• मंसिर १७ २०८१, सोमबार

के सीता यहीँबाटै अलप भइन् !

कार्तिक ९ २०७९, बुधबार

देवघाटस्थित सीता गुफा काली गण्डकीको खोचमा पर्छ । यहीँ खोंचमा त्रेता युगमा भगवान श्रीराम पत्नी सीता अलप भएको विश्वास गरिन्छ । यो खोच ‘साँच्चिकै पो हो कि’ भन्ने जस्तो पनि रहेको देखिन्छ ।

तल छेवैमा उर्लंदो काली गण्डकी त्यही नदीको किनारा खोचमा ठूला चिरा र भासिएका स्थानहरू छन् । माथिबाट हाम फालियो भने बच्न सक्ने अवस्था छैन । काली गण्डकीले क्षणभरमै त्रिशुली मिसिएको देवघाट दोभान पुर्‍याइहाल्छ ।

तनहुँ जिल्लामा पर्ने देवघाट त्रिशुली र काली गण्डकीको दोभान हो । यो पवित्र धार्मिक स्थल पनि हो । यहाँ मृतकहरूको सतगत गरेमा मृतक पाप मुक्त भएर स्वर्ग जान्छन् भन्ने विश्वास अहिले पनि कायमै छ ।

दोभानको कालीगण्डकीतिर केही पर सिता गुफा रहेको छ । त्यहाँ सीताले भासिएको जमिनमा हाम फालेर देह त्याग गरेको भनी सीताको आधुनिक वा चित्रकारिता मूर्ति स्थापना गरिएको छ ।

सीता हाम फालेको भासिएको स्थान नजिकै विश्वामित्र ऋषिले तप गरेको गुफा पनि रहेको छ । यो गुफा आफैमा अदभूत रहेको छ । गुफाभित्र पस्दा काली गण्डकीको बहाव, तरंग र छालको स्पष्ट आभाष हुन्छ ।

तर त्यहाँ रामका जुम्ल्याहा छोरा लव र कुशको कुनै पनि उल्लेख गरिएको सांकेतिक चिन्हहरू पाइँदैन । धर्मशास्त्र रामायणमा लव र कुश विश्वामित्रको कुटीमा जन्मिएका, हुर्किएका र धनुर्विद्या सिकेका भनी उल्लेख गरिएको छ ।

बरू सीता अलप भएको स्थान र ऋषि विश्वामित्र गुफाको बीच दक्षिणतिर अर्धनारीश्वर शिवको मूर्ति स्थापना गरिएको छ । उक्त मूर्तिमा आधा शिव र आधा पाार्वतीको शरीर बनाएर एकाकार गरी नारी पुरूष एकअर्कामा अभिन्न छन् भनी पुष्टि गर्न प्रयास गरिएको छ ।

यसको संरक्षणका लागि त्यहाँ माता रहने गरेको र उनीसँग उनका महिला शिष्य तथा सहयोगीहरू रहने गर्दछन् ।