काठमाडौं । खेलकुद जगतको महामेला अर्थात् नवौँ राष्ट्रिय खेलकुद उदघाटन भएको पाँच दिन पूरा भएको छ । उक्त खेलकुद आरम्भ भएको आज (मंगलबार) पाँच दिन पूरा भएको हो । नवौं राष्ट्रिय खेलकुदमा विभिन्न विधाका खेलहरू भइरहेका छन् ।
जसअन्र्तर्गत नेपाल प्रहरीले २९ स्वर्ण, १९ रजत र ३३ कास्य गरी कुल ८० पदक प्राप्त गरेको छ । प्रहरीले एथलेटिक्समा १ स्वर्ण, ३ रजत र ३ कास्य, पुरूष क्रिकेटमा १ स्वर्ण, महिला क्रिकेटमा १ स्वर्ण, करातेमा ७ स्वर्ण, २ रजत र ४ कास्य, कुस्तीमा ४ कास्य, टेबल टेनिसमा ४ स्वर्ण, १ रजत र १ कास्य, तेक्वान्दोमा ८ स्वर्ण, ३ रजत र १ कास्य, पौडीमा १ स्वर्ण, ४ रजत र ११ कास्य, फुलकन्ट्याक्ट करातेमा १ स्वर्ण, १ रजत र २ कास्य, बुद्धिचालमा १ रजत, भारोत्तोलनमा ४ स्वर्ण र ३ रजत, लन टेनिसमा ३ कास्य, ब्याडमिन्टनमा १ कास्य तथा शारीरिक सुगठनमा १ स्वर्ण, १ रजत र ३ कास्य गरी कुल ८१ पदक प्राप्त गरेको हो ।
प्रहरीका खेलाडीहरूमध्ये महिलातर्फ ११ स्वर्ण, ९ रजत र १८ कास्य, पुरूषतर्फ १६ स्वर्ण, १० रजत र १५ कास्य तथा मिश्रित टिमतर्फ २ स्वर्ण पदक जित्न सफल भएका छन् । एथलेटिक्सको १ सय १० मिटर पुरूष हर्डल्समा नेपाल पुलिस क्लबका चन्द्रदेव जोशीले रजत पदक प्राप्त गरे । उनले निर्धारित दुरी १५।८१ सेकेन्डको समयमा पूरा गरी रजत जितेका हुन् । यसैगरी एथलेटिक्सको डिस्कस थ्रोमा नेपाल पुलिस क्लबका पुस्कल खड्काले रजत प्राप्त गरे । उनले ३२।७५ मिटर दुरी फ्याल्दै सो पदक जितेका हुन् ।
त्यस्तै सोही खेलकुदअन्तर्गत सोमबार भएको कुस्ती खेलमा पुलिस क्लबका सन्ध्या दुवे, सालु कुमारी, बिनोद सहनी र दिपेश राउत कमकरलर कास्य पदक जितेका छन् । यसैगरी करातेमा नेपाल पुलिस क्लबका सन्तोष श्रेष्ठ, एरिका गुरुङ र नवीन रसाईलीले स्वर्ण जितेका छन् भने स्विकार राई र सुनिता महर्जनले कास्य पदक जिते । यस्तै टेबल टेनिस प्रतियोगिताअन्तर्गत मेन्स डबल्स ईभेन्टमा नेपाल पुलिस क्लबका विनेश खनियाँ र श्यान्टु श्रेष्ठले स्वर्ण जितेका छन् ।
सोमबार भारोत्तोलन प्रतियोगितामा पुलिस क्लबकी टीकामाया गुरुङले स्वर्ण पदक जित्न सफल भइन् । उनले स्न्याचतर्फ ६० र क्लीन एण्ड जर्कमा ८० गरी कुल १४० केजी भार उठाउँदै स्वर्ण जितेकी हुन् । सोही प्रतियोगिताअन्तर्गत क्लबकै देवी कुमारी चौधरी र अशोक कुमार शाहले कास्य पदक प्राप्त गरे ।
यस्तै पोखराको सभाहलमा सोमबार भएको शरीरिक सुगठन प्रतिस्पर्धामा क्लबकै सुकदेव कार्कीले रजत जिते भने रत्न सुन्दर डाकुसी, सुरज डंगोल र सनम मुलगुठीले कास्य पदक जिते । यस्तै लन टेनिस प्रतियोगिताअन्तर्गत वुमेन्स डबल्समा क्लबकी विष्णा भण्डारी र शिषम चन्दले कास्य पदक प्राप्त गरे ।
यसैगरी पोखराको फिसटेल एकेडेमीमा सोमबार भएको पौडी प्रतियोगिताअन्तर्गत पुरूषतर्फ चार सय मिटर फ्रिस्टायल रिलेमा नेपाल पुलिस क्लबका गौरव लामा, दिपंकर अवाले, संकर्षण बहादुर रघुवंशी र सुविज्ञमान तुलाधर सम्मिलित टिमले रजत पदक प्राप्त गरे । उनीहरूले निर्धारित दुरी ३ मिनेट ४६३७ सेकेन्ड समयका साथ रजत जितेका हुन् । यस्तै सोही प्रतियोगिता अन्तर्गत महिलातर्फ २०० मिटर ब्रेष्टस्ट्रोकमा नेपाल पुलिस क्लबकी अदिप्सा वैधले कास्य पदक जित्न सफल भइन् ।
प्रतियोगिताअन्तर्गत सोमबार भएको तेक्वान्डोमा नेपाल पुलिस क्लबका ईन्दिरा राई र अभिशेक बरालले स्वर्ण पदक जिते भने आशुतोष बरालले रजत पदक प्राप्त गरे ।
नेपाल प्रहरीको महिला क्रिकेट टिमलाई स्वर्ण पदक
पोखरामा आयोजित नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत मंगलबार भएको महिला २०–२० क्रिकेट फाइनल खेलमा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरीको महिला क्रिकेट टिमलाई पराजित गर्दै स्वर्ण पदक जित्न सफल भएको छ । ११ औं राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताअन्तर्गत भएको फाइनल खेलमा नेपाल पुलिस क्लबले एपिएफलाई ५ रनले पराजित गरेको हो ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा ८९ रनको योगफल तयार बनाएको थियो । जवाफी ब्याटिङमा आएको एपिएफले २० ओभरमा ७ विकेटको क्षतिमा ८४ रन मात्र बनाएको थियो ।
प्रतियोगिताअन्तर्गत ब्याटिङतर्फ नेपाल पुलिस क्लबकी काजल श्रेष्ठले २७ रन, कविता कुँवरले ११ रन, सम्झना खड्काले २१ रन, रुबिना क्षेत्रीले ८ रन, अप्सरी बेगमले नटअउट २ रन र कविता जोशीले नटआउट १३ रन जोडेका थिए भने अतिरिक्त ७ रन प्राप्त भएको थियो ।
बलिङतर्फ नेपाल पुलिस क्लबकी ईश्वरी विष्टले २ विकेट, रूबिना क्षेत्री, संगिता राई, हिरूमाई रायले समान १ विकेट लिएका थिए । खेलमा नेपाल पुलिस क्लबकी ईश्वरी विष्ट प्लेयर अफ द म्याच घोषित भइन् ।
नेपाल प्रहरीको महिला फुटबल टिम फाइनल प्रवेश
नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत मंगलबार भएको महिला फुटबल खेलमा नेपाल पुलिस क्लबले १ नम्बर प्रदेशलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । स्याङजाको वालिङमा भएको खेलमा नेपाल पुलिस क्लबले १ नम्बर प्रदेशलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
नेपाल पुलिस क्लबको लागि रेखा पौडेल, निर्मला बिक र निर्मला उपाध्यायले समान १ गोल गरेका थिए । नेपाल प्रहरीको महिला फुटबल टिमले कात्तिक ३ गते फाइनल खेल खेल्नेछ ।
नेपाल प्रहरीको महिला भलिबल टिम फाइनल प्रवेश
नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत म्यागदीमा मंगलबार भएको महिला भलिबल खेलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ । म्यागदीको खेल मैदानमा संचालित खेलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई २५–१०, २५–१८ र २५–११ को सोझो सेटमा पराजित गरेको हो ।
नेपाल पुलिस क्लबले कात्तिक २ गते सशस्त्र प्रहरी बलको महिला भलिबल टिमसँग फाइनल खेल खेल्नेछ ।
नेपाल प्रहरीको पुरूष भलिबल टिम सेमिफाइनल प्रवेश
पोखरामा आयोजित नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत मंगलबार भएको पुरूष भलिबल खेलमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।
पोखरा रंगशालास्थित संचालित खेलमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई २५–२१, २५–१३ र २५–२० को सोझो सेटमा पराजित गरेको हो । नेपाल पुलिस क्लबले कात्तिक २ गते सेमिफाइनल खेल खेल्नेछ ।