तीन आयो, गयो । दसैं आयो र गयो । अब तिहार र छठ सँगसँगै आइरहेका छन् । तर बजार निकै छाडा र बेलगामहुँदै गएको छ । अत्यावश्यक सामग्रीको मूल्य आकाशिएको छ ।
बजार अनियन्त्रित, अराजक र छाडा छ । जनताको रक्षक र संरक्षक भनेको सरकार र यस मातहतका निकाय मौन छन् । निष्क्रिय छन् ।
दैनिक उपभोग्य सामान किनिनसक्नु हुन गएका छन् । सर्वसाधरणका लागि दैनिक जीवन तातो भुंग्रोमा खुट्टा राख्नु जस्तै हुन गएको छ । सामान किन्नु त के छोइनसक्नु हुँदै गएका छन् ।
सामान्य मानिसका लागि जीविकोपार्जन असंभव देखिँदै गएको छ । चामल, दाल, पीठो, तेल, हरियो तरकारी आदिको मूल्य जिभ्रो टोक्ने गरी दैनिक उडान भरिरहेका छन् ।
लत्ताकपडामा दिन गुणा रात चौगुणा मूल्य वृद्धि हुँदै गएको छ । यो अचाक्ली हो । भनिन्छ, ‘अति सर्वत्र बर्जयेते’ भनेर । तर त्यो उल्टै सर्वसाधरणको हकमा मात्र लागु हुन आएको छ ।
यो वर्षको तिहार र छठ निकै महंगो हुने भएको छ । चिनी, तल, पीठो आदिको भाउ सोधिसक्ने अवस्थामा छैन । मूल्यवृद्धि कल्पना गरिएभन्दा पनि निकै साह्रो गरी हुन गएको छ ।
पर्व नेपालीका लागि रामरमाइलो गर्ने र खुशीयाली मनाउने बेला वा अवसर हो । थोरैतिनो वा भएजति खर्च गर्ने चलन यस्ता पर्वहरूमा गरिने गरिन्छ । कमाइ नहुनेहरू पनि ऋणकर्ज गरी पर्व मनाउने गर्दछन् ।
तर पर्व भनेको व्यापारी र बिचौलियाका लागि धन कमाउने र नाजायज फाइदा उठाउने मौका वा अवसर बनेर आउने गरिरहेको छ । यति बेला कृत्रिम अभाव सिर्जना गर्ने, कालाबजारी गर्ने र लुट्ने काम बढी हुने गर्दछन् ।
सरकार माहतहतका निकाय चूपचाप रहँदा ‘लुट्न सके लूट’ भने झैं हुन गएको छ । व्यापारीले मुनाफा कुम्ल्याउने र विचौलियाले मोटो रकम हात पार्ने मौका बनेका छन् पर्व !
तर न त व्यापारी, न त बिचौलिया, कसैमाथि पनि कारवाहीको संकेत देखिएको छैन । जनताको आवाज छ, बजार छाडा नछाड !