काठमाडौं । ताप्लेजुङमा फोहोरको थुप्रोभित्र लुकाएको ८९ थान सुनका गहना प्रहरीले फेला पारेका छन् । जङ्गलमा फालिएको फोहोरको थुप्रोभित्र बोरामा प्याक गरी लुकाइएको अवस्थामा शुक्रबार प्रहरीले फेला पारेको हो ।
गत असोज १७ गते ताप्लेजुङको फुङ्लिङ्स्थित कञ्चन मनी ट्रान्सफरमा भएको लुटपाटपछि हराइरहेको सुनका गरगहनामध्ये थप ८९ थान सुनका गहना फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
सुनका गहना फुङ्लिङ–४ स्थित एक झाडी जङ्गलमा फोहोर थुप्रोभित्र बोरामा प्याक गरी लुकाइएको अवस्थामा फेला पारेको ताप्लेजुङका प्रहरी प्रमुख कैलाश राईले बताए । फेला परेको सुनको परिणाम निकाल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
यसअघि चार लुटेरा प्रहरीले नियन्त्रणमा लिँदा लुटेराका साथबाट १४३ तोला सुनका गरगहना र नगद रु. छ लाख १३ हजार तीन सय ४० प्रहरीले बरामद गरिएको थियो । कञ्चन मनी ट्रान्सर्फर सञ्चालक अम्बरकुमार श्रेष्ठले तीन सय ४८ तोला सुन र रु. नगद ११ लाख ६३ हजार दुई सय ५० लुटपाट भएको जाहेरी प्रहरीलाई दिए ।