• मंसिर १३ २०८१, बिहीबार

बलियो भएर बाँच्ने ६ तरिका

आश्विन ३१ २०७९, सोमबार

१.  दैनिक खाने खानामा ३० देखि ४० प्रतिशत काँचो भोजन खानुस् । गाउँघरमा भनाइ पनि छ, ‘काँचो कचिलो, हग्न सजिलो’ । यस्तो खानाले कब्जियत हटाएर शरीर स्वस्थ राख्छ । यो प्रकृतिको आहारामा तरकारी, गेडागुडी र फलफूलआदि पर्दछन् ।

२. सुत्नुभन्दा पहिले नुहाउने गर्दा निद्रा लाग्छ । किनकि, नुहाएपछि मानसिक बोझ निकै कम हुन जान्छ । शरीरमा राखिएको पानीले धुलोमैलो मात्र होइन, मनमा उब्जिएका अशुद्धि पनि हटाउँछ ।

३. पटक पटक शुद्ध पानी पिउनुहोस् । हाम्रो शरीरमा ७२ प्रतिशत पानी छ । शरीरमा केही कुराको कमी हुनजान्छ भने त्यो पानीको कमी हो । यसको क्षणक्षणमा आपूर्ति हुनु जरूरी छ । चिन्ता, पिसाब, पसिना, गर्मी, सुख्खा वातावरणमा शरीरमा सबैभन्दा बढी पानीको अभाव हुन जान्छ । यसको आपूर्ति पानी पिएर गर्नुपर्छ ।

४. पानी सिधै नल्काबाट नपिउनूस् । यस्तो पानीमा विषादी हुन्छ । यसलाई एकक्षण भाँडामा, विशेष गरी तामाको भाँडामा, केही बेरसम्म राखेर पिउनूस्, यसले फाइदा गर्छ । पानी जोरजबर्जस्त नल्की वा पाइपबाट आउँदा पाइप वा नल्कीको रसायन पानीमा अन्तरघुलन भएको हुन्छ । यसको ख्याल गर्नुपर्छ ।

५. केही समयका लागि पेट खाली राख्नु उत्तम हुन्छ । खाली पेट हुनु र भोक लाग्नु भिन्दाभिन्दै कुरा हुन् । भोक लाग्नु शरीरमा उर्जा सकिदै जानु हो भने खाली पेट हुनु शरीरको पाचन इन्जिनलाई केही क्षण विश्राम दिनु हो । योग शास्त्रमा एकपटक भोजन गरेपछि ८ घण्टासम्म भोजन गर्नु हुँदैन भन्ने मान्यता छ । यसको अर्थ २४ घण्टामा ३ पटक भोजन गर्दा उत्तम हुन्छ ।

६. सफा माटोसँग दिन २/३ पटक खेल्ने गर्नुहोस् । माटो नछोएर पनि बाँच्न त सकिन्छ । तर माटो छोएपछि बलियो भएर बाँच्न सकिन्छ । माटोले मानिसलाई प्रत्यक्ष जीवन दिन्छ । बच्चाबच्ची पानी, माटो र हिलो यही कारण मन पराएर घण्टौं खेलिरहन्छन् ।