• फाल्गुन २७ २०८२, बुधबार

अन्तरराष्ट्रिय मुद्राकोषले युक्रेनलाई आर्थिक सहयोग गर्ने

कार्तिक ९ २०७९, बुधबार

काठमाडौं । रुसको आक्रमणबाट ध्वस्त भएको युक्रेनका लागि आवश्यक रहेको आर्थिक लगायतको सहयोग गर्ने विषयमा युरोपमा छलफल भएको छ ।

युक्रेनका प्रधानमन्त्री डेनिस साइहाल र अन्तरराष्ट्रिय मुद्रा कोष –आइएमएफ)का प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जियाभाकाबीचमा आवश्यक छलफल भएको हो । युक्रेन अमेरिका र युरोपियन देशहरुको उक्साहटमा लडेकोले उसलाई बचाउन ती देशहरु जुटिरहेको बताइएको छ ।

युक्रेन र आइएमएफका बीचमा हुनसक्ने थप र नयाँ सहयोगका क्षेत्रका विषयमा उनीहरुका बीचमा कुराकानी भएको बताइएको छ । युक्रेनका प्रधानमन्त्रीको सचिवालयले मङ्गलबार सो कुराको जानकारी गरएको हो । प्रधानमन्त्री साइहालले आगामी सन् २०२३ मा युक्रेनमा आइएमएफको नयाँ आयोजना सुरु हुने बताएका थिए ।

जर्मनीको बर्लिनमा मङ्गलबार भएको सो छलफलका क्रममा उनले युक्रेनलाई थप सहयोग आवश्यक रहेको बताएका थिए । यस क्रममा आइएमएफका प्रबन्ध निर्देशक क्रिस्टालिनाले पनि युक्रेनका लागि सहयोग निरन्तर रहेको र आगामी वर्ष नयाँ कार्यक्रमका साथ अघि बढिने बताएका थिए ।

यस वर्षमात्र युक्रेनले आइएमएफबाट दुई अर्ब सात करोड अमेरिकी डलर सहयोग प्राप्त गरेको थियो । सो सहयोगलाई निरन्तर गर्दै आगामी वर्षका लागि नयाँ कार्यक्रमका साथ आयोजनाहरु ल्याइने आइएमएफले जनाएको छ । युक्रेनमाथि रुसले हमला गरेपछि यहाँको अर्थतन्त्र नाजुक बनेको छ । साथै यहाँका कतिपय भौतिक संरचनाको पुनर्निमाणका क्षेत्रमा पनि युक्रेनलाई सहयोग आवश्यक रहेको छ ।