काठमाडौं । अनधिकृत रुपमा फोहोर फाल्नेहरूलाई गरिएको कारबाहीका क्रममा काठमाडौं महानगरपालिकाले चार लाख ५०० रुपैयाँ जरिबाना रकम संकलन गरेको छ । रातको समयमा सडक तथा नदी किनाराजस्ता सार्वजनिक स्थलमा घरको फोहोर बोकेर फाल्न आउने व्यक्ति तथा व्यवसायी तथा संस्थाका प्रतिनिधिहरूलाई पक्राउ गरी जरिबाना गरिएको हो ।
वातावरण तथा कृषि विभागले गरेको अनुगमनका क्रममा साउन महिनामा एक लाख ५२ हजार ५ सय रुपैयाँ, भदौ महिनामा ९९ हजार ५ सय रुपैयाँ र असोज महिनामा १ लाख ४८ हजार ५ सय रुपैयाँ संकलन भएको नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टले जानकारी दिए । फोहोरको मात्रा र प्रकृति अनुसार कम्तीमा एक हजार रुपैयाँदेखि बढीमा २५ हजार रुपैयाँसाँ जरिबाना रकम तोक्ने गरिएको छ ।
भट्ट भन्छन्,”जानेर पनि नजानेजस्तो गरेर फोहोर फाल्न आउने पनि भेटिन्छन् । कतिपयले आफ्नो फोहोर फाल्न अरूलाई प्रयोग गरेका छन् । कतिपय विद्यार्थीहरूले फोहोर व्यवस्थापनको आफूसँग विकल्प नभएपछि बाहिर आउनुपरेको बताउने गरेका छन् ।”
पक्राउ परेपछि कतिपयले गल्ती महसुस गर्ने गरेको नगर प्रहरीले जनाएको छ । यसरी फोहोर फाल्ने कतिले हातमा बोकेर थोरै मात्रा लिएर आउने गरेको त कतिले सवारी साधनको प्रयोग गरेरै आउने गरेको महानगरले जनाएको छ ।
अनुगमनका लागि नगरप्रहरी र कर्मचारीको टोली हरेक दिन बेलुकाबाटै खटिने गरेको छ । एक दिनमा ५ जनाको टोली खटिन्छ ।
महानगरले घरमा कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर राख्ने र तोकिएका व्यक्ति तथा सवारी आएपछि मात्र बाहिर निकाल्न अनुरोध गरेको छ । यसरी गरिएको अनुरोधलाई नटेर्नेमाथि कारबाही गर्ने गरिएको अनुगमन टोलीले बताएको छ ।