एक जमाना थियो । युरोप संसार खोज्न हिँडिरहेको थियो । यसको अगुवाइ बेलायतले गरिरहेको थियो । अरू पनि कम थिएनन् ।
संसार खोज्ने र झण्डा गाडेर आफ्नो भनी नामाकरण गर्ने होड चलेको थियो । तर पूर्वीय देशहरू भने गुमनाम थिए । कतै कतै त सरकारसम्म पनि थिएनन् ।
राज्य कविलायी प्रकृतिका थिए । कविलायी समूहहरूमा झैझगडा भइरहन्थ्यो । बाह्य आक्रमण र परिस्थितिका बारेमा पूर्वीय देशहरू जानकार थिएनन् । र, उनीहरूमा सचेतता पनि थिएन ।
पश्चिममा बेलायतसहित अन्य देशहरू नयाँ नयाँ भूमिको खोजीमा थिए । सात समुद्र पार गर्दै डुलिरहेका थिए । उनीहरू संसार विचरण गर्ने घुमन्ते वा यायावर थिए । यो त्यति बेलाको नौलो र आश्चर्यजनक खोज थियो ।
यही सिलसिलामा अस्ट्रेलियाको माटोमा पहिलो पाइला राख्ने विदेशी थिए– डच नागरिक विलियम यान्सन । उनी अष्ट्रेलियाली भूमि टेक्ने पहिलो युरोपेली थिए । शायद यो सोह्रौं शताब्दीको कुरा थियो ।
सन् १६०६ तिर आफ्नो पाइला परेपछि डचहरूले यो विशाल भूमि वा महादेशको नाम राखिदिए, ‘न्यु हल्याण्ड’ ! भनिन्छ, ‘भालुले देखेको तेर्छो तिमिलो ।’ उनीहरूले यस नयाँ भूमिलाई उनीहरूको आफ्नै हल्याण्डजस्तै देखे ।
उनीपछि सन् १६८८ मा अष्ट्रेलिया आएका बेलायती नागरिक विलियम ड्याम्पियरले पनि अस्ट्रेलियन भूमिमा पाइला टेकेका थिए । उनी पानी जहाजका नाबिक थिए ।
उनीभन्दा धेरैपछि सन् १७७० मा अष्ट्रेलिया आएका अर्का बेलायती जहाज क्याप्टेन जेम्स कुकले यो भूमिलाई ‘न्यु साउथ वेल्स’ नाम राखिदिएका थिए ।
यो मलिलो उर्वर भूमिलाई कुकले बेलायतको भएको घोषणा पनि गरेका थिए । यो बेलामा युरोपेली देशका नाविक तथा क्याप्टेनहरू नयाँ नयाँ देश तथा भूमिको खोजीमा थिए ।
एसिया, अफ्रिका तथा दक्षिण अमेरिकाका भूमिहरू बेलायतको नजरमा परिसकेका थिए । आश्चर्यको कुरा त के छ भने आजको अष्ट्रेलिया नाम पनि त्यहाँको स्थानीय नाम होइन, बरू यो बेलायती नाविक म्याथु फ्लिन्डर्सको सुझाव अनुसार राखिएको नाम हो । अस्ट्रेलियाको अर्थ दक्षिणको देश भन्ने हुन्छ ।
युरोपेलीहरू त्यहाँ पुग्ने बेलासम्म यो देशको नाम थिएन । स्थानीय भूमिको विभिन्न नाम भने अस्तित्वमा थिए । यो भूमिमा २५० थरी आदिवासीहरूले आआफ्नो क्षेत्रमा राज गर्ने गर्दथे ।
तर त्यसभूमिमा ७० हजार वर्षदेखि मानव सभ्यता जीवित रहँदै आएको थियो । तर पनि आश्चर्यको कुरा, बेलायतीहरूले हाम्रो भनेर घोषणा गर्दा पनि सिंगो अस्ट्रेलियामा सरकार, सेना र संगठित राज्य संरचना नै थिएन ।
उता बेलायतीहरूले आफ्नो भनेर घोषणा गरिसकेपछि अष्ट्रेलियाको भूमि उपयोग गर्न थालिहाले । उनीहरूले बेलायतमा मृत्युदण्डजस्ता कडा सजाय पाएका बेलायती कैदीहरूलाई देश निकाला गरेर अष्ट्रेलिया पठाउन सुरू गरे ।
यस्ता देश वा भूमिहरूलाई उनीहरूले ‘पीनल कोलोनी’ वा ‘बापतीको बस्ती’ भनेर नामाकरण गरिदिन्थे । बेलायतले अमेरिकामाथि उपनिवेश जमाउँदा पनि यस्तै गरेको थियो । आफ्नो उपनिवेश रहँदाको बखत बेलायत सरकारले सन १७१८ देखि १७७५ सम्म ५० हजारभन्दा बढी बेलायती कैदीबन्दी अमेरिकामा पुर्याएको थियो ।
यस्तो प्रक्रियालाई देश निकाला वा ‘ब्यानिस्मेन्ट’ भनिन्थ्यो । यस्तै क्रममा सन् १७७६ मा अमेरिका स्वतन्त्र भयो । त्यहाँ कैदी पठाउन हरायो । बेलायतमा कैदीहरू राख्ने जेल भरिभराउ भए ।
यसपछि यी कैदीहरू अष्ट्रेलिया पठाइए । सन् १७८८ मा ८०० कैदी बोकेका जहाज त्यतिबेलाको ‘न्यु साउथ वेल्स’को बोटानी बे मा उत्रिएका थिए । यो क्रम यति बढ्यो कि सन् १७८८ देखि १८६८ सम्मको ८० वर्षको अन्तरालमा १ लाख ६४ हजार बेलायती कैदी अस्ट्रेलिया भित्रिइसकेका थिए ।
बेलायतबाट २२ हजार समुद्री तथा भौगोलिक दुरी रहेको ‘बापतीको बस्ती’ अहिले विश्वकै आकर्षणको केन्द्र बनेको छ । उपनिवेशवादी बेलायती गोराहरूले आदिवासीको भाषा, संस्कृति, साहित्य, कला र दर्शन तथा ती सबैको सिर्जनात्मक तथा जीवन्त अभिव्यक्तिलाई कहिल्यै वास्ता गरेनन् भनेर अहिले पनि आदिवासी आन्दोलन उठ्ने गरिरहेको छ ।
अष्ट्रेलियाले २०० वर्षको लामो र कहालीलाग्दो औपनिवेशिक अवस्था भोगे । यो अवधिभर अष्ट्रेलियालीहरूले हरक्षण ‘असभ्य’ र ‘जङ्गली’ भनेर हेपिमागे । यतिसम्म भयो कि आदिवासीका विभिन्न भाषा, संस्कृति र परम्परासमेत लोप हुन गए ।
आफ्नो मातृभूमि र माटोप्रति अगाध माया बोकेका आदिवासीहरू आफ्नै भूमिमा विरानोजस्ता हुन गए । अमूल्य धातु सुनको प्रयोग गर्न सिकिनसकेका अस्ट्रेलियालीहरूका लागि त्यसको मूल्यबोध नहुँदै बेलायतीहरूले ओसारेर लण्डन पुर्याइसकेका थिए ।
एकताका (सन् १७८८) मा अस्ट्रेलियाली आदिवासीको संख्या करिब साढे ७ लाख मात्र थियो । तर उही वर्ष ८०० बेलायती कैदी र अन्य व्यक्तिहरूसमेत गरी करिब १ हजार थपिएर सुरू भएको अस्ट्रेलियाको जनसंख्या आज २ करोड ६० लाखभन्दा बढी छ । आदिवासीको जनसंख्या भने अहिले पनि १० लाखभन्दा कमै छ ।