पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एथ्लेटिक्समा चार स्वर्ण पदकको छिनोफानो भएको छ ।
पोखरा रङ्गशालामा आज बिहान सम्पन्न खेलमा पाँच हजार मिटर महिला दौडतर्फ बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन । सन्तोषीले नेपाल पुलिस क्लबकी राजपुरा पछाईलाई पछाडि पार्दै स्वर्णपदक जितेकी हुन् । सन्तोषीले निर्धारित दूरी १७ मिनेट ०५.२९ सेकेन्डमा पूरा गरिन् ।
स्वर्ण पदक जितेकी सन्तोषीले राष्ट्रिय कीर्तिमानको लक्ष्य राखेको भए पनि चोटको कारण पूरा गर्न नसकेको बताइन । महिला पाँच हजार मिटरमा कान्छीमाया कोजुको नाममा रहेको १६ मिनेट ४९.५९ सेकेन्डको कीर्तिमानी छ ।
त्यसैगरी यसअघि भएको दश हजार मिटर दौडमा पनि सन्तोषीले स्वर्ण पदक जितेकी थिइन् । सोही स्पर्धामा रजत पदकमा चित्त बुझाएकी पुलिसकी खेलाडी राजपुराले १७ मिनेट १२.०५ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन् । त्रिभुवन आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपानेले कास्य जितिन । उनले निर्धारित दूरी १८ मिनेट ०३.०० सेकेन्डको समयमा पूरा गरिन ।
यसैगरी आजै भएको एथलेटिक्सको पुरुष चार सय मिटर हर्डल्समा त्रिभुवन आर्मी क्लबका रामप्रसाद थारुले स्वर्ण पदक हात पारेका छन् । उनले निर्धारित दूरी ५३.५३ सेकेन्ड समय खर्चदै पूरा गरे ।
सोही स्पर्धामा आर्मीकै जीवन चौधरीले ५३.८९ सेकेन्ड समय लगाउँदै रजत पदक जिते । सशस्त्र प्रहरी बल (एपीएफ) का निरप्रताप महतोले कास्य जिते । उनले ५३.९२ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै कास्य जितेका हुन् ।
त्यस्तै एथ्लेटिक्सको महिला आठ सय मिटर दौडमा एपीएफ क्लबकी फुलमती रानाले स्वर्ण पदक जितिन । उनले निर्धारित दूरी दुई मिनेट २७.३६ सेकेन्ड समय खर्चदै स्वर्ण जितेकी हुन् । सोही स्पर्धामा आर्मीकी सरस्वती भट्टराईले दुई मिनेट २७.५० सेकेन्डको समय लगाउँदै रजत पदक जितेकी हुन् । आर्मीकी रेखा लिम्बूले कास्य जितिन् । उनले निर्धारित दूरी दुई मिनेट ३०.४८ सेकेन्डको समय लगाउँदै कास्य जितेकी हुन् ।
आजै भएको पुरुष आठ सय मिटर दौडमा आर्मीका सोमबहादुर कुमालले स्वर्ण जिते । सोमले निर्धारित दूरी एक मिनेट ५४.०८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । सो स्पर्धामा पुलिसका तेजबहादुर कार्कीले रजत जिते । उनले एक मिनेट ५५.२१ सेकेन्डसहित रजत जितेका हुन् । त्यस्तै आर्मीका सुनिल सुनारले एक मिनेट ५५.५२ सेकेन्डसहित कास्य जिते ।