• असार २२ २०८१, शुक्रबार

‘म मरिजान्छु, शहिद छोराको केही चिनो देख्न पाइन’

कार्तिक १ २०७९, मंगलवार

कात्तिक १ ।
थेप्चो डाँडामा शालिक छ । त्यसै शालिक अघि उभिएर श्रद्धा व्यक्त गर्न लाग्दा ठ्याक्कै घर देखिन्छ । त्यसबेला शहिद रुपलाल वली (क.लखन क्षेत्री) आफ्नै घरमा उभिएको महशुस हुन्छ । तर, उहाँ गत २०६१ मंसिर एक गते कृष्णभिर धादिङमा शहिद हुनुभयो । जनमुक्ति सेना नेपालका कम्पनी कमाण्डर क्षेत्रीले भौतिकरुपमा परिवारलाई छाडेको १९ वर्ष नाघ्यो । त्यसबेला उहाँकी श्रीमती गौमाली तिन वर्षकि काखेनानी सहित हुनुहुन्थ्यो ।

छोरीले बाबा खोइ ? भनेपछि विदेश जानुभएको भनेर केहि वर्ष झुक्याउँदै हुर्काएको सम्झिनुहुन्छ । अरु दुईभाइना बुवा शहिद बनेको थाहा पाउने भइसकेका थिए । पाँच वर्ष नाघेर कुरा बुझ्ने बनेपछि तिनै सानी छोरी मनमायालाई पनि बुबा शहिद भएको सुनाउनु भयो । परिवार सम्हालेर बस्नुभयो । तिनै छोराछोरी हुर्काउने, पढाउने स्याहार सुसार गरेर बस्नुभएको छ । बुहारीको त्यही इमान्दारीताले आफूलाई खुशी दिएको ससुरा कलबहादुरको भनाई छ । उहाँका अनुसार यत्रो दुःख सहेर परिवार चलाउनु ठूलो कुरा हो ।

छोराछोरीले पढे, दुईजनाको विवाह गरेर पनि नातिनातीना छन् । बाहिरबाट हेर्नेहरुका लागि परिवार राम्रै चलेको छ । त्यति सजिलो गरी भोग्नेहरुको मन चल्दो रहेनछ । शहिद आमा चुनादेवी झनपछि झन्झन् गल्दै जानुभयो । पारिवारिक श्रोतका अनुसार विभिन्न शारीरिक समस्या देखा परे । अस्पतालहरुमा दौडाउने क्रम शुरु भयो । यता जेठो छोरा शहिद हुनुभयो । उता नजिकै माइति घर पुरनगाउँमा भाई नेवबहादुर केसी (क परिवर्तन) शहिद हुनुभयो ।

संगसंगै दुईवटा चोट लाग्यो । बाघमारा बजारमा परिवर्तनको नाममा शालिक सहितको पार्क छ । त्यहाँ नेताहरु पुगेर अनावरण गरेका थिए । यसैगरी छोराको पनि केही चिनो भए हुन्थ्यो भन्ने कुराले शहिद आमालाई भित्रभित्रै खाएको रहेछ । उहाँ त्यो देखेर मर्न पाए हुन्थ्यो भन्नेमा पुग्नुभयो । उहाँ ओच्छ्यान पर्नुभएको थियो । क्यान्सरले पीडित शहिद आमालाई रोगका बारेमा परिवारले जानकारी दिएका थिएनन् । तर, कुनै उपाए नभएको चिकित्सकको सल्लाह पछि घरमै लगेका थिए । दुई वर्ष अघि तत्कालीन प्रतिबन्धित पार्टी नेपाल कम्युनिष्ट पार्टीका जिल्ला नेता पृथ्वी विरामी भेट्न जानुभयो ।

उहाँका अनुसार म त मरिजान्छु, मेरो छोराको चिनो केही देख्न पाइन भनेर रुनुभयो । मृत्यु सैयाबाट शहिद आमाले गरेको चिन्ताले पृथ्वीलाई निक्कै छोयो । बेस्सरी भावुक बनायो । यस्तो बेलामा चुप लागेर बस्नुहुन्न भनेर हुट्हुटी जगाइदियो । तर, पार्टी प्रतिबन्धित थियो । प्रहरीले जहाँ भेट्यो त्यहीँ छोप्ने र थुन्ने गर्दथ्यो । तर पनि परिवर्तन गाउँपालिका ३ खामेमा शहिद स्तम्भ बनाउने पार्टीले निणर्य लियो । नाकजस्तो धार्के डाँडोको बिचमा बाटोको छेडो रोज्यो । उकालो काटेपछिको बिसौनी थियो । तर, त्यही स्तम्भ शहिद लखन क्षेत्रीको घरसँग ठ्याक्कै जोडियो ।

नेकपा रोल्पाका सचिव सम्झनाका अनुसार उपयुक्त ठाउँमा स्तम्भ बने छ । नेताहरुका अनुसार तत्कालीन वडाअध्यक्ष तथा माओवादी केन्द्रका नेता झबिराम डाँगी (किरणपुञ्ज) ले धेरै सहयोग गर्नुभयो । उद्धघाटनको दिनमा त्यहाँ प्रहरी नजाने वातावरण मिलाइदिनु भयो । ‘चौकीलाई त्यता नजानु कार्यक्रम हुँदैछ भन्न लगायौँ’, नेकपाका नेता हिरालाल खड्का (डाइमण्ड)ले भन्नुभयो, ‘झबिरामले उता मिलाएपछि हामीलाई कार्यक्रमको तयारी गर्न सजिलो भयो ।’

उहाँका अनुसार जसले जति सक्छ गिट्टि-बालुवा सिमेन्ट सहयोग गरे । सिप हुनेले मिस्त्री बने, प्लाष्टर र पेन्ट गरे । थोरै दिनमा निर्माण सम्पन्न भयो । प्रतिबन्धित पार्टीको आयोजनामा गाजाबाजा सहित ठूलो धुनधानका साथ उद्घाटन गरियो । झण्डा फहराउँदै नारा घन्काउँदै घरदेखि स्तम्भसम्म पुगे । देशैभरी कार्यकर्ता लुकेर हिंड्दा त्यहाँ भने नेताले भाषण गरे । वली परिवारका लागि दुई दशकको अवधिमा पहिलो खुशीको दिन बन्यो । विरामी सहिद आमाले पनि खुशी व्यक्त गर्नुभयो । त्यसको केही महिनापछि सहिद आमाले पनि सदाका लागि जीवन त्याग्नुभयो । उहाँलागि छोराको स्तम्भ घिट्कुरो रहेको आफन्तको भनाई छ ।