• फाल्गुन २७ २०८२, बुधबार

अमेरिकी प्रतिनिधि सभाको सभामुख न्यान्सी पेलोसीका पति पाउलमाथि आक्रमण

कार्तिक १२ २०७९, शनिबार

काठमाडौं । अमेरिकी प्रतिनिधि सभाको सभामुख न्यान्सी पेलोसीका पति पाउल पेलोसीमाथि आक्रमण भएको छ। शुक्रबार राति करिब दुई बजेतिर आक्रमणकारीले घरमै घुसेर पेलोसीको टाउकोमा हथौडा प्रहार गरेका थिए।

सन फ्रान्सिस्कोमा रहेको पेलोसीको घरमा घुसेर डिपापेले आक्रमण गरेका हुन्। सन फ्रान्सिस्कोका प्रहरी प्रमुख विलियम स्कटका अनुसार ४२ वर्षीय आक्रमणकारी घरको पछिल्लोपट्टीको ढोकाबाट भित्र छिरेर सुरुमा न्यान्सी भन्दै चिल्लाएका थिए। त्यसपछि न्यान्सीका पति र आक्रमणकारीबीच हात हालाहाल भएको प्रहरीले जनाएको छ। प्रहरी पुग्दासम्म आक्रमणकारीले पाउलको टाउकोमा हथौडा प्रहार गरिसकेका थिए।

आक्रमणकारीको नाम डेभिड डिपापे रहेको प्रहरीले जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उनी न्यान्सीमाथि आक्रमण गर्न गएको पाइएको छ। हत्या प्रयासको आरोपमा ती व्यक्ति पक्राउ परेका छन्। आक्रमण हुँदा पल पेलोसीकी पत्नी न्यान्सी पेलोसी राजधानी वासिङ्टन डिसीमा थिइन् । घटनाको जानकारी पाएलगत्तै उनी त्यहाँबाट अस्पताल पुगेकी छिन्।