाँ पुगेको छ ।

बैंकहरूको कर्जा निक्षेप अनुपात समेत दुई सातामा ८७.२० प्रतिशतबाट बढेर ८७.५८ प्रतिशत पुगेको छ ।
यता बैंकहरूले एकअर्काबीच लिने सापटी (अन्तर बैंक) को ब्याजदर समेत ८.५१ प्रतिशत पुगेको छ ।

राष्ट्र बैंकले यो दरलाई धेरै बढ्न नदिन ब्याजदर कोरिडरको अवलम्बन गरेको छ । कोरिडोरको माथिल्लो सीमामा रहने स्थायी तरलता सुविधाको ब्याजदर समेत ८.५ तोकिएको छ । यो माथि अन्तरबैंक ब्याजदर जान नदिन राष्ट्र बैंकले प्रयास गर्छ । यो क्रममा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा तरलता पठाउँछ । अर्थात् यस्तो सापटी लगायतका विकल्प बढाउँछ ।

तरलता दबाब बढेसँगै राष्ट्र बैंकबाट गत तीन दिनको अवधिमा बैंकहरूले एक खर्ब ७२ अर्ब रुपैयाँ स्थायी तरलता सुविधा चलाएका छन् । यसको अवधि ५ दिनको हुन्छ ।

चालु आर्थिक वर्षको यो अवधिसम्ममा बैंकहरूले २३ खर्ब ६६ अर्ब रूपैयाँ यस्तो सुविधा चलाएका छन् ।