• मंसिर १३ २०८१, बिहीबार

डेंगी परीक्षणका नाममा अस्पतालले उठाइरहेछन् मनपरी शुल्क, नियमन गर्ने कसले ?

कार्तिक १४ २०७९, सोमबार

काठमाडौं । डेंगी परीक्षणका नाममा अस्पतालहरूले आफूखुसी शुल्क असुलिरहेका छन् । नियमन गर्ने निकाय मुकदर्शक बस्दा सरकारी तथा निजी अस्पतालले मनपरी शुल्क अशुल गरिरहेको गुनासो सेवाग्राहीको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका एक अधिकारीका अनुसार परीक्षण किटको मूल्य र खर्च जोड्दा ५ सय रुपैयाँसम्ममा डेंगी परीक्षण गर्न सकिन्छ । तर, राजधानीमा नाम चलेका निजी अस्पतालहरुले भने मनपरी शुल्क उठाइरहेका छन् । ग्रान्डीले २ हजार ६ सय २०, स्टारले १ हजार ८ सय, ह्याम्सले १ हजार ७ सय, नर्भिकले १ हजार २ सय र सुमेरु अस्पतालले १ हजार १ सय रुपैयाँमा डेंगी परीक्षण गर्ने गरेका छन् ।

वीर अस्पतालले भने ५ सय रुपैयाँमा परीक्षण गरिरहेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले डेंगी परीक्षण शुल्क ८ सय रुपैयाँ लिने गरेको छ । डेंगी उपचारका लागि सबैभन्दा बढी बिरामी पुग्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा परीक्षण शुल्क ५ सय रुपैयाँ तोकिएको छ । त्रिवि शिक्षण, निजामती कर्मचारी र भक्तपुर अस्पतालको पनि छुट्टाछुट्टै दर छ । शिक्षणले १ हजार, भक्तपुर अस्पतालले ७ सय ५० र निजामती अस्पतालले ८ सय रुपैयाँमा परीक्षण गर्ने गरेका छन् ।